यहोशू 13:1-15

यहोशू 13:1-15 NNRV

जब यहोशू वृद्ध भए र दिन धेरै खाइसकेका थिए, परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँ वृद्ध भइस्‌ अनि तेरो उमेर धेरै भयो, तर अझै धेरै देश अधिकारमा ल्‍याउन बाँकी छन्‌। “अझै बाँकी रहेका देश यी नै हुन्‌: पलिश्‍तीहरूका सारा प्रान्‍त र गशूरीहरू, मिश्रदेशका पूर्वपट्टिको शिहोर नदीदेखि लिएर उत्तरतिरका एक्रोनको सिमानासम्‍म— यी सबै कनानीको भागमा गनिएका छन्, (पलिश्‍तीहरूका पाँच प्रान्‍त, गाजा, अश्‍दोद, अश्‍कलोन, गात र एक्रोनका सरदारहरू, र दक्षिणतिरका अव्‍वीहरूका पनि), दक्षिणतिर कनानीहरूका सारा देश, सीदोनीहरूको आरा नाउँ भएको देशदेखि अपेक र एमोरीहरूको सिमानासम्‍म, फेरि गबालीहरूको देश, र पूर्वतर्फ हेर्मोन डाँड़ामुनिको बाल-गाददेखि लिएर लेबो-हमातको बेँसीसम्‍म सारा लेबनान। “अनि लेबनानदेखि मिस्रपोतमैमसम्‍मका पहाड़ी देशका सबै बासिन्‍दा, अर्थात्‌ सीदोनीहरू, यिनीहरू सबैलाई इस्राएलीहरूका सामुन्‍नेबाट म निकालिदिनेछु। तैंले यो देश इस्राएलीहरूलाई मैले अह्राएबमोजिम अधिकारको निम्‍ति बाँड़िदे। अब यो देश नौ कुलहरूलाई र मनश्‍शेको आधा कुललाई अधिकारको निम्‍ति बाँड़िदे।” परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएबमोजिम रूबेनीहरू र गादीहरू र मनश्‍शेको आधा कुलले पूर्व यर्दन पार मोशाले तिनीहरूलाई दिएका अधिकार पाए। तिनीहरूको अधिकार थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्‍यही बेँसीका बीचको सहरदेखि मेदबाको सारा टार दीबोनसम्‍मै, र हेश्‍बोनमा राज्‍य गर्न एमोरीहरूका राजा सीहोनका सबै सहरहरू अम्‍मोनीहरूको सिमानासम्‍मै, गिलाद देश र गशूरी र माकातीका सिमानासम्‍मै, र सारा हेर्मोन डाँड़ा, र सलकासम्‍म सारा बाशान— अर्थात्‌ अस्‍तारोत र एद्रईमा राज्‍य गर्ने ओग राजा, जो मात्र रपाईहरूमध्‍येबाट बचेर रहेका थिए, तिनको सारा बाशान राज्‍यसम्‍मै। किनकि यिनीहरूलाई मोशाले जितेर धपाएका थिए। तर इस्राएलीहरूले गशूरीहरू र माकातीहरूलाई धपाएनन्‌। आजको दिनसम्‍म इस्राएलीहरूका बीचमा गशूरीहरू र माकातीहरू रहेकै छन्‌। तर लेवीको कुललाई उनले कुनै अधिकारको भाग दिएनन्, किनभने परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति चढ़ाइएको अग्‍नि-होमचाहिँ उहाँकै वचनअनुसार तिनीहरूका अधिकारको भाग हो। मोशाले रूबेनको कुललाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए