लूका 3
3
बप्तिस्मा दिने यूहन्नाको कार्य
1रोमी सम्राट सिजर तिबेरिअसको शासनकालको पन्ध्रौँ वर्षमा, जब पन्तियस पिलातस यहूदिया प्रदेशका राज्यपाल, हेरोद गालील प्रदेशका शासक, उनका भाइ फिलिप इतुरिया र त्राखोनितिस प्रदेशका शासक, र लुसानियास अबिलेने प्रदेशका शासक थिए, 2तब हन्नास र कैयाफा प्रधान पुजारी भएको समयमा परमेश्वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्नाकहाँ आयो। 3तिनी पाप क्षमाका लागि पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै यर्दन नदीका वरपर सबै इलाकातर्फ गए। 4जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ:
“उजाडस्थानमा एक जना कराउनेको आवाज,
‘प्रभुका निम्ति बाटो तयार पार,
उहाँका निम्ति मार्ग सीधा बनाओ।
5प्रत्येक उपत्यका पुरिनेछ,
प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ;
बाङ्गा-टिङ्गा बाटाहरू सीधा पारिनेछन्।
अप्ठेरा बाटाहरू समतल हुनेछन्।
6अनि सबै मानव जातिले परमेश्वरको मुक्ति देख्नेछन्।’ ”#3:6 यशै 40:3‑5
7यूहन्नाले तिनीबाट बप्तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तान हो! आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? 8पश्चात्ताप अनुसारको फल फलाओ, र आफैँ, ‘हामी अब्राहामका सन्तान हौँ’ भन्ने नठान; किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। 9रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।”
10त्यसपछि भीडले सोध्यो, “त्यसो भए हामीले के गरौँ त?”
11यूहन्नाले जवाफ दिए, “आफूसँग दुई वटा दौरा हुने मानिसले नहुनेलाई एउटा देओस्; र जससँग भोजन छ, त्यसले पनि त्यसै गरोस्।”
12कर उठाउनेहरू#3:12 जसले यहूदीहरूसँग रोमीहरूका निम्ति धेरै नै कर उठाउँदथे। त्यसैले यहूदीहरूले उनीहरूलाई घृणा गर्थे र मानिसहरूले कर उठाउनेलाई पापीको रूपमा मान्दथे। पनि बप्तिस्मा लिन आए, र तिनीहरूले सोधे, “गुरुज्यू, हामी के गरौँ?”
13तिनले उनीहरूलाई भने, “तिमीलाई जति खटाइएको छ, त्योभन्दा बढी नलेओ।”
14त्यसपछि केही सिपाहीहरू आएर सोधे, “हामीले चाहिँ के गरौँ त?”
तिनले जवाफ दिए, “कसैलाई नलुट, र मानिसहरूलाई झूटो आरोप नलगाओ। आफ्नो तलबमा सन्तुष्ट रहो।”
15मानिसहरू आशामा पर्खिरहेका थिए, र सबैले आ-आफ्ना मनमा कतै यूहन्ना नै ख्रीष्ट हुन् कि भनी विचार गरिरहेका थिए। 16तब यूहन्नाले तिनीहरू सबैलाई जवाफ दिँदै भने, “म त तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु; तर मभन्दा शक्तिशाली एक जना आउँदैहुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जत्तिको योग्यको पनि म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। 17उहाँको खला सफा गर्न उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ; तर भुसलाई उहाँले कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ।” 18अनि अरू पनि यस्तै वचनद्वारा यूहन्नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे।
19तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेका कारण र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्नाले उनलाई हप्काए, 20तब यूहन्नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे।
येशूको बप्तिस्मा
21जब धेरै मानिसहरूले बप्तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो। 22अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।”
23अब येशू आफैँले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करिब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका छोरा हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए।
योसेफ हेलीका छोरा थिए, 24हेली मत्तातका छोरा,
मत्तात लेवीका छोरा, लेवी मल्कीका छोरा,
मल्की यन्नाईका छोरा, यन्नाई योसेफका छोरा,
25योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा,
आमोस नहूमका छोरा, नहूम इसलीका छोरा,
इसली नग्गैका छोरा, 26नग्गै माथका छोरा,
माथ मत्ताथियाहका छोरा, मत्ताथियाह सेमैनका छोरा,
सेमैन योसेखका छोरा, योसेख योदाका छोरा,
27योदा योआननका छोरा, योआनन रेसाका छोरा,
रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा,
शालतिएल नेरीका छोरा, 28नेरी मल्कीका छोरा,
मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा,
कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा,
29एर यहोशूका छोरा, यहोशू एलीएजरका छोरा,
एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा,
मत्तात लेवीका छोरा, 30लेवी शिमियोनका छोरा,
शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा,
योसेफ योनामका छोरा, योनाम एल्याकीमका छोरा,
31एल्याकीम मलेआका छोरा, मलेआ मिन्नाका छोरा,
मिन्ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा,
नातान दावीदका छोरा, 32दावीद यिशैका छोरा,
यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा,
बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा,
33नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा,
आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा,
फारेस यहूदाका छोरा, 34यहूदा याकोबका छोरा,
याकोब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा,
अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,
35नाहोर सरूगका छोरा, सरूग रऊका छोरा,
रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा,
एबेर शेलहका छोरा, 36शेलह केनानका छोरा,
केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा,
शेम नोआका छोरा, नोआ लेमेखका छोरा, 37लेमेख मतूशेलहका छोरा,
मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा,
येरेद महलालेलका छोरा,
महलालेल केनानका छोरा, 38केनान एनोशका छोरा,
एनोश शेतका छोरा, शेत आदमका छोरा,
अनि आदम परमेश्वरका छोरा#3:38 शारीरिक नभई सिर्जना गरिएको कारणले थिए।
Trenutno odabrano:
लूका 3: NCV
Istaknuto
Kopiraj
Usporedi
Podijeli
Želiš li svoje istaknute stihove spremiti na sve svoje uređaje? Prijavi se ili registriraj
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.