उत्‍पत्ति 18:1-15

उत्‍पत्ति 18:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्‍नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो। तिनले आफ्‍ना आँखा उठाएर हेरे, र आफ्‍नो सामु तीन जना मानिसहरू उभिरहेका देखे। उनीहरूलाई देखेर तिनी पालको ढोकाबाट भेट गर्नलाई कुदेर गए, र भूइँसम्‍म निहुरेर दण्‍डवत्‌ गरे। तिनले भने, “हे मेरा प्रभु, ममाथि तपाईंको निगाह हुन्‍छ भने कृपा गरी आफ्‍नो दासकहाँबाट त्‍यसै नजानुहोस्‌। म केही पानी ल्‍याउनेछु, र तपाईंहरू आफ्‍ना पाउ धुनुहोस्, र यही रूखमुनि आराम गर्नुहोस्‌। म गएर केही रोटी ल्‍याउनेछु, र खाएर तपाईंहरू थकाइ मार्नुहोस्, त्‍यसपछि मात्र जानुहोस्, किनभने यसैको निम्‍ति तपाईंहरू आफ्‍नो दासकहाँ आउनुभएको होला।” उनीहरूले भने, “जाऊ, तिमीले भनेअनुसार गर।” तब अब्राहाम झट्टै पालमा साराकहाँ गएर भने, “तुरुन्‍तै पाँच पाथी मसिनो पीठो तयार गरी मुछेर रोटी बनाऊ।” अब्राहाम आफैचाहिँ बथानतिर कुदेर गए, र एउटा कलिलो र असल बाछो छानेर आफ्‍नो नोकरलाई दिए, र त्‍यसले तुरुन्‍तै त्‍यो पकायो। तब तिनले दही, दूध र त्‍यो पकाएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले नखाउञ्‍जेल तिनी उनीहरूकै नजिक उभिरहे। अनि उनीहरूले तिनलाई सोधे, “तिम्री पत्‍नी सारा कहाँ छिन्‌?” तिनले भने, “तिनी त पालमा छिन्‌।” तब परमप्रभुले भन्‍नुभयो, “आउँदो साल यही समयमा म निश्‍चय नै तँकहाँ फर्किआउनेछु, र हेर्, तेरी पत्‍नी साराले एक जना छोरो जन्‍माएकी हुन्‍छे।” साराले चाहिँ यो कुरो पालको ढोकाबाट उहाँको पछिल्‍तिर सुनिरहेकी थिइन्‌। अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्‍किसकेको थियो। साराको रजस्‍वला पनि बन्‍द भइसकेको थियो। यसकारण सारा मनमनै यसो भन्‍दै हाँसिन्, “म वृद्ध भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्‍नुभएको छ, र के मलाई यो सुख हुन्‍छ र?” तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “‘बूढ़ी भएर पनि मैले छोराछोरी पाउने’ भनेर सारा किन हाँसी? परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र? आउँदो साल तोकिएकै समयमा म तँकहाँ फर्किआउनेछु, र साराको एक जना छोरा हुनेछ।” तर साराले यसो भन्‍दै इन्‍कार गरिन्, “म हाँस्‍दै हाँसिनँ।” किनभने तिनी डराइन्‌। तर उहाँले भन्‍नुभयो, “तँ हाँसेकै होस्‌।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 18 पढ्नुहोस्

उत्‍पत्ति 18:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

दिउँसोको गर्मीमा मम्रेका ठूला फलाँटका रूखहरू नजिक आफ्नो पालको प्रवेशद्वारमा अब्राहाम बसिरहेका बेला याहवेह तिनीकहाँ देखा पर्नुभयो। अब्राहामले आँखा उठाएर हेरे; र तीन जना मानिसहरूलाई तिनको छेउमा उभिरहेका देखे। जब तिनले उहाँहरूलाई देखे, तब तिनी आफ्नो पालको प्रवेशद्वारबाट उहाँहरूलाई भेट्न भनी दौडेर गए; र भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे। तिनले भने, “हे मेरा प्रभु, यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने तपाईंको सेवककहाँ एकछिन नबसी यत्तिकै नगइदिनुहोस्। मलाई पानी ल्याउन दिनुहोस्, र आफ्ना पाउ धोएर यस रूखमुनि आराम गर्नुहोस्। अब तपाईंहरू आफ्ना सेवककहाँ आउनुभएकोले मलाई केही खानेकुरा ल्याउन दिनुहोस्; अनि तपाईंहरू खानुहोस् र थकाइ मार्नुहोस्, र त्यसपछि आफ्नो बाटो लाग्नुहोला।” उहाँहरूले भने, “हुन्छ, तिमीले भनेझैँ गर।” यसकारण अब्राहाम हतार-हतार गर्दै पालभित्र साराकहाँ गएर भने, “लौ झट्टै तीन सिया मसिनो पिठो तयार पारी मुछेर केही रोटी बनाऊ।” तब अब्राहाम बगाल भएको ठाउँमा दौडेर गए, र एउटा कलिलो बाछो छानेर आफ्नो सेवकलाई दिए। उसले तुरुन्तै काटकुट गरेर पकायो। तब तिनले दही, दूध र बाछाको मासु ल्याए, र उहाँहरूका सामु टक्र्याइदिए। अनि उहाँहरूले खाउन्जेल तिनीचाहिँ उहाँहरूकै छेउमा रूखमुनि उभिरहे। तब उहाँहरूले अब्राहामलाई सोधे “तिम्री पत्नी सारा कहाँ छिन्?” तिनले भने, “त्यहीँ पालभित्र छिन्।” उहाँहरूमध्ये एक जनाले भने, “निश्‍चय नै म आउँदो वर्ष यसै समयमा तिमीकहाँ फर्किआउनेछु; तब तिम्री पत्नी साराको साथमा एउटा छोरा हुनेछ।” अब साराले चाहिँ यो कुरा अब्राहामको पछिल्तिर भएको पालको प्रवेशद्वारबाट सुनिरहेकी थिइन्। अब्राहाम र सारा निकै बुढाबुढी भइसकेका थिए; अनि साराको बच्‍चा जन्माउने उमेर पनि कटिसकेको थियो। यसकारण सारा मनमनै हाँसिन् र भनिन्, “म बुढी भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ; अब के मलाई साँच्‍चै यो सुख प्राप्‍त होला?” तब याहवेहले अब्राहामलाई भन्‍नुभयो, “म बुढी भइसकेकीले के साँच्‍चै बच्‍चा जन्माउन सकुँली र? भन्दै सारा किन हाँसी? के याहवेहका निम्ति कुनै कुरा कठिन छ र? म तोकिएको समयमा अर्को वर्ष तिमीकहाँ फर्किआउनेछु, र साराको एउटा छोरा हुनेछ।” सारा डराइन्, र ढाँट्दै यसो भनिन्, “अहँ, म हाँसिनँ।” तर उहाँले भन्‍नुभयो, “हो, तँ हाँसेकै थिइस्।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 18 पढ्नुहोस्

उत्‍पत्ति 18:1-15 पवित्र बाइबल (NERV)

पछि फेरि परमप्रभुले अब्राहामलाई दर्शन दिनु भयो। अब्राहाम मम्रेको फलाँटको रूखको नजिक बस्दै थिए। एकदिन, दिउँसो एकदमै गर्मीको समयमा अब्राहाम पालको ढोकामा बसेका थिए। अब्राहामले आँखा उठाएर हेरे र उनले तीन जना पुरूषहरूलाई आफ्नो अगाडि उभिएको देखे। जब तिनले तिनीहरूलाई देखे तिनी तिनीहरूको सामु गए अनि नमस्कार गरे। अब्राहामले तिनीहरूलाई भने, “हे मेरा महाशय म हजूरको दाससित केही बेर बस्नु होस्। म तपाईंको पाउ धुनको निम्ति पानी लिएर आउँछु। तपाईंहरू रूखमुनि विश्राम गर्नुहोस्। म तपाईंहरूको निम्ति केही रोटी ल्याउनेछु र तपाईंहरूको इच्छा अनुसार खान सक्नु हुन्छ। त्यसपछि तपाईंहरू आफ्नो गन्तव्य स्थानतिर प्रस्थान गर्न सक्नु हुन्छ।” तीनैजनाले भने, “यो अति नै असल कुरो हो र तपाईं जस्तो ठीक सम्झनु हुन्छ त्यही गर्नुहोस्।” अब्राहाम लगतै पालभित्र पसे र सारालाई भने, “चाँडो गरी मिहिन पीठोको तीनवटा रोटी बनाऊ।” तब फेरि अब्राहाम झट्टारिएर गाई-गोरूहरूको बथानतिर गई एउटा खाईलाग्दो असल बाछो ल्याएर झट्टै त्यसलाई मारी भोजन बनाउन नोकरलाई अह्राए। अब्राहामले ती तीनै जनालाई मासुको परिकार, केही दही र दूध टक्रायाए। जब तिनीहरू रूखमुनि बसेर खान लागे अब्राहाम तिनीहरूको नजिक त्यहीं उभिरहे। ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?” अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।” तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।” साराले पालबाट यी सब कुराहरू सुनिरहेकी थिइन्। अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो। यसर्थ उनले जे सुनिन त्यो विश्वास गरिनन्। तिनी आफू एक्लै हाँसिन र भनिन्, “म र मेरा पति दुवै वृद्ध भइसकेका छौं मेरो गर्भधारण गर्ने समय बितिसकेको छ।” तब परमप्रभुले अब्राहामलाई भन्नुभयो, “किन सारा हाँस्छिन् र भन्छिन् उमेरले गर्दा तिनी गर्भधारण गर्न असमर्थ भएकी छिन्। के परमप्रभुको निम्ति केही चीज गर्न गाह्रो छ? होइन! जब म वसन्तमा आउनेछु अनि तिम्री पत्नी साराले छोरो जन्माउनेछिन्।” तर साराले आफू, “नहाँसेको कुरो भनिन्।” तिनले डराएर त्यसो भनेकी हुन्। तर परमप्रभुले भन्नुभयो, “होइन। तिमीले जे भन्यौ त्यो साँचो होइन। तिमी साँच्चै हाँस्यौ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 18 पढ्नुहोस्

उत्‍पत्ति 18:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मम्रेको पवित्र रूखछेउमा परमप्रभुले अब्राहामलाई दर्शन दिनुभयो। अब्राहाम दिउँसोको चौपट्ट गर्मीमा आफ्‍ना पालको ढोकानिर बसिरहेका थिए। उनले आँखा उचालेर हेरे र तीन जना मान्‍छेहरू उभिरहेका देखे। तिनीहरूलाई देख्‍नेबित्तिकै उनी दगुरेर तिनीहरूलाई भेट्‍न गए। निहुरेर निधारले भूइँ छोएर उनले भने, “हजुरहरू हो, मेरो घरमा नबसी नजानुहोस्, तपाईंहरूको सेवा गर्नलाई म यहाँ छु। तपाईंहरूका पाउ धुनलाई मलाई केही पानी ल्याउन दिनुस्‌। तपाईंहरू यहाँ रूखमुनि विश्राम लिनुहोस्। अलिकता भोजन पनि म लिई आउनेछु। त्‍यसले बाँकी यात्रा गर्न तपाईंहरूलाई बल दिनेछ। मेरो घरमा आएर मेरो आदर गर्नुभयो, अब मलाई तपाईंहरूको सेवा गर्न दिनुहोस्।” तिनीहरूले उत्तर दिए, “धन्‍यवाद, तिम्रा कुरा हामीलाई स्‍वीकार छ।” हतारसित पालमा पसेर उनले सारालाई भने, “चाँडो गर, एक थैलो सबैभन्दा असल आँटा लिएर केही रोटी बनाऊ।” त्‍यसपछि दगुरेर उनी पशुका बथानबीच गए र एउटा कलिलो पोसाएको बाछो ल्‍याएर नोकरलाई दिए। नोकरले त्‍यो हतार-हतार तयार गर्न थाल्‍यो। उनले केही मखन, दूध र त्‍यो मासु लगी ती मानिसहरूका अघि भोजन टक्र्याए। त्‍यहाँ रूखमुनि उनले तिनीहरूलाई खाना टक्र्याए र तिनीहरूले खाए। तब तिनीहरूले उनलाई सोधे, “तिम्री स्‍वास्‍नी सारा कहाँ छिन्‌?” “तिनी पालमा छिन्‌,” उनले जवाफ दिए। तीमध्‍ये एक जनाले भने, “आजको नौ महिनामा म फेरि यहाँ आउनेछु। तिम्री स्‍वास्‍नी साराले एउटा छोरो जन्‍माउनेछे।” साराले उनको पछाडिपट्टि पालका ढोकामा उभिएर सुनिरहेकी थिइन्। अब्राहाम र सारा वृद्ध भइसकेका थिए। साराको रजस्वला पनि बन्‍द भइसकेको थियो। यसैले सारा आफ्‍नो मनमा यसो भन्‍दै हाँसिन्, “म अब बुढी भएर थाकिसकेकी छु। के म अब यो सुख-भोग गर्न सकूँला र? अनि फेरि मेरा लोग्‍ने पनि त बुढा भइसकेका छन्।” तब परमप्रभुले अब्राहामलाई सोध्‍नुभयो, “ ‘म यति बुढो भएर कसरी छोरा-छोरी जन्‍माउन सकूँली र?’ भनेर सारा किन हाँसी? के परमप्रभुको निम्‍ति केही कुरो कठिन छ र? मैले भनेअनुसार नौ महिनापछि म फर्की आउनेछु अनि साराले एउटा छोरो जन्‍माउनेछे।” सारा डराइन्। त्‍यो कुरा इन्‍कार गरिन्। उनले भनिन्, “म हाँसिनँ है।” “हो, तँ हाँसिस्, तँ हाँसेकै होस्,” उहाँले भन्‍नुभयो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 18 पढ्नुहोस्