मर्कूस 1:29-39
मर्कूस 1:29-39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकूब र यूहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो। सिमोनकी सासू जरोले थला परेकी थिइन्, र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने। उहाँले नजिक आएर तिनको हात समाती तिनलाई उठाउनुभयो, र जरोले तिनलाई छोडिहाल्यो। अनि तिनले उहाँहरूको सेवा गरिन्। त्यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र भूत लागेकाहरू जम्मैलाई ल्याए। सारा सहर नै घरको ढोकामा जम्मा भएको थियो। अनेक किसिमका रोगले ग्रस्त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो, र धेरै भूतहरूलाई निकाल्नुभयो, तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनुभएन। बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो। सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्दैगए। उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्ति म आएको हुँ।” अनि सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै उहाँ हिँड्नुभयो।
मर्कूस 1:29-39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँहरूले सभाघर छोड्नसाथ उहाँहरू याकोब र यूहन्नासित सिमोन र अन्द्रियासको घरमा जानुभयो। त्यस ठाउँमा सिमोनकी सासू ज्वरोले थलिएकी थिइन्, र तुरुन्तै तिनीहरूले येशूलाई तिनको विषयमा भने। येशू तिनीकहाँ जानुभयो, र तिनको हात पक्रेर उठ्नलाई सहायता गर्नुभयो। ज्वरोले तिनलाई छोडिहाल्यो; अनि तिनले उहाँहरूको सेवा गरिन्। त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगीहरू र दुष्ट आत्मा लागेका धेरैजनालाई येशूकहाँ ल्याए। सहरका सारा मानिसहरू ढोकामा नै भेला भए; अनि येशूले विभिन्न किसिमका रोग लागेका धेरैलाई निको पार्नुभयो। उहाँले धेरै भूतहरूलाई धपाउनुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन; किनभने तिनीहरूले उहाँ को हुनुहुन्छ भनी जान्दथे। एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो र एउटा एकान्त ठाउँमा गएर त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए। जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!” येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔँ, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैका लागि आएको हुँ।” यसरी उहाँ गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरू निकाल्दै यात्रा गर्नुभयो।
मर्कूस 1:29-39 पवित्र बाइबल (NERV)
येशू अनि उहाँका चेलाहरूले सभाघर छोड्नुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र आन्द्रियासको घरमा जानुभयो। सिमोनकी सासु ज्वरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए। त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै ज्वरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्। त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए। शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए। येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू सबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो। भोलिपल्ट बिहान, येशू चाँडै उठ्नुभयो। उहाँले घर छोड्नुभयो, विहान अँध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो। केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए। तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, “सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन्।” येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरू शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।” अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो।
मर्कूस 1:29-39 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सभाघरबाट तुरुन्तै निस्केर येशू सरासर सिमोन र अन्द्रियासका घरतिर जानुभयो। उहाँहरूसँगै याकूब र यूहन्ना पनि गए। त्यो दिन सिमोनकी सासू ज्वरोले गर्दा ओछ्यानमा थला परिरहेकी थिइन् र येशू आइपुग्नेबित्तिकै घरका मानिसहरूले यो कुरा उहाँलाई सुनाए। येशूले नजिकै गएर बिरामीको हात समात्दै उठाउनुभयो र ज्वरोले तिनलाई छोडिहाल्यो। अनि तिनले उहाँहरूको सेवा-सत्कार गर्न लागिन्। त्यो साँझ घाम अस्ताएपछि मानिसहरूले सबै रोगी, बिरामी र भूत लागेकाहरूलाई येशूकहाँ ल्याए र सहरभरिका मानिसहरू घरको आँगनमा जम्मा भए। येशूले धेरै किसिमका रोगले सताएका धेरै मानिसहरूलाई निको पार्नुभयो अनि धेरै मानिसहरूबाट भूतहरूलाई निकाल्नुभयो। येशू को हुनुहुन्छ भनी ती भूतहरूलाई थाहा थियो। त्यसैले उहाँले तिनीहरूलाई बोल्नै दिनुभएन। भोलिपल्ट बिहान उज्यालो नहुँदै येशू उठेर एकान्त ठाउँमा गई प्रार्थना गर्न लाग्नुभयो अनि सिमोन र उनका साथीहरू मिलेर उहाँलाई खोज्न गए। उहाँलाई भेटेपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्!” यो सुनेर येशूले भन्नुभयो, “हामी वरिपरिका अरू गाउँहरूमा जाऔं। ती गाउँहरूमा पनि मैले सुसमाचार सुनाउनुपर्छ किनभने म यही कामको लागि आएको हुँ।” अनि येशू सभाघरहरूमा शिक्षा दिंदै र भूतहरू निकाल्दै गालीलभरि घुम्नुभयो।