यहोशू 13:1-15

यहोशू 13:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब यहोशू वृद्ध भए र दिन धेरै खाइसकेका थिए, परमप्रभुले तिनलाई भन्‍नुभयो, “तँ वृद्ध भइस्‌ अनि तेरो उमेर धेरै भयो, तर अझै धेरै देश अधिकारमा ल्‍याउन बाँकी छन्‌। “अझै बाँकी रहेका देश यी नै हुन्‌: पलिश्‍तीहरूका सारा प्रान्‍त र गशूरीहरू, मिश्रदेशका पूर्वपट्टिको शिहोर नदीदेखि लिएर उत्तरतिरका एक्रोनको सिमानासम्‍म— यी सबै कनानीको भागमा गनिएका छन्, (पलिश्‍तीहरूका पाँच प्रान्‍त, गाजा, अश्‍दोद, अश्‍कलोन, गात र एक्रोनका सरदारहरू, र दक्षिणतिरका अव्‍वीहरूका पनि), दक्षिणतिर कनानीहरूका सारा देश, सीदोनीहरूको आरा नाउँ भएको देशदेखि अपेक र एमोरीहरूको सिमानासम्‍म, फेरि गबालीहरूको देश, र पूर्वतर्फ हेर्मोन डाँड़ामुनिको बाल-गाददेखि लिएर लेबो-हमातको बेँसीसम्‍म सारा लेबनान। “अनि लेबनानदेखि मिस्रपोतमैमसम्‍मका पहाड़ी देशका सबै बासिन्‍दा, अर्थात्‌ सीदोनीहरू, यिनीहरू सबैलाई इस्राएलीहरूका सामुन्‍नेबाट म निकालिदिनेछु। तैंले यो देश इस्राएलीहरूलाई मैले अह्राएबमोजिम अधिकारको निम्‍ति बाँड़िदे। अब यो देश नौ कुलहरूलाई र मनश्‍शेको आधा कुललाई अधिकारको निम्‍ति बाँड़िदे।” परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएबमोजिम रूबेनीहरू र गादीहरू र मनश्‍शेको आधा कुलले पूर्व यर्दन पार मोशाले तिनीहरूलाई दिएका अधिकार पाए। तिनीहरूको अधिकार थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्‍यही बेँसीका बीचको सहरदेखि मेदबाको सारा टार दीबोनसम्‍मै, र हेश्‍बोनमा राज्‍य गर्न एमोरीहरूका राजा सीहोनका सबै सहरहरू अम्‍मोनीहरूको सिमानासम्‍मै, गिलाद देश र गशूरी र माकातीका सिमानासम्‍मै, र सारा हेर्मोन डाँड़ा, र सलकासम्‍म सारा बाशान— अर्थात्‌ अस्‍तारोत र एद्रईमा राज्‍य गर्ने ओग राजा, जो मात्र रपाईहरूमध्‍येबाट बचेर रहेका थिए, तिनको सारा बाशान राज्‍यसम्‍मै। किनकि यिनीहरूलाई मोशाले जितेर धपाएका थिए। तर इस्राएलीहरूले गशूरीहरू र माकातीहरूलाई धपाएनन्‌। आजको दिनसम्‍म इस्राएलीहरूका बीचमा गशूरीहरू र माकातीहरू रहेकै छन्‌। तर लेवीको कुललाई उनले कुनै अधिकारको भाग दिएनन्, किनभने परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति चढ़ाइएको अग्‍नि-होमचाहिँ उहाँकै वचनअनुसार तिनीहरूका अधिकारको भाग हो। मोशाले रूबेनको कुललाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए

शेयर गर्नुहोस्
यहोशू 13 पढ्नुहोस्

यहोशू 13:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब यहोशू धेरै वृद्ध भए, तब याहवेहले तिनलाई भन्‍नुभयो, “तँ धेरै वृद्ध भएको छस्। तर अधिकार गर्नुपर्ने देशहरू अझ धेरै छन्। “बाँकी रहेका देशहरू यिनै हुन्: “पलिश्तीहरू र गेशूरीहरूका समस्त इलाका: इजिप्टको पूर्वमा पर्ने शीहोर नदीदेखि उत्तरमा पर्ने एक्रोनका इलाकासम्म। यी इलाकाहरू कनानीहरूको भागमा गनिन्छ। यद्यपि त्यहाँ पाँच पलिश्ती शासकहरूले गाजा, अश्दोद, अश्कलोन, गित्ती र एक्रोनमा शासन गर्छन्। अनि अव्वीहरूको इलाका दक्षिणमा; कनानीहरूका सबै देशहरू, सीदोनीहरूको आरादेखि एमोरीहरूको इलाका अपेकसम्म; गबालीहरूको इलाका; समस्त पूर्वको लेबनान, हेर्मोन पर्वतको मुन्तिरको बाल-गाददेखि लेबो-हमातसम्म। “लेबनानदेखि मिस्रापोत-मैमसम्मका पहाडी क्षेत्रका सबै बासिन्दाहरू अर्थात् सीदोनीहरू, तिनीहरूलाई म आफैँले इस्राएलीहरूको सामुबाट निकालिदिनेछु। मैले तँलाई निर्देशन दिएअनुसार निश्‍चित रूपमा यो देश इस्राएलीहरूका निम्ति उत्तराधिकारस्वरूप छुट्याउनू। अनि यसलाई नौ वटा कुलहरू र मनश्शेका आधा कुलको बीचमा उत्तराधिकारको रूपमा बाँडिदिनू।” याहवेहका सेवक मोशाले तिनीहरूलाई अगिबाटै तोकिदिएअनुसार मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले यर्दनको पूर्वपट्टिका प्रान्तहरू उत्तराधिकारको रूपमा पाएका थिए। यो अर्नोनको घाटीको किनारमा भएको अरोएरदेखि घाटीको बीचमा भएको सहरसम्म फैलिएको थियो। अनि यसमा दीबोनसम्मै मेदेबाको पठार पनि सामेल थियो। अनि अम्मोनीहरूको सिमानासम्म एमोरीहरूका राजा सीहोनका सबै सहरहरू, जसले हेश्बोनमा राज्य गर्नेगर्थे। यसमा गेशूरी र माकातीहरूको इलाका गिलाद, सम्पूर्ण हेर्मोन पर्वत र सलेकासम्मै समस्त बाशान पनि पर्दथ्यो। अर्थात् अस्तारोत र एद्रईमाथि शासन गर्ने रपाईहरूका आखिरी पुस्ताहरूमध्येका एक जना बाशानका राजा ओगको समस्त राज्य पर्दथ्यो। मोशाले तिनीहरूलाई जितेर तिनीहरूका देश लिएका थिए। तर इस्राएलीहरूले गेशूरी र माकातीहरूलाई धपाएनन्। यसकारण तिनीहरू आजको दिनसम्म इस्राएलीहरूका बीचमा बसोबास गर्दैआएका छन्। तर मोशाले लेवीको कुललाई चाहिँ कुनै उत्तराधिकारको भाग दिएनन्। किनकि याहवेह इस्राएलका परमेश्‍वरले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, उहाँलाई चढाएका अन्‍नबलिहरू तिनीहरूको उत्तराधिकारको भाग थियो। मोशाले रूबेनको कुललाई वंशअनुसार दिएका भूमि यिनै हुन्

शेयर गर्नुहोस्
यहोशू 13 पढ्नुहोस्

यहोशू 13:1-15 पवित्र बाइबल (NERV)

जब यहोशू अत्यन्त बृद्ध भए, परमप्रभुले तिनलाई भन्नुभयो, “यहोशू तँ बृद्ध भइसकेको छस्, तर तैंले अझ्झ धेरै भूमि अधिकारमा ल्याउनुछ। त्यहाँ पलिश्तीहरू र गश्शूरीहरूको भूमि अझ्झै बाँकी नै छ, भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अझ्झै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलिश्तीहरूको पाँच अगुवाहरू गाजी, अश्दोदी, अश्कलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अव्वी मानिसहरूलाई, जो दक्षिणतिर बस्छन्। कनानीहरूको सबै भूमि (जुन चाँहि सीदोनीहरूको हो) देखि लिएर अपेक सम्म, जहाँ सम्म एमोरीहरूको सीमानामा पर्छ। अनि गीबालीहरूको भूमि लबानोनको बाल गादको पूर्वतिर देखि लिएर हेर्मोको पर्वतको मुनि देखि लेबो-हमात प्राप्त गर्न अझै बाँकी नै छ। “सबै सीदोनी मानिसहरू, पनि जो लबानोनको पहाडी भूमिदेखि लिएर मिश्रपोत मैमसम्म बस्दछन्। म यी सबै मानिसहरूलाई इस्राएलीहरूका निम्ति भगाइदिनेछु। मैले आज्ञा गरे झैं भूमि तिनीहरूको उत्तराधिकार अनुसार इस्राएलीहरूको बीचमा बाँडिदेऊ। अब नौं कुल समूहहरू अनि मनश्शेका आधा कुल समूहको माझ भूमि विभाजन गर।” रूबेन, गाद अनि मनश्शेका अर्को आधा कुल समूहहरूले सबै तिनीहरूका भूमि अघिनै लिइसकेका थिए। परमप्रभुका दास मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए। तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए। एमोरी मानिसहरूका राजा सीहोनले शासन गरेका सबै शहरहरू त्यस भूमिमा थिए। ती राजाले हेश्बोनको शहरमा शासन गरेका थियो। त्यो भूमि त्यो क्षेत्रसम्म फैलिएको थियो जहाँ एमोरी मानिसहरू बस्थे। गिलाद शहर पनि त्यस भूमिमा थियो। अनि त्यो क्षेत्र जहाँ गशूर अनि माकाका मानिसहरू त्यस भूमिमा बस्दथे। सम्पूर्ण हेर्मोन पर्वत अनि सम्पूर्ण बाशानका सलकासम्मको क्षेत्र त्यस भूमिमा थियो। बाशनमा ओगको सम्पूर्ण राज्य विगतमा जसले अश्तारोत र एद्रईहरूमा शासन, गरेका थिए। ओग रपाई मानिसहरूको अन्तिम थिए, मोशाले यी मानिसहरूलाई आक्रमण गरे अनि तिनीहरूको भूमि लिए। इस्राएलका मानिसहरूले गेशूर अनि माकाका मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याएनन्। ती मानिसहरू अझसम्म इस्राएलका मानिसहरू माझ बस्छन्। लेवी कुल समूह मात्र त्यो एक थियो। जसले कुनै भूमि प्राप्त गरेन। बद्लामा लेवीका मानिसहरूले ती सबै पशुहरू पाए जो आगोद्वारा परमप्रभु परमेश्वरलाई अर्पण गरिएका थिए। यो त्यही थियो जो परमप्रभुले तिनीहरूलाई भाकल गर्नु भएको थियो। मोशाले प्रत्येक कुल समूहलाई रूबेनका कुल समूहबाट केही भूमि दिएका थिए। तिनीहरूले पाएको भूमि यो होः

शेयर गर्नुहोस्
यहोशू 13 पढ्नुहोस्

यहोशू 13:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यहोशू धेरै बुढा भइसकेका थिए। परमप्रभुले उनलाई भन्‍नुभयो, “अब तँ बुढो भइस्; तर जित्‍नुपर्ने देश अझै छन्– सारा पलिश्‍त र गशूरी देश र दक्षिणमा अव्‍वीहरूको देश। (मिश्री सिमानामा भएको शिहोर खोलादेखि उत्तरमा एक्रोनसम्‍म कनानी देश मानिन्‍थ्‍यो। पलिश्‍तीहरूका राजाहरू गाजा, अश्‍दोद, अश्‍कलोन, गात र एक्रोनमा बास गर्थे।) अझै यी देशहरू बाँकी नै छन्– सारा कनानी देश र मारा (जो सीदोनीहरूको हो), एमोरी सिमानामा भएको अपेकसम्‍म गबालीहरूको देश, पूर्वपट्टि हेर्मोन पहाडको दक्षिणमा बाल-गाददेखि लिएर हमात घाटीसम्‍म भएको लेबनान। यसभित्र लेबनानका पहाडहरू र मिस्रपोत-मैमका बीचका पहाडी इलाकामा बस्‍ने सीदोनीहरूको सारा देश पर्दछ। इस्राएलका मानिसहरू अघि बढिजाँदा यी सबै जातिहरूलाई म धपाउनेछु। मेरो आज्ञाअनुसार तैँले त्‍यो देश इस्राएलीहरूबीच बण्डा गरिदिनुपर्छ। अब यस देशमा बाँकी रहेका नौ कुल र मनश्‍शेका आधा कुलबीच तिनीहरूको आफ्‍नो सम्‍पत्ति बनाएर बाँडिदे।” रूबेन र गादका कुल र मनश्‍शेका आधा कुलले परमप्रभुको सेवक मोशाले दिएको देश पाइसकेका थिए, त्‍यो यर्दन नदीको पूर्वपट्टि थियो। त्‍यसका इलाका अरोएर (अर्नोन बेसीका किनारमा) र अर्नोन बेसीका बीचमा भएको सहरसम्‍म फैलिएको थियो अनि मेदबा र दीबोन बीचका टार जम्‍मै त्‍यसभित्र पर्थ्‍यो। त्‍यो अम्‍मोनको सिमानासम्‍म पुगेको थियो अनि हेश्‍बोनमा राज गर्ने एमोरी राजा सीहोनका राज्‍यका सबै सहरहरू त्‍यसभित्र पर्थे। त्‍यसभित्र गिलाद, गशूरी र माकातीका जमिन, सम्‍पूर्ण हेर्मोन पहाड र सलकासम्‍म सारा बाशान अनि अस्‍तारोत र एद्रेईमा राज गर्ने आखिरी रपाईहरूका राजा ओगको देश पर्थे। मोशाले ती मानिसहरूलाई जितेर धपाएका थिए। तैपनि इस्राएलीहरूले गशूरी माकातीका मानिसहरूलाई धपाएनन्, अझसम्‍म तिनीहरू इस्राएलमा नै बास गर्छन्। लेवी कुललाई मोशाले जमिन दिएका थिएनन्। परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार परमप्रभु इस्राएलका परमेश्‍वरको वेदीमा चढाइएका बलिहरूको एक हिस्‍सा तिनीहरूले आफ्‍ना सम्‍पत्तिका रूपमा पाउँथे। त्‍यस देशको एक भाग मोशाले रूबेन कुलका परिवारहरूलाई तिनीहरूको सम्‍पत्ति भनी दिएका थिए।

शेयर गर्नुहोस्
यहोशू 13 पढ्नुहोस्