यहोशू 22:1-9

यहोशू 22:1-9 NNRV

तब यहोशूले रूबेनी, गादी, र मनश्‍शेको आधा कुललाई बोलाए, र तिनीहरूलाई भने, “परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका सबै आज्ञा तिमीहरूले पालन गरेका छौ, र मैले अह्राएका सबै कुरामा मेरो वचन मानेका छौ। धेरै समयदेखि तिमीहरूले आजसम्‍म आफ्‍ना दाजुभाइहरूलाई छोड़ेका छैनौ, तर परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको काम पूरा गरेका छौ। अब परमप्रभु तिमीहरूका परमेश्‍वरले भन्‍नुभएबमोजिम तिम्रा दाजुभाइहरूलाई विश्राम दिनुभएको छ। यसकारण अब तिमीहरू फर्केर परमप्रभुका दास मोशाले यर्दन पारि तिमीहरूका अधिकारको निम्‍ति तिमीहरूलाई दिएका देशमा आ-आफ्‍ना डेरामा जाओ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू, उहाँका सबै मार्गहरूमा चल्‍नू, उहाँकै आज्ञाहरू पालन गर्नू, उहाँमै लीन भएर रहनू, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नू भनी परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका आज्ञा र व्‍यवस्‍था पूरा ध्‍यान दिएर पालन गर।” तब यहोशूले तिनीहरूलाई आशीर्वाद दिएर बिदा गरे, र तिनीहरू आ-आफ्‍नो डेरामा गए। (मनश्‍शेको आधा कुललाई त मोशाले बाशानमा अधिकार दिएका थिए, तर अर्को आधालाई यहोशूले यर्दन वारि पश्‍चिमपट्टि तिनीहरूका दाजुभाइहरूका बीचमा दिए।) तिनीहरूलाई आ-आफ्‍ना डेराहरूमा जान बिदा दिँदा यहोशूले तिनीहरूलाई आशीर्वाद पनि दिए, र तिनीहरूलाई यसो भने, “धेरै धन-सम्‍पत्ति, र प्रशस्‍त बस्‍तुहरू लिएर सुन, चाँदी, काँसो, फलाम र धेरै लुगाफाटाहरू लिएर आ-आफ्‍ना डेराहरूमा फर्केर जाओ। तिमीहरूका शत्रुहरूबाट लुटेका सबै आफ्‍ना भाइहरूमा भागबन्‍डा गर।” तब रूबेनी, गादी र मनश्‍शेको आधा कुल, परमप्रभुको आज्ञामुताबिक मोशाद्वारा तिनीहरूले पाएका अधिकारको देश गिलादमा जानलाई इस्राएलीहरूसँग बिदा भएर कनान देशको शीलोबाट फर्के।