लेवी 5

5
पापका बलिहरू
1यी तल लेखिएका दोषहरूका निम्‍ति पापबलि चढाइनुपर्छ।
यदि कसैलाई साक्षी दिन अदालतमा हाजिर हुने आदेश भएको छ र त्‍यसले आफूले देखेको वा सुनेको कुरा भन्‍दैन भने त्‍यसले फल भोग्‍नुपर्छ।
2यदि कसैले भुल-चुकमा कुनै मरेको पशुको लाशजस्‍तो अशुद्ध कुरा छोयो भने रीतिअनुसार, त्‍यो अशुद्ध हुनेछ र त्‍यसले त्‍यो थाहा पाउनेबित्तिकै दोषी ठहरिनेछ।
3यदि कसैले भुल-चुकमा मानिसबाट निस्‍केको अशुद्ध कुरो छोयो भने उसलाई थाहा हुनेबित्तिकै ऊ दोषी ठहरिनेछ।
4यदि कसैले कुनै कुरामा सोच-विचार नगरी किरिया खायो भने जब त्‍यसलाई आफूले गरेको दोष थाहा हुन्‍छ, तब ऊ दोषी ठहरिनेछ।
5यसरी कोही मानिस दोषी ठहरियो भने त्‍यसले आफ्‍नो पाप स्‍वीकार गरोस् 6र त्‍यसको दण्‍डको रूपमा पापबलिको लागि त्‍यसले परमप्रभुको लागि एउटा पाठी वा भेडी ल्‍याओस्। पूजाहारीले त्‍यस मानिसको पापको लागि त्‍यो बलि चढाओस्।
7त्‍यस मानिसले भेडी वा पाठी ल्‍याउन सक्‍दैन भने त्‍यसले परमप्रभुकहाँ आफ्‍नो पापको दाम तिर्न एक जोर परेवा कि ढुकुर ल्‍याओस्, त्‍यसबाट एउटा पापबलि र अर्को होमबलि हुनेछ। 8ती त्‍यसले पूजाहारीकहाँ टक्र्याउनेछ र पूजाहारीले पहिले पापबलिको लागि पंक्षी चढाउनेछ। पंक्षीको मुन्‍टो पूजाहारीले टाउको नचुँडाई भाँचिदेओस् 9र केही रगत वेदीको एक छेउमा छर्किदेओस्। बाँकी रगत वेदीको फेदमा निथारिओस्। यो पाप काट्‍ने बलि हो। 10तब त्‍यसले दोस्रो पंक्षी नियमअनुसार होमबलि गरोस्। यस प्रकारले मानिसको पापको लागि पूजाहारीले बलि चढाउनेछ र त्‍यसले क्षमा पाउनेछ।
11त्‍यस मानिसले एक जोर परेवा कि ढुकुर पनि ल्‍याउन सकेन भने त्‍यसले एक किलोग्राम पिठो पापबलिको लागि ल्‍याओस्। त्‍यसमाथि जैतुनको तेल वा धूप नराखोस् किनभने त्‍यो पापबलि हो, अन्‍नबलि होइन। 12त्‍यसले पूजाहारीकहाँ पिठो ल्‍याओस्। पूजाहारीले जम्‍मै पिठो परमप्रभुलाई चढाएको चिन्‍हको रूपमा त्‍यसबाट एक मुट्ठी लिएर वेदीमाथि अन्‍नबलि चढाएर जलाओस्। त्‍यो पाप काट्‍ने बलि हो। 13यस प्रकारले मानिसको पापको लागि पूजाहारीले बलि चढाउने र त्‍यसले क्षमा पाउनेछ। अन्‍नबलि चढाउँदाजस्‍तै उब्रेको पीठो पूजाहारीको भाग हो।
दोषबलि
14परमप्रभुले मोशालाई यस्‍तो नियम दिनुभयो। 15यदि कसैले परमप्रभुलाई दिनुपर्ने पवित्र भेटीहरू दिन भुलेर अन्‍जानमा पाप गर्‍यो भने त्‍यसले एउटा निष्‍खोट भेडा वा बोको परमप्रभुकहाँ दोषबलिको रूपमा ल्‍याओस्। त्‍यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्छ। 16त्‍यसले आफूले नचढाएको भेटीको मोल र त्‍यसमाथि त्‍यसको अरू पाँचौँ भाग थपेर दिनुपर्नेछ। उसले त्‍यो पूजाहारीलाई देओस्। पूजाहारीले त्‍यो पशु त्‍यस मानिसको पापको लागि बलि चढाओस् र त्‍यसले क्षमा पाउनेछ।
17कसैले अन्‍जानमा परमप्रभुको कुनै आज्ञा तोडेर पाप गर्‍यो भने त्‍यो दोषी ठहरिनेछ र त्‍यसले दण्‍ड तिर्नुपर्नेछ। 18त्‍यसले पूजाहारीकहाँ एउटा निष्‍खोट भेडा वा बोको दोषबलिको रूपमा ल्‍याओस्। त्‍यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्नेछ। पूजाहारीले त्‍यो पशु त्‍यस मानिसको पापको लागि बलि चढाओस् र त्‍यसले क्षमा पाउनेछ। 19त्‍यसले परमप्रभुको विरुद्धमा गरेको पापको लागि त्‍यो एउटा दोषबलि हो।

ハイライト

シェア

コピー

None

すべてのデバイスで、ハイライト箇所を保存したいですか? サインアップまたはサインインしてください。