लूका 23:1-16

लूका 23:1-16 NNRV

सबै सभासद्‌हरू उठे, र उहाँलाई पिलातसकहाँ ल्‍याए। तिनीहरूले उहाँमाथि यसो भन्‍ने दोष लगाउन लागे, “यस मानिसले हाम्रो राष्‍ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौं। यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्‍छ, आफैलाई चाहिँ ‘म ख्रीष्‍ट, एक राजा हुँ’ भनी भन्‍छ।” पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।” तब पिलातसले मुख्‍य पूजाहारीहरू र भीड़हरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।” तर तिनीहरूले बड़ो जोड दिएर भने, “यसले सारा यहूदिया, र गालीलदेखि यस ठाउँसम्‍म शिक्षा दिएर मानिसहरूलाई भड्‌काउँदैछ।” तर पिलातसले यो सुनेर, ‘यो मानिस गालीलको हो कि’ भनेर सोधे। अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन्‌ भन्‍ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए। अब येशूलाई देखेर हेरोद अत्‍यन्‍त खुसी भए। किनकि तिनले उहाँको विषयमा सुनेका हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्‍छा गरेका थिए, र उहाँले केही आश्‍चर्य काम गर्नुभएको हेर्ने आशा गर्थे। तिनले उहाँलाई धेरै प्रश्‍न गरे, तर उहाँले तिनलाई केही जवाफ दिनुभएन। मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूचाहिँ खड़ा भएर उहाँलाई जोड़तोड़साथ दोष लाउन लागे। हेरोदले आफ्‍ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्‍कारपूर्ण व्‍यवहार गरे, र उहाँको गिल्‍ला गरे। त्‍यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए। त्‍यही दिन पिलातस र हेरोद दुवै आपसमा मित्र भए। किनकि अघि तिनीहरूका बीचमा वैरभाव थियो। तब पिलातसले मुख्‍य पूजाहारीहरू, शासकहरू, र जनतालाई जम्‍मा गरे। उनले तिनीहरूलाई भने, “तिमीहरूले मानिसहरू भड्‌काउने भनी यिनलाई मेरो सामुन्‍ने ल्‍यायौ। तिमीहरूकै सामुन्‍ने केरकार गर्दा तिमीहरूले यिनमाथि लाएका अभियोगको दोषी भेट्टाइनँ। हेरोदले पनि दोषी भेट्टाएनन्, किनभने तिनले यिनलाई हामीकहाँ नै फर्काइदिए। अब हेर, यिनले मृत्‍युदण्‍ड पाउने योग्‍यको कुनै काम गरेका छैनन्‌। यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।” [