१ यूहन्ना 3:11-24
१ यूहन्ना 3:11-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।” कयिनजस्तो नहोओ, जो दुष्ट थियो। उसले आफ्नो भाइको हत्या गर्यो। उसले आफ्नो भाइको हत्या किन गर्यो? किनकि उसका आफ्ना कामहरू दुष्ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए। भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्म नमान। हामी जान्दछौं, कि हामी त मृत्युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ। आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारासँग अनन्त जीवन रहँदैन भन्ने तिमीहरूलाई थाहै छ। प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूका निम्ति आफ्नो प्राण दिनुपर्छ। कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं। यसैबाट हामी जान्न सक्छौं कि हामी सत्यका हौं, र यसरी उहाँको सामुन्ने हाम्रा हृदयलाई ढाड़स दिन सक्छौं। जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ, हामी जान्दछौं परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सब कुरा जान्नुहुन्छ। प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्वरको सामुन्ने हामीलाई साहस हुन्छ। अनि हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं। अनि उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम हामीले एक अर्कोलाई प्रेम गर्नुपर्छ। उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा रहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौं, कि उहाँ हामीमा वास गर्नुहुन्छ।
१ यूहन्ना 3:11-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ। कयिनजस्तो नहोओ, जो दुष्टको थियो र त्यसले आफ्नै भाइको हत्या गर्यो। त्यसले आफ्नो भाइको किन हत्या गर्यो? किनकि त्यसका आफ्ना कामहरू दुष्ट थिए, तर त्यसको भाइका कामहरूचाहिँ धार्मिक थिए। त्यसैले हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान। हामी जान्दछौँ, हामी त मृत्युबाट जीवनमा सरिसकेका छौँ; किनकि हामी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छौँ। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ। हरेक जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो हत्यारा हो; अनि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन भन्ने तिमीहरू जान्दछौ। प्रेम के हो भन्ने कुरा हामी यसैबाट थाहा पाउँछौँ; येशू ख्रीष्टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यसैले हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ। यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र? प्यारा साना नानीहरू हो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौँ। त्यसकारण यसैबाट नै हामी सत्यका हौँ भनी जान्दछौँ, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्क भएर खडा हुन सक्छौँ। जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्नुहुन्छ। प्रिय मित्रहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरको सामु हामीलाई साहस हुन्छ; अनि हामीले जे माग्छौँ, सो उहाँबाट पाउँछौँ; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ; अनि जुन कुराले उहाँलाई प्रसन्न तुल्याउँछ, त्यही गर्दछौँ। अनि उहाँको आज्ञा यही हो—उहाँका पुत्र येशू ख्रीष्टको नाममा विश्वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ। जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौँ।
१ यूहन्ना 3:11-24 पवित्र बाइबल (NERV)
यो त्यो शिक्षा हो जो तिमीहरूले शुरुदेखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ। कयिन जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरू गलत थियो अनि तिनका भाइले गरेका कुराहरू असल थियो। भाइ अनि बहिनीहरू, जब यस संसारका मानिसहरूले तिमीहरूलाई घृणा गर्छन्, आश्चर्यचकित नबन। हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरूलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन ऊ अझ मृत्युमा छ। हरेक मानिस जसले आफ्ना भाइलाई घृणा गर्छ ऊ हत्यारा हो। अनि तिमी जान्दछौ कि कुनै पनि हत्याराको उसमा अनन्त जीवन हुँदैन। साँच्चो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ-बहिनीहरूका निम्ति अर्पण गर्नुपर्छ। कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ? मेरो बालकहरू, हाम्रो प्रेम केवल शब्द अनि बातमा मात्र हुनु हुँदैन। हाम्रो प्रेम साँच्चो प्रेम हुनुपर्छ। हामीले हाम्रो प्रेम हाम्रो कर्मद्वारा दर्शाउनु पर्छ। त्यस प्रकारले जान्दछौ कि हामी सत्य मार्गका छौ। अनि जब हाम्रा विवेकले हामीलाई भर्तसना गर्छ, परमेश्वर समक्ष हामी हाम्रो हृदयलाई पुन: सान्तवना गराउन सक्छौं। किनभने परमेश्वर हाम्रो विवेक भन्दा महान हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ। मेरा प्रिय मित्रहरू, यदि हाम्रो विवेकले हामीलाई भर्तसना भने, जब हामी परमेश्वर समक्ष जान्छौ हामी निडर हुनेछौं। अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरू दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौ अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौ। यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो। मानिस जसले परमेश्वरका आदेशहरू पालन गर्छ उ परमेश्वरमा जीवित रहन्छ। अनि परमेश्वर उसमा बस्नुहुन्छ। परमेश्वर हामीमा हुनुहुन्छ भन्ने हामी कसरी जान्दछौ? हामी आत्माको कारणले जान्दछौं जो परमेश्वरले हामीलाई प्रदान गर्नु भएको छ।
१ यूहन्ना 3:11-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक-अर्कालाई प्रेम गर्नुपर्छ भन्ने कुरा तिमीहरूले पहिले नै सुनेका छौ। हामी कयिनजस्तो हुनुहुँदैन। उसले शैतानको सन्तान भएर आफ्नै भाइ हाविललाई मार्यो। कयिनले किन आफ्नै भाइलाई मार्यो? किनभने उसको काम ठीक थिएन। तर उसको भाइको कामचाहिँ ठीक थियो। भाइहरू हो, संसारका मानिसहरूले तिमीहरूलाई हेला गर्दा अचम्म नमान। हामीले दाजुभाइलाई प्रेम गरेकाले नै हामी मृत्युबाट जीवनमा सरिसकेका छौं भन्ने थाहा हुन्छ। प्रेम नगर्ने मानिसचाहिँ अझ मृत्युको बन्धनमा हुन्छ। आफ्ना भाइलाई हेला गर्नेचाहिँ ज्यानमारा हो र ज्यानमारामा अनन्त जीवन हुँदैन भन्ने तिमीहरूलाई थाहा छ। ख्रीष्टले हाम्रो लागि आफ्नो प्राण दिनुभयो। यसैकारण हामीले प्रेमलाई बुझेका छौं। हामीले पनि आफ्ना भाइहरूका लागि आफ्नो प्राण दिनुपर्छ। संसारको धन-सम्पत्ति हुनेले आफ्नो भाइको खाँचो देखेर पनि मन कठोर पार्छ भने कसरी त्यस्तो मानिसले परमेश्वरलाई प्रेम गर्छ? मेरा बालक हो! हामीहरू बोली र कुराले मात्र प्रेम नगरौं, हाम्रो प्रेमचाहिँ साँचो हुनुपर्छ। यस्तो प्रेम कामद्वारा देखिन्छ। यसैबाट हामी सत्यका मानिसहरू हौं भन्ने थाहा हुन्छ र हामी परमेश्वरका अघि निर्धक्क हुनेछौं। हामीलाई आफ्नै मनले दोषी ठहराउँछ भने परमेश्वर त हाम्रो मनभन्दा पनि ठूलो हुनुहुन्छ। उहाँले त सबै कुरा जान्नुहुन्छ। मेरा प्रिय मित्रहरू हो, हाम्रो मनले हामीलाई दोषी ठहराएन भने हामीलाई परमेश्वरको अघि जाने आँट आउँछ र हामीले मागेका सबै कुरा उहाँबाट पाउँछौं हामीले जे माग्छौं, त्यो उहाँबाट पाउँछौं किनभने हामी उहाँका आज्ञा मान्छौं र उहाँलाई मन पर्ने काम गर्दछौं। परमेश्वरको आज्ञाचाहिँ उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नु र ख्रीष्टले आज्ञा दिनुभएझैँ एक-अर्कालाई प्रेम गर्नु हो। परमेश्वरका आज्ञाहरू मान्ने मानिस परमेश्वरमा नै रहन्छ र उसमा परमेश्वर रहनुहुन्छ। यसरी परमेश्वर हामीमा रहनुहुन्छ भन्ने कुरा उहाँले दिनुभएको आत्माबाट नै हामी थाहा पाउँछौं।