मत्ती 11:2-11

मत्ती 11:2-11 NNRV

यूहन्‍नाले ख्रीष्‍टका कामहरूको चर्चा झ्‍यालखानमा सुने, र आफ्‍ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्‍न पठाए, “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्‍छ, कि हामीहरू अरू कसैको प्रतीक्षा गरौं?” येशूले तिनीहरूलाई भन्‍नुभयो “तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्‍नालाई भनिदेओ, अन्‍धाहरूले दृष्‍टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्‌दछन्‌। कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन्‌। बहिराहरू सुन्‍न सक्‍ने भएका छन्‌। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ। धन्‍य हो त्‍यो, जसले मबाट बाधा पाउँदैन।” अनि तिनीहरू गएपछि येशूले यूहन्‍नाको विषयमा भीड़लाई भन्‍न लाग्‍नुभयो, “तिमीहरू उजाड-स्‍थानमा के हेर्न निस्‍क्‍यौ? के बतासले हल्‍लाइराखेको निगालोलाई? तब तिमीहरू किन निस्‍क्‍यौ? के नरम पोशाक धारण गरेको मानिसलाई हेर्न? नरम पोशाक लाउनेहरू त राजाहरूका भवनमा बस्‍छन्‌। तिमीहरू किन निस्‍क्‍यौ त? के अगमवक्ता हेर्नलाई? हो, म तिमीहरूलाई भन्‍दछु, अगमवक्ताभन्‍दा पनि महान्‌ व्‍यक्तिलाई। यिनी तिनै हुन्‌ जसको विषयमा धर्मशास्‍त्रमा लेखिएको छ, ‘हेर, म आफ्‍नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो सामुन्‍ने तिम्रो मार्ग तयार गर्नेछ।’ साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, स्‍त्रीबाट जन्‍मेकाहरूमा बप्‍तिस्‍मा-दिने यूहन्‍नाभन्‍दा महान्‌ अरू कोही भएको छैन। तरै पनि स्‍वर्गको राज्‍यमा जो सबैभन्‍दा सानो छ, त्‍यो यिनीभन्‍दा महान्‌ हो।