यहोशू 10:1-15

यहोशू 10:1-15 NNRV

यहोशूले ऐ सहर कब्‍जा गरेर ध्‍वंस पारे, ऐका राजा र सहरलाई यरीहो र त्‍यहाँका राजालाई जस्‍तै गरे र गिबोनका बासिन्‍दाहरूले इस्राएलीहरूसँग सन्‍धि गरेर बसेका छन्‌ भन्‍ने खबर यरूशलेमका राजा अदोनिसेदेकले पाए। उनी र उनका मानिसहरू ज्‍यादै डराए, किनभने गिबोन एक ठूलो नगर थियो, राजकीय नगरझैँ, त्‍यो ऐभन्‍दा पनि ठूलो थियो र त्‍यहाँका सबै निवासीहरू शूरवीर थिए। यसकारण यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्‍लोनका राजा दबीरलाई आह्वान गरे, “मकहाँ आउनुहोस्‌ र गिबोनमाथि हमला गर्न मलाई मदत गर्नुहोस्, किनकि त्‍यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेछ।” तब एमोरीहरूका पाँच राजा, अर्थात्‌ यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश, र एग्‍लोनका पाँच राजाहरूले उनीहरूका आ-आफ्‍ना सबै सेनासमेत गिबोनको सामु छाउनी बनाएर त्‍यसको विरुद्ध लड़ाइँ गरे। यसर्थ गिबोनका मानिसहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनेर मानिस पठाए, “हामीकहाँ चाँड़ो आएर हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्‌। आफ्‍ना दासहरूलाई नत्‍याग्‍नुहोस्, किनकि पहाड़ी देशमा बस्‍ने एमोरीहरूका सबै राजाहरू हाम्रा विरुद्धमा भेला भएका छन्‌।” त्‍यसकारण सारा फौज र वीर योद्धाहरू लिएर यहोशू गिलगालबाट गए। अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्‍पिदिएको छु। उनीहरू एक जना पनि तेरो सामुन्‍ने टिक्‍न सक्‍नेछैन।” यहोशू रातारात गिलगालबाट हिँड़ेर अचानक उनीहरूमाथि जाइलागे। परमप्रभुले उनीहरूलाई इस्राएलको सामुन्‍ने अस्‍तव्‍यस्‍त पार्नुभयो र इस्राएलीहरूले गिबोनमा उनीहरूलाई ठूलो विजयसाथ पराजय गरे, र बेथ-होरोनको उकालो बाटोमा उनीहरूलाई खेदेर आजेका र मक्‍केदासम्‍म मार्दैगए। इस्राएलीहरूका सामुन्‍नेबाट उनीहरू जसै बेथ-होरोनदेखि आजेकासम्‍मै ओह्रालोमा भाग्‍दैथिए, परमप्रभुले स्‍वर्गबाट उनीहरूमाथि ठूला-ठूला असिना झारिदिनुभयो। उनीहरूमध्‍ये इस्राएलीहरूले तरवारले मारेका भन्‍दा धेरै जना असिनाले मरे। परमप्रभुले एमोरीहरूलाई इस्राएलीहरूका हातमा सुम्‍पनुभएको दिनमा यहोशूले परमप्रभुसँग इस्राएलीहरूको उपस्‍थितिमा भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्‍द्र, तँचाहिँ अय्‍यालोनको बेँसीमाथि अड़िरह।” जाति शत्रुमाथि प्रतिशोध नलिउञ्‍जेल सूर्य र चन्‍द्र थामिए। यो कुरोको उल्‍लेख याशारको पुस्‍तकमा पनि छ। सूर्य आकाशमण्‍डलको बीचमा अड़िरह्यो, र दिनभरि नै अस्‍ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्‍नुभयो। त्‍यो दिनजस्‍तो उहिले र पछि कहिले भएन। अवश्‍य इस्राएलीहरूका निम्‍ति परमप्रभुले युद्ध गर्नुभयो। तब यहोशू र तिनका साथमा सारा इस्राएलीहरू गिलगालको छाउनीमा फर्के।