YouVersion logotips
Meklēt ikonu

जकरिया 12

12
भविष्‍यमा यरूशलेमको छुटकारा
1परमप्रभु, जसले उच्‍चमा आकाश फैलाउनुभयो, पृथ्‍वी रच्‍नुभयो र मानिसलाई जीवन दिनुभयो, उहाँले इस्राएलबारे एउटा सन्‍देश दिनुभयो। उहाँ भन्‍नुहुन्‍छ, 2“म यरूशलेमलाई मद्यको कचौराझैँ बनाउनेछु। चारैतिरका जातिहरू त्‍यो मद्य पिएर धरमराउनेछन्। तिनीहरूले यरूशलेमलाई घेरामा हाल्‍दा यहूदालाई पनि घेरामा पार्नेछन्। 3त्‍यो समय आउँदा पृथ्‍वीका सारा जातिहरू त्‍यसको विरुद्धमा आक्रमण गर्न आ-आफ्‍ना सेना भेला गर्नेछन्। तर म यरूशलेमलाई एउटा गह्रौं ढुङ्गोझैँ बनाउनेछु। त्‍यसलाई उचाल्‍न खोज्‍ने जुनै जाति पनि आफैं घाइते हुनेछ। 4त्‍यस बेला म तिनीहरूका सबै घोडाहरूलाई तर्साउनेछु र सवारहरूलाई बौलाहा तुल्‍याउनेछु। म यहूदाका मानिसहरूलाई रक्षा गर्नेछु तर तिनीहरूका शत्रुहरूका घोडाहरूलाई अन्‍धा पारिदिनेछु। 5तब यहूदाका अगुवाहरूले आपसमा यसो भन्‍नेछन्, ‘परमप्रभु सर्वशक्तिमान् परमेश्‍वरले यरूशलेममा बास गर्ने आफ्‍नो प्रजालाई बल दिनुहुन्‍छ।’
6“त्‍यस बेला यहूदाका अगुवाहरूलाई म जङ्गलको वा अन्‍नबाली पाकिरहेको खेतमा सल्‍केको डढेलोझैँ बनाउनेछु। चारैपट्टिका सबै जातिहरूलाई तिनीहरूले भस्‍म पार्नेछन्। तर यरूशलेमका मानिसहरू भने सहरमा सुरक्षित रहनेछन्।
7“पहिले म परमप्रभुले यहूदाका सेनाहरूलाई विजय दिनेछु र दाऊदका सन्‍तानहरू र यरूशलेमका बासिन्‍दाहरूले पाएका सम्‍मान् यहूदाको बाँकी भागले पाएको सम्‍मान्‌भन्दा बढी हुनेछैन। 8त्‍यस बेला यरूशलेमका बासिन्‍दाहरूलाई परमप्रभुले रक्षा गर्नुहुनेछ र तिनीहरूमाझका सबैभन्दा दुर्बल पनि दाऊद जत्तिकै बलियो बन्‍नेछ। दाऊदका सन्‍तानहरूले परमप्रभुको दूतले झैँ, अँ, परमेश्‍वर आफैंले झैँ तिनीहरूको अगुवाइ गर्नेछन्। 9त्‍यस बेला यरूशलेममाथि आक्रमण गर्न खोज्‍ने हरेक जातिलाई म नाश गर्नेछु।
10 # यूहन्‍ना 19:37; प्रकाश 1:7 # मत्ती 24:20; प्रकाश 1:7 “दाऊदका सन्‍तानहरू र यरूशलेमका अरू मानिसहरूलाई दया र प्रार्थनाको आत्‍माले भरपूर पार्नेछु। तिनीहरूले आफूले घोचेर मारेको मानिसलाई हेर्नेछन् र मानिसहरूले एउटै मात्र सन्‍तानमाथि बिलौना गरेझैँ त्‍यसको निम्‍ति तिनीहरूले बिलौना गर्नेछन्। आफ्‍नो जेठो छोरो मर्दा गरेजस्‍तो तिनीहरूले ठूलो शोक गर्नेछन्। 11त्‍यस बेला यरूशलेममा गरेको विलाप मगिद्दोको मैदानमा हदद-रिम्‍मोनको निम्‍ति गरिएको विलापजस्‍तै हुनेछ। 12-14देशको हरेक परिवारले आ-आफ्‍नै शोक मनाउनेछ; दाऊदका घराना, नातानका घराना, लेवीका घराना, शिमीका घराना र अन्‍य घरानाकाहरूले छुट्टाछुट्टै शोक गर्नेछन्। परिवारपरिवारका पुरुष र स्‍त्रीहरूले छुट्टाछुट्टै आ-आफ्‍नै शोक मनाउनेछन्।”

Izceltais

Dalīties

Kopēt

None

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties