मत्ती 11:2-11
मत्ती 11:2-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यूहन्नाले ख्रीष्टका कामहरूको चर्चा झ्यालखानमा सुने, र आफ्ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाए, “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ, कि हामीहरू अरू कसैको प्रतीक्षा गरौं?” येशूले तिनीहरूलाई भन्नुभयो “तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्नालाई भनिदेओ, अन्धाहरूले दृष्टि पाउँछन्, र लङ्गड़ाहरू हिँड्दछन्। कुष्ठरोगीहरू शुद्ध पारिएका छन्। बहिराहरू सुन्न सक्ने भएका छन्। मरेकाहरू जीवित भई उठेका छन्, र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ। धन्य हो त्यो, जसले मबाट बाधा पाउँदैन।” अनि तिनीहरू गएपछि येशूले यूहन्नाको विषयमा भीड़लाई भन्न लाग्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? तब तिमीहरू किन निस्क्यौ? के नरम पोशाक धारण गरेको मानिसलाई हेर्न? नरम पोशाक लाउनेहरू त राजाहरूका भवनमा बस्छन्। तिमीहरू किन निस्क्यौ त? के अगमवक्ता हेर्नलाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ताभन्दा पनि महान् व्यक्तिलाई। यिनी तिनै हुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ, ‘हेर, म आफ्नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो सामुन्ने तिम्रो मार्ग तयार गर्नेछ।’ साँच्चै, म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् अरू कोही भएको छैन। तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा महान् हो।
मत्ती 11:2-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब यूहन्नाले झ्यालखानामा ख्रीष्टले गर्नुभएको कामको बारेमा सुने, तिनले आफ्ना चेलाहरूलाई उहाँकहाँ यो सोध्न पठाए, “के आउनेवाला मुक्तिदाता जो हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौँ?” येशूले जवाफ दिनुभयो, “जाओ, र तिमीहरूले जे सुन्छौ र देख्छौ, त्यही कुरा यूहन्नालाई भनिदेओ: दृष्टिविहीनहरूले दृष्टि पाउँछन् र लङ्गडाहरू हिँड्छन्। कुष्ठरोग लागेकाहरू निको हुन्छन्। बहिराहरूले सुन्छन्; मरेकाहरू जीवित पारिन्छन्; र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ। त्यो धन्यको हो, जसको विश्वास मबाट हट्दैन।” जब यूहन्नाका चेलाहरू जान लागे, तब येशूले भीडलाई यूहन्नाको विषयमा भन्न लाग्नुभयो: “तिमीहरू उजाडस्थानमा के हेर्न गयौ? के हावाले हल्लाएको निगालोलाई? यदि होइन भने तिमीहरू के हेर्न गयौ त? के महङ्गो लुगा लगाएको मानिसलाई हेर्न? होइन, महङ्गो लुगा लगाउनेहरू त राजाका दरबारमा हुन्छन्। त्यसो भए तिमीहरू के हेर्नलाई गयौ त? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, एक अगमवक्ताभन्दा पनि महान्लाई। यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’ म तिमीहरूलाई साँच्चै भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा बप्तिस्मा दिने यूहन्नाभन्दा महान् अरू कोही छैन; तापनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा पनि महान् हुनेछ।
मत्ती 11:2-11 पवित्र बाइबल (NERV)
बप्तिस्मा दिने यूहन्ना कैदमा थिए। ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाए। यूहन्नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्नाले आउँदैछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?” येशूले भन्नुभयो, “यूहन्नाकहाँ जाऊ तिमीहरूले सुनेका र देखेको कुराहरू वर्णन गर। अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिँड्न सक्ने हुन्छन्, कुष्ट रोगीहरू शुद्ध हुन्छ; बहिराहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ। यदि कुनै मानिसले मलाइ ग्रहण गर्छ भने त्यो धन्यको हो।” यूहन्नाका चेलाहरू आफ्ना मार्गमा जाँदैथिए, येशूले ती मानिसहरूलाई यूहन्नको बारेमा भन्न लाग्नु भयो। उहाँले भन्नुभयो, “तिमीहरू मरुभुमिमा के हेर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? वास्तवमा केको निम्ति तिमीहरू मरूभूमिमा गयौ? राम्रो वस्त्र पहिरने मानिसलाई हेर्न? ती राम्रा-राम्रा वस्त्र पहिरिएर राजमहलहरूमा बस्ने मानिसहरूलाई हो। यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्। यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ: ‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु। उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’ “म तिमीहरूलाई साँच्चो भन्दछु बप्तिस्मा दिने यूहन्ना पृथ्वीमा जन्मेका सबै मानिसभन्दा महान छन्। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यूहन्नाभन्दा ठूलो हो।
मत्ती 11:2-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बप्तिस्मा दिने यूहन्नाले झ्यालखानमा हुँदा येशूले गर्नुभएका कामहरूको बारेमा सुने। उनले आफ्ना केही चेलाहरूलाई येशूकहाँ सोध्न पठाए। तिनीहरूले आएर येशूलाई यो सोधे, “हामीले आशा गरेका मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले जेजे देख्दै छौ र सुन्दै छौ, गएर त्यही कुरा नै यूहन्नालाई भनिदेओ– अन्धाहरूले देख्दै छन्, लङ्गडाहरू हिँड्दै छन्, कुष्टरोगीहरू शुद्ध हुँदै छन्, बहिराहरूले सुन्दै छन्, मरेकाहरू फेरि बिउँतदै छन् र दु:खी-गरीबहरूले सुसमाचार सुन्न पाउँदै छन्। मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्चै धन्यको हो।” यूहन्नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई यूहन्नाको बारेमा भन्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्लिरहेको निगालोलाई? होइन भने के हेर्न गएका थियौ त? के राम्रा-राम्रा लुगा लगाएका मानिसलाई? राम्रा-राम्रा लुगा लगाउने मानिस त राजदरबारमा पो बस्छन्। साँच्चै भन त तिमीहरू के हेर्न गएका थियौ? के कुनै अगमवक्तालाई? हो, साँच्चै भनूँ भने तिमीहरूले अगमवक्ताभन्दा पनि ठूलो एक जनालाई देखेका छौ किनभने धर्मशास्त्रमा परमेश्वरले यूहन्नाकै बारेमा यसरी भन्नुभएको छ– ‘हेर, तिम्रो अघि म मेरो दूतलाई पठाउँदै छु अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।’ “साँच्चै म तिमीहरूलाई भन्छु, बप्तिस्मा दिने यूहन्नाभन्दा ठूलो मानिस जन्मेको छैन। तापनि परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्नाभन्दा पनि ठूलो हुन्छ।