एफिसी 2
2
पुरानो र नयाँ जीवन
1तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।#कल २:१३ 2यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्माअनुसार तिमीहरू अघि एक पल्ट चल्दैथियौ। 3तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौं, र बाँकी मानिसजस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं। 4तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान् प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, 5यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो— अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। 6र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो। 7योचाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। 8किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— 9कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ। 10किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।
ख्रीष्टमा सबै एक
11यसकारण याद राख, अघि तिमीहरू शरीरअनुसार अन्यजाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतनाका मान्दथे। 12याद राख, तिमीहरू त्यस बेला ख्रीष्टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्वररहित थियौ। 13तर तिमीहरू, जो त्यस बेला ख्रीष्ट येशूबाट टाढ़ा थियौ, अब ख्रीष्टको रगतले नजिक भएका छौ।
14किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनुभएको छ। 15र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक-विधानहरूसमेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ, कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून्, र यसरी शान्ति स्थापना होस्।#कल २:१४ 16अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो।#कल १:२० 17उहाँले आएर तिमी टाढ़ा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो,#यशै ५७:१९ 18किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिताकहाँ प्रवेश पाएका छौं।
19यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ। 20त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ। 21उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ। 22अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।
Terpilih Sekarang Ini:
एफिसी 2: NNRV
Highlight
Salin
Bandingkan
Kongsi
Ingin menyimpan sorotan merentas semua peranti anda? Mendaftar atau log masuk
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012