Лого на YouVersion
Икона за пребарување

लूका 18

18
विधवा र न्‍यायाधीश
1त्‍यसपछि येशूले चेलाहरूलाई ‘सधैँ प्रार्थना गर्नुपर्छ र हरेस खानुहुँदैन’ भनेर बुझाउन यसो भन्‍नुभयो, 2“कुनै सहरमा एक जना न्‍यायाधीश थिए। तिनले परमेश्‍वरको डर मान्दैनथे र मान्‍छेको पनि वास्‍ता गर्दैनथे। 3त्‍यसै सहरमा एउटी विधवा पनि थिइन्। तिनी घरीघरी न्‍यायाधीशकहाँ गएर भन्‍थिन्, ‘मेरो झगडिया र मेरो बीचमा न्‍याय गरिदिनुहोस्।’ 4केही दिनसम्‍म त उनले विधवाको कुरै सुनेनन्। तर पछि तिनले मनमनै भने, ‘हुन त मलाई परमेश्‍वरको डर पनि छैन र मानिसको वास्‍ता पनि छैन! 5तर यस विधवाले साह्रै दु:ख दिएकीले यसको कुरा विचार गरिदिनुपर्ला। नत्र यसले एकोहोरो आएर मलाई कचकच गरिरहन्‍छे र वाक्‍कै पार्छे’।”
6अनि प्रभुले भन्‍नुभयो, “त्‍यो कठोर अन्‍यायी न्‍यायाधीशको कुरा याद राख। 7त्‍यसरी नै दिन-रात परमेश्‍वरलाई पुकार्ने आफ्‍ना जनहरूलाई उहाँले अन्‍यायबाट जोगाउनुहुन्‍न र? के उहाँले आफ्‍नाहरूलाई सहायता गर्न ढीलो गर्नुहोला र? 8म तिमीहरूलाई भन्‍छु, उहाँले आफ्‍नाहरूलाई चाँडै अन्‍यायबाट बचाउनुहुनेछ। तर मानव पुत्र आउँदा के उसले पृथ्‍वीमा विश्‍वास भेट्टाउला?”
प्रार्थना चढाउने दुई जना मानिस
9आफैंलाई मात्र धर्मी सम्‍झिने र अरूलाई हेला गर्ने मानिसहरूलाई येशूले दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, 10“फरिसी र कर उठाउने दुई मानिस मन्‍दिरमा प्रार्थना गर्न गए।
11फरिसीले अलग्‍गै उभिएर यसरी प्रार्थना गर्‍यो, ‘हे पिता, म तपाईंलाई धन्‍यवाद चढाउँछु किनकि म अरू मानिसजस्‍तो लोभी र बेइमानी छैनँ। मैले व्‍यभिचार गरेको छैनँ। म यो कर उठाउने मानिसजस्‍तो छैनँ। 12म सातामा दुईपल्‍ट उपवास बस्‍छु र मैले पाएका सबै कुराको दश भागको एक भाग तपाईंलाई चढाउँछु।’
13तर कर उठाउने मानिसले चाहिँ टाढै उभिएर स्‍वर्गतिर हेर्ने आँटसम्‍म नगरी छाती पिट्दै भन्‍यो, ‘हे परमेश्‍वर, म पापीमाथि दया गर्नुहोस्’!” 14#मत्ती 23:12; लूका 14:11अनि येशूले कुरा टुङ्ग्‍याउँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍छु, त्‍यो फरिसी होइन बरु कर उठाउने मानिसचाहिँ परमेश्‍वरको सामुन्‍ने ठीक ठहरिएर घर फर्कियो। आफैं ठूलो हुन खोज्‍नेहरू सबै होच्‍याइनेछन् र आफैंलाई होच्‍याउनेहरू उच्‍च पारिनेछन्।”
बालकहरूलाई आशीर्वाद
(मत्ती १९:१३-१५; मर्कूस १०:१३-१६)
15येशूले आफ्‍नो हात राखेर आशिष् देऊन् भनेर मानिसहरूले आफ्‍ना साना बाल-बालिकाहरूलाई उहाँकहाँ ल्‍याए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्‍काए। 16तर येशूले तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्‍वरको राज्‍य त यस्‍तैहरूको लागि नै हो। 17साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यलाई बालकहरूले जस्‍तै ग्रहण नगरेसम्‍म कोही पनि त्‍यसभित्र पस्‍न पाउनेछैनन्।”
धनी मानिसको समस्‍या
(मत्ती १९:१६-३०; मर्कूस १०:१७-३१)
18कुनै एक जना इस्राएली शासकले येशूलाई सोधे, “हे असल गुरु, अजम्‍मरी जीवन पाउन मैले के गर्नुपर्छ?” 19येशूले तिनलाई भन्‍नुभयो, “तिमी किन मलाई असल भन्‍छौ? परमेश्‍वरबाहेक कोही पनि असल छैन। 20#प्रस्‍थान 20:14; व्यवस्था 5:18; प्रस्‍थान 20:13; व्यवस्था 5:17; प्रस्‍थान 20:15; व्यवस्था 5:19; प्रस्‍थान 20:16; व्यवस्था 5:20; प्रस्‍थान 20:12; व्यवस्था 5:16परमेश्‍वरका व्यवस्थाका आज्ञाहरू त तिमीलाई थाहै छ, व्‍यभिचार नगर्नू, मान्‍छे नमार्नू, नचोर्नू, झूटो साक्षी नदिनू अनि आमा-बुबाको आदर गर्नू।” 21तिनले जवाफ दिए, “यी सबै आज्ञा त मैले सानैदेखि मान्‍दै आएको छु।” 22यो सुनेर येशूले तिनलाई भन्‍नुभयो, “तिमीले अझै एउटा काम गर्न बाँकी छ, तिमीसँग भएका सबै कुरा बेचेर गरीबहरूलाई बाँडिदेऊ र तिमीले स्‍वर्गीय धन पाउनेछौ अनि मेरो पछि लाग।” 23यो कुरा सुनेर तिनी साह्रै खिन्‍न भए किनभने तिनी असाध्‍यै धनी थिए।
24तिनी खिन्‍न भएको देखेर येशूले भन्‍नुभयो, “देख्‍यौ त, धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍न कस्‍तो गाह्रो हुँदो रहेछ। 25धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा पस्‍नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला!” 26यो कुरा सुन्‍नेहरूले उहाँलाई सोधे, “त्‍यसो भए कसले मुक्ति पाउन सक्‍छ त?” 27येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “यो मानिसबाट हुनै नसक्‍ने काम भए पनि परमेश्‍वरबाट चाहिँ हुन सक्‍छ।”
28तब पत्रुसले भने, “हेर्नुहोस्, हामीले घरबार नै छोडेर तपाईंलाई पछ्याएका छौं।” 29येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यको निम्‍ति आफ्‍ना आमा-बुबा, दाजुभाइ, जहान, छोरा-छोरी र घरबार छोड्‍नेले 30अहिले नै त्‍योभन्दा बढी पाउनेछ अनि आउने युगमा चाहिँ अजम्‍मरी जीवन पाउनेछ।”
येशूले फेरि आफ्‍नो मृत्‍युको चर्चा गर्नुभएको
(मत्ती २०:१७-१९; मर्कूस १०:३२-३४)
31येशूले बाह्र जना चेलाहरूलाई एकातिर बोलाएर भन्‍नुभयो, “सुन, हामी यरूशलेम जाँदै छौं। अगमवक्ताहरूले मानव पुत्रको बारेमा लेखेका सबै कुराहरू अब त्‍यहाँ पूरा हुनेछन्। 32ऊ अरू जातिहरूको हातमा पर्नेछ। तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, बेइज्‍जत गर्नेछन्, थुक्‍नेछन्, 33कोर्रा लाउनेछन् र मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” 34तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। यो त तिनीहरूको लागि रहस्‍य नै भयो। उहाँले के भन्‍नुभएको हो, तिनीहरूले विचारै गर्न सकेनन्।
एक जना अन्‍धो देख्‍ने भएको
(मत्ती २०:२९-३४; मर्कूस १०:४६-५२)
35येशू यरीहो सहरमा पुग्‍न लाग्‍नुहुँदा एक अन्‍धो बाटोको छेउमा बसेर मागिरहेथ्‍यो। 36धेरै मानिसहरू गइरहेको थाहा पाएर त्‍यस अन्‍धो माग्‍नेले सोध्‍यो, “हैन, के हुँदै छ हँ?” 37मानिसहरूले उसलाई भने, “नासरतका येशू जाँदै हुनुहुन्‍छ।” 38यो सुनेर त्‍यो अन्‍धाले चिच्‍च्‍याएर भन्‍यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” 39अघिअघि जानेहरूले उसलाई चुप लाग् भनेर हकारे। तर उसले झन् साह्रो गरी चिच्‍च्‍याएर भन्‍यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” 40हिँड्दाहिँड्दै टक्‍क अडिएर येशूले ‘उसलाई यहाँ ल्‍याओ’ भन्‍नुभयो। त्‍यो अन्‍धो माग्‍ने आयो र येशूले सोध्‍नुभयो, 41“तिम्रो लागि मैले के गर्नुपर्छ?” “हजुर, म आँखा देख्‍न पाऊँ!” अन्‍धाले बिन्‍ती चढायो। 42येशूले भन्‍नुभयो, “तिम्रो विश्‍वासले गर्दा अब तिमी आँखा देख्‍ने भयौ।” 43त्‍यति नै खेर ऊ आँखा देख्‍नेभयो र परमेश्‍वरको गुण गाउँदै येशूको पछि लाग्‍यो। यो देखेर अरू मानिसहरूले पनि परमेश्‍वरको महिमा गरे।

Нагласи

Сподели

Копирај

None

Дали сакаш да ги зачуваш Нагласувањата на сите твои уреди? Пријави се или најави се