लूका 2:15-26

लूका 2:15-26 NNRV

जब स्‍वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्‍वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्‍म जाऔं, र त्‍यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।” तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्‍यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्‍नेहरू सबै आश्‍चर्यचकित भए। तर मरियमले यी सब कुरा गुन्‍दै मनैमा राखिन्‌। जस्‍तो तिनीहरूलाई भनिएको थियो त्‍यस्‍तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्‍वरको महिमा र स्‍तुति गर्दै गोठालाहरू फर्के। आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्‍वर्गदूतले दिएका थिए। मोशाको व्‍यवस्‍थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्‍ने समर्पण गर्न यरूशलेममा ल्‍याए, जस्‍तो परमप्रभुको व्‍यवस्‍थामा लेखिएको छ, “पहिलो जन्‍मने हरेक जेठोचाहिँ परमप्रभुको निम्‍ति पवित्र कहलाइनेछ।” अनि “एक जोर ढुकुर वा परेवाको दुई वटा बचरा” भनी परमप्रभुको व्‍यवस्‍थामा भनेजस्‍तै तिनीहरू बलिदान चढ़ाउन आए। यरूशलेममा शिमियोन नाउँ भएका एक जना मानिस थिए। उनी इस्राएलका सान्‍त्‍वनाको आशा गर्ने धर्मी र भक्तजन थिए, र पवित्र आत्‍मा उनीमाथि हुनुहुन्‍थ्‍यो। “परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्‍म तिमी मर्नेछैनौ” भन्‍ने प्रकाश उनले पवित्र आत्‍माबाट पाएका थिए।

लूका 2:15-26 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति