यहोशू 10:1-15

यहोशू 10:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यहोशूले ऐ सहर कब्‍जा गरेर ध्‍वंस पारे, ऐका राजा र सहरलाई यरीहो र त्‍यहाँका राजालाई जस्‍तै गरे र गिबोनका बासिन्‍दाहरूले इस्राएलीहरूसँग सन्‍धि गरेर बसेका छन्‌ भन्‍ने खबर यरूशलेमका राजा अदोनिसेदेकले पाए। उनी र उनका मानिसहरू ज्‍यादै डराए, किनभने गिबोन एक ठूलो नगर थियो, राजकीय नगरझैँ, त्‍यो ऐभन्‍दा पनि ठूलो थियो र त्‍यहाँका सबै निवासीहरू शूरवीर थिए। यसकारण यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्‍लोनका राजा दबीरलाई आह्वान गरे, “मकहाँ आउनुहोस्‌ र गिबोनमाथि हमला गर्न मलाई मदत गर्नुहोस्, किनकि त्‍यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेछ।” तब एमोरीहरूका पाँच राजा, अर्थात्‌ यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश, र एग्‍लोनका पाँच राजाहरूले उनीहरूका आ-आफ्‍ना सबै सेनासमेत गिबोनको सामु छाउनी बनाएर त्‍यसको विरुद्ध लड़ाइँ गरे। यसर्थ गिबोनका मानिसहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनेर मानिस पठाए, “हामीकहाँ चाँड़ो आएर हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्‌। आफ्‍ना दासहरूलाई नत्‍याग्‍नुहोस्, किनकि पहाड़ी देशमा बस्‍ने एमोरीहरूका सबै राजाहरू हाम्रा विरुद्धमा भेला भएका छन्‌।” त्‍यसकारण सारा फौज र वीर योद्धाहरू लिएर यहोशू गिलगालबाट गए। अनि परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्‍पिदिएको छु। उनीहरू एक जना पनि तेरो सामुन्‍ने टिक्‍न सक्‍नेछैन।” यहोशू रातारात गिलगालबाट हिँड़ेर अचानक उनीहरूमाथि जाइलागे। परमप्रभुले उनीहरूलाई इस्राएलको सामुन्‍ने अस्‍तव्‍यस्‍त पार्नुभयो र इस्राएलीहरूले गिबोनमा उनीहरूलाई ठूलो विजयसाथ पराजय गरे, र बेथ-होरोनको उकालो बाटोमा उनीहरूलाई खेदेर आजेका र मक्‍केदासम्‍म मार्दैगए। इस्राएलीहरूका सामुन्‍नेबाट उनीहरू जसै बेथ-होरोनदेखि आजेकासम्‍मै ओह्रालोमा भाग्‍दैथिए, परमप्रभुले स्‍वर्गबाट उनीहरूमाथि ठूला-ठूला असिना झारिदिनुभयो। उनीहरूमध्‍ये इस्राएलीहरूले तरवारले मारेका भन्‍दा धेरै जना असिनाले मरे। परमप्रभुले एमोरीहरूलाई इस्राएलीहरूका हातमा सुम्‍पनुभएको दिनमा यहोशूले परमप्रभुसँग इस्राएलीहरूको उपस्‍थितिमा भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्‍द्र, तँचाहिँ अय्‍यालोनको बेँसीमाथि अड़िरह।” जाति शत्रुमाथि प्रतिशोध नलिउञ्‍जेल सूर्य र चन्‍द्र थामिए। यो कुरोको उल्‍लेख याशारको पुस्‍तकमा पनि छ। सूर्य आकाशमण्‍डलको बीचमा अड़िरह्यो, र दिनभरि नै अस्‍ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्‍नुभयो। त्‍यो दिनजस्‍तो उहिले र पछि कहिले भएन। अवश्‍य इस्राएलीहरूका निम्‍ति परमप्रभुले युद्ध गर्नुभयो। तब यहोशू र तिनका साथमा सारा इस्राएलीहरू गिलगालको छाउनीमा फर्के।

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्

यहोशू 10:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब यरूशलेमका राजा अदोनी-सेदेकले यहोशूले ऐ सहर कब्जा गरेको, त्यसका राजालाई पनि यरीहो सहर र त्यहाँका राजालाई जस्तै पूर्ण रूपले नष्‍ट गरेको कुरा तिनले सुने। अनि गिबोनका मानिसहरूले इस्राएलसँग शान्ति-सन्धि गरेर तिनीहरूकै नजिक बस्‍न थालेका छन् भन्‍ने कुरा पनि तिनले सुने। यो कुराले तिनी र तिनका मानिसहरू भयभीत भए; किनकि गिबोन राजकीय सहरहरूजस्तै एउटा ठूलो सहर थियो। गिबोन ऐ सहरभन्दा ठूलो थियो। अनि त्यसका सबै मानिसहरू असल लडाकुहरू थिए। यसकारण यरूशलेमका राजा अदोनी-सेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा याफिया र एग्लोनका राजा दबीरकहाँ खबर पठाए। तिनले भने, “आउनुहोस्, र मलाई गिबोनमा आक्रमण गर्न सघाउनुहोस्! किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेको छ।” तब पाँच जना एमोरी राजाहरू, अर्थात् यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूले एकसाथ मोर्चा बाँधे। तिनीहरूले आफ्ना सबै फौजहरू लिएर गिबोनको विरुद्धमा लडाइँका निम्ति तयार भए; अनि त्यसमाथि आक्रमण गरे। तब गिबोनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनी खबर पठाए: “तपाईंका सेवकहरूलाई नत्याग्नुहोस्। हामीकहाँ चाँडो आएर हामीलाई बचाउनुहोस्! हामीलाई सहायता गर्नुहोस्; किनकि पहाडी मुलुकबाट सबै एमोरी राजाहरूले हाम्रो विरुद्धमा मोर्चा बाँधेका छन्।” यसकारण यहोशूले आफ्ना सबैभन्दा असल लडाकुहरू लगायत सम्पूर्ण फौज लिएर युद्ध गर्न गिलगालबाट हिँडे। अनि याहवेहले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।” गिलगालबाट रातभरिको हिँडाइपछि यहोशू अचानक तिनीहरूमाथि जाइलागे। याहवेहले तिनीहरूलाई इस्राएलको सामु भयभीत पारिदिनुभयो। यसरी इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा पूर्ण रूपले परास्त गरे। इस्राएलीहरूले तिनीहरूलाई बेथ-होरोन जाने बाटोभरि खेदे। अनि तिनीहरूलाई अजेका र मक्‍केदासम्म लखेटेर मार्दै गए। तिनीहरू इस्राएलीहरूको सामुबाट बेथ-होरोनदेखि अजेकासम्म बाटोमा भाग्दैगर्दा याहवेहले तिनीहरूमाथि आकाशबाट ठूला-ठूला असिनाहरू ओइर्‍याइदिनुभयो। अनि इस्राएलीहरूका तरवारले मारेकाभन्दा असिनाले धेरै जना मरे। याहवेहले एमोरीहरूलाई इस्राएलको हातमा दिनुभएको त्यस दिन यहोशूले इस्राएलको उपस्थितिमा याहवेहलाई भने: “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्रमा, तँ अय्यालोनको बेँसीमाथि अडेर बस्।” यसकारण इस्राएलले आफ्ना शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडिरह्‍यो। अनि चन्द्रमा थामियो। यो कुरा याशारको पुस्तकमा लेखिएको छ। आकाशको बीचमा सूर्य अडिरह्‍यो। अनि सूर्य अस्ताउनलाई लगभग एक दिन नै ढिलो गर्‍यो। याहवेहले यसरी मानिसको प्रार्थना सुन्‍नुभएको घटना न त पहिले, न त पछि कहिल्यै कुनै दिन नै भयो। निश्‍चय नै याहवेह इस्राएलको पक्षमा लडिरहनुभएको थियो! त्यसपछि यहोशू सारा इस्राएलीसँग गिलगालको छाउनीमा फर्के।

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्

यहोशू 10:1-15 पवित्र बाइबल (NERV)

त्यसबेला अदोनिसेदेक यरूशलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले ऐ शहरलाई परास्त गरे अनि पूर्णरूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरीहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि गिबोनका मानिसहरूले इस्राएलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए। अनि ती मानिसहरू यरूशलेमको अत्यन्त नजिकमा बस्थे। यसर्थ अदोनिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै ठूलो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकूहरू थिए। यसकारण राजा भयभीत भए। अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए, “मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।” यसकारण यी पाँच राजाहरूले तिनीहरूका सेनाहरू जम्मा गरे। (पाँच राजाहरू यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा अनि एग्लोनका राजा थिए।) तिनीहरू आफ्ना सैनिकहरू लिएर गिबोनमा गए, शहरलाई घेरा हाले अनि लडाईं लडे। गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दाशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिनीहरूका सेनाहरूलाई हाम्रो विरूद्ध लड्न ल्याएका छन्।” यसर्थ यहोशू आफ्ना सम्पूर्ण सेनाहरू सहित गिलगालबाट हिंडे। यहोशूका सर्वोत्तम योद्धाहरू तिनीसित थिए। परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।” यहोशू अनि तिनका सेना रात भरि गिबोन तर्फ हिंडे। शत्रुहरूले यहोशू आउँदैछन् भनेर थाहा पाएनन्। यसर्थ यो एक आश्चर्यपूर्ण कुरा भयो जब तिनले तिनीहरू माथि आक्रमण गरे। परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेदे। इस्राएलका सेनाले आजेका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे। जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो। त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः “हे सूर्य, गिबोन माथि स्थिर बस्। चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।” यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो। यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो। यसपछि, यहोशू अनि तिनका सेना गिलगालको छाउनीम फर्के।

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्

यहोशू 10:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यहोशूले यरीहो र त्‍यसका राजालाई झैँ ऐ र त्‍यसका राजालाई पूरा नाश पारेछन् अनि आफ्‍ना अधीन गरेछन् भनी यरूशलेमका राजा अदोनिसेदेकले सुने। गिबोनका मानिसहरूले इस्राएलीहरूसित सन्‍धि-पत्र गरेका छन् र तिनका माझमा बास गर्दै छन् भनेर पनि तिनले सुने। त्‍यो सुनेर यरूशलेमका मानिसहरू साह्रै डराए किनभने गिबोन कुनै पनि राजा भएको सहर जतिकै ठूलो थियो, त्‍यो ऐभन्दा ठूलो थियो र त्‍यहाँका मानिसहरू असल लडाकु थिए। यसकारण अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्‍लोनका राजा दबीरकहाँ यस्‍तो खबर पठाए, “आएर मलाई गिबोनमाथि हमला गर्न सघाउनुहोस् किनभने त्‍यहाँका बासिन्‍दाहरूले यहोशू र इस्राएलीहरूसित मिलाप गरेका छन्।” यी पाँच एमोरी राजाहरू, यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्‍लोनका राजाहरूले आ-आफ्‍ना सेना एकै गरी मिलाए, गिबोनलाई घेरामा पारे र त्‍यसमाथि आक्रमण गरे। गिबोनका मानिसहरूले गिलगालका छाउनीमा यहोशूकहाँ खबर पठाए, “हजुर, हामीलाई नत्‍याग्‍नुहोला! झट्टै आएर हाम्रो मद्दत गर्नुहोस्! हामीलाई बचाउनुहोस्! पहाडका सबै एमोरी राजाहरूले आफ्‍ना सेनाहरू एकैसाथ भेला भई हामीमाथि हमला गरेका छन्!” यसकारण यहोशू र उनका सारा सेना, सबैभन्दा असल लडाकु दलसमेत गिलगालबाट हिंडे। परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसित नडरा मैले तँलाई विजय दिइसकेको छु। तिनीहरूमध्‍ये एक जना पनि तेरा विरुद्धमा उभिन सक्‍नेछैन।” यहोशू र उनका सेना रातभरि हिँडी गिलगालदेखि गिबोनमा पुगे र एमोरीहरूमाथि अचानक आक्रमण गरे। एमोरीहरूलाई इस्राएलको सेनाअघि परमप्रभुको डरले थरहरी पारे। इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा हराए र बेथ-होरोनको पहाडी बाटोमा ओह्रालो खेदेर लगे अनि दक्षिणमा आजेका र मक्‍केदासम्‍म हमला गरेर खेदे। इस्राएली सेनादेखि भागेर एमोरीहरू ओह्रालोमा दगुरी जाँदा परमप्रभुले तिनीहरूलाई आजेकासम्‍म नै ठूला-ठूला असिनाको वर्षाले चुट्‍नुभयो। इस्राएलीहरूबाट भन्दा असिनाबाट तिनीहरू धेरै मारिए। परमप्रभुले इस्राएलीहरूलाई एमोरीहरूमाथि विजय दिनुभएको दिन यहोशूले परमप्रभुसित कुरा गरे। इस्राएलीहरूको सामु उनले भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्‍द्र, तँ अय्‍यालोन बेसीमाथि, अडेर बस्!” इस्राएली जातिले आफ्‍ना शत्रुलाई विजय नगरेसम्‍म सूर्य अडिरह्यो अनि चन्‍द्र रोकियो। यो याशारको पुस्‍तकमा लेखिएको छ। सूर्य आकाशको बीचमा अडिबस्‍यो र एक दिनभरि अस्‍ताएन। त्‍यसको अघि वा पछि कहिल्‍यै पनि त्‍यस्‍तो दिन भएको छैन जब परमप्रभुले मानिसका कुरा मान्‍नुभएको थियो। परमप्रभुले इस्राएलपट्टि लागेर युद्ध गर्नुभयो! त्‍यसपछि यहोशू र उनका सेना आफ्‍ना छाउनी गिलगालमा फर्की गए।

शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्