दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो। तिनले आफ्ना आँखा उठाएर हेरे, र आफ्नो सामु तीन जना मानिसहरू उभिरहेका देखे। उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए, र भूइँसम्म निहुरेर दण्डवत् गरे।
तिनले भने, “हे मेरा प्रभु, ममाथि तपाईंको निगाह हुन्छ भने कृपा गरी आफ्नो दासकहाँबाट त्यसै नजानुहोस्। म केही पानी ल्याउनेछु, र तपाईंहरू आफ्ना पाउ धुनुहोस्, र यही रूखमुनि आराम गर्नुहोस्। म गएर केही रोटी ल्याउनेछु, र खाएर तपाईंहरू थकाइ मार्नुहोस्, त्यसपछि मात्र जानुहोस्, किनभने यसैको निम्ति तपाईंहरू आफ्नो दासकहाँ आउनुभएको होला।”
उनीहरूले भने, “जाऊ, तिमीले भनेअनुसार गर।”
तब अब्राहाम झट्टै पालमा साराकहाँ गएर भने, “तुरुन्तै पाँच पाथी मसिनो पीठो तयार गरी मुछेर रोटी बनाऊ।”
अब्राहाम आफैचाहिँ बथानतिर कुदेर गए, र एउटा कलिलो र असल बाछो छानेर आफ्नो नोकरलाई दिए, र त्यसले तुरुन्तै त्यो पकायो। तब तिनले दही, दूध र त्यो पकाएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले नखाउञ्जेल तिनी उनीहरूकै नजिक उभिरहे।
अनि उनीहरूले तिनलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?”
तिनले भने, “तिनी त पालमा छिन्।”
तब परमप्रभुले भन्नुभयो, “आउँदो साल यही समयमा म निश्चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्नी साराले एक जना छोरो जन्माएकी हुन्छे।”
साराले चाहिँ यो कुरो पालको ढोकाबाट उहाँको पछिल्तिर सुनिरहेकी थिइन्। अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्किसकेको थियो। साराको रजस्वला पनि बन्द भइसकेको थियो। यसकारण सारा मनमनै यसो भन्दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ, र के मलाई यो सुख हुन्छ र?”
तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “‘बूढ़ी भएर पनि मैले छोराछोरी पाउने’ भनेर सारा किन हाँसी? परमप्रभुको निम्ति कुनै कुरो कठिन छ र? आउँदो साल तोकिएकै समयमा म तँकहाँ फर्किआउनेछु, र साराको एक जना छोरा हुनेछ।”
तर साराले यसो भन्दै इन्कार गरिन्, “म हाँस्दै हाँसिनँ।” किनभने तिनी डराइन्।
तर उहाँले भन्नुभयो, “तँ हाँसेकै होस्।”