१ यूहन्‍ना 3:11-24

१ यूहन्‍ना 3:11-24 NNRV

तिमीहरूले सुरुदेखि नै सुनेको सन्‍देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।” कयिनजस्‍तो नहोओ, जो दुष्ट थियो। उसले आफ्‍नो भाइको हत्‍या गर्‍यो। उसले आफ्‍नो भाइको हत्‍या किन गर्‍यो? किनकि उसका आफ्‍ना कामहरू दुष्‍ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए। भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्‍म नमान। हामी जान्‍दछौं, कि हामी त मृत्‍युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्‍ना दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन, त्‍यो मृत्‍युमा रहिरहन्‍छ। आफ्‍नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्‍यारा हो, र कुनै हत्‍यारासँग अनन्‍त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ। प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्‍ति आफ्‍नो प्राण दिनुभयो र हामीले पनि आफ्‍ना दाजुभाइहरूका निम्‍ति आफ्‍नो प्राण दिनुपर्छ। कसैसित संसारको धन-सम्‍पत्ति छ, र पनि आफ्‍ना दाजुभाइलाई खाँचोमा परेको देख्‍दा उनीहरूप्रति आफ्‍नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्‍यसमा वास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं। यसैबाट हामी जान्‍न सक्‍छौं कि हामी सत्‍यका हौं, र यसरी उहाँको सामुन्‍ने हाम्रा हृदयलाई ढाड़स दिन सक्‍छौं। जब हाम्रो हृदयले हामीलाई दोष दिन्‍छ, हामी जान्‍दछौं परमेश्‍वर हाम्रो हृदयभन्‍दा महान्‌ हुनुहुन्‍छ, र उहाँले सब कुरा जान्‍नुहुन्‍छ। प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्‍वरको सामुन्‍ने हामीलाई साहस हुन्‍छ। अनि हामी जे माग्‍छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं। अनि उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम हामीले एक अर्कोलाई प्रेम गर्नुपर्छ। उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्‍छन्, र उहाँ तिनीहरूमा रहनुहुन्‍छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्‍माद्वारा हामी जान्‍दछौं, कि उहाँ हामीमा वास गर्नुहुन्‍छ।