उत्पत्ति 33
33
याकूब र एसावको शान्तिपूर्वक भेटघाट
1याकूबले आफ्ना आँखा उठाएर हेर्दा एसाव र तिनका साथमा चार सय मानिसहरू आइरहेका देखे। तिनले आफ्ना छोराछोरीहरूलाई लेआ, राहेल र दुई कमारीहरूको जिम्मामा विभक्त गरिदिए। 2तिनले कमारीहरू र तिनका छोराहरूलाई सबैभन्दा अगाड़ि, त्यसपछि लेआ र तिनका छोराछोरीहरू, र राहेल र योसेफलाई सबैभन्दा पछि राखे। 3तिनीहरू सबैका अगि तिनी आफैचाहिँ आफ्ना दाजुको नजिक नपुगुञ्जेल सात चोटि भूइँमा ढोग्दैगए।
4तर एसाव तिनीकहाँ दौडँदै आएर तिनलाई अँगालो हाले, र छातीमा टाँसेर तिनलाई म्वाइँ खाए, र तिनीहरू दुवै खूब रोए। 5तब एसावले यसो हेर्दा ती स्त्रीहरू र केटाकेटीहरूलाई देखेर भने, “तिमीसँग भएका यिनीहरूचाहिँ को हुन्?”
याकूबले भने, “परमेश्वरले हजूरको दासलाई अनुग्रह गरी दिनुभएका मेरा बालबच्चा हुन्।”
6तब कमारीहरू र तिनका छोराछोरीहरू नजिक आएर एसावलाई ढोग गरे। 7त्यसपछि लेआ र तिनका छोराछोरीहरू आएर ढोग गरे। सबभन्दा पछि योसेफ र राहेल आए, र तिनीहरूले पनि ढोग गरे।
8एसावले याकूबलाई सोधे, “मैले भेटेका यी सबै बथानको अर्थ के हो?”
याकूबले जवाफ दिए, “मैले हजूरबाट अनुग्रह पाउनलाई हो।”
9तर एसावले भने, “भाइ, मसँग प्रशस्तै छ। तिम्रो जो छ तिमीसँगै रहोस्।”
10याकूबले भने, “होइन, तपाईंको निगाह ममाथि छ भने कृपा गरी मेरो हातको यो सौगात ग्रहण गर्नुहोस्। किनभने यति ठूलो निगाह देखाएर तपाईंले मलाई स्वागत गर्नुभयो कि साँच्ची नै तपाईंको दर्शन पाउँदा मलाई त परमेश्वरकै दर्शन पाएझैँ लाग्यो। 11अब बिन्ती छ, तपाईंलाई नै भनेर ल्याएको मेरो यो सौगात ग्रहण गर्नुहोस्, किनभने परमेश्वरको अनुग्रह ममाथि भएको हुनाले मसँग प्रशस्तै छ।” यसरी याकूबले जिद्दी गरे, र एसावले ती लिए।
12तब एसावले भने, “अब हामी अगि बढ़ौं। म तिमीलाई साथ दिनेछु।”
13तर याकूबले उनलाई भने, “हजूरलाई जाहेरै छ कि यी केटाकेटीहरू कलिलै छन्, र दुहुना बथानहरूको मलाई फिक्री लाग्छ। तिनीहरूलाई एकै दिन पनि बेसी धपाए भने सबै मरिजालान्। 14यसकारण म हजूरलाई बिन्ती गर्दछु, कि तपाईं नै मभन्दा अगि जानुहोस्। मचाहिँ मभन्दा अगाड़ि गएका गाईबस्तुहरू र यी बालबच्चाहरूको चालअनुसार हजूरकहाँ सेइरमा नआइपुगुञ्जेल बिस्तार हिँड़ेर आउनेछु।”
15एसावले भने, “मसँग भएका केही मानिसहरू तिमीसित छोड़िदिनेछु।”
तर याकूबले भने, “यसको दरकार होला र? हजूरको निगाह मात्र ममाथि रहोस्।”
16यसैले एसाव त्यही दिन सेइरमा फर्के। 17तर याकूबचाहिँ सुक्कोततिर लागे, र आफ्नो लागि एउटा डेरा र गाईबस्तुलाई छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँको नाउँ सुक्कोत राखियो।
18याकूब पद्दन-आरामबाट हिँड़ेर गएपछि कनानको शकेम भन्ने एउटा सहरमा कुशलसाथ आइपुगे, र त्यस सहरको अगि आफ्नो पाल टाँगेर वास गरे। 19आफूले पाल टाँगेको जग्गा शकेमका बाबु हमोरका छोराहरूबाट तिनले एक सय चाँदीका टुक्रा दाम हालेर किने। #यहो २४:३२; यूह ४:५ 20त्यहाँ तिनले एउटा वेदी बनाएर त्यसको नाउँ एल-एलोह-इस्राएल राखे।
Tällä hetkellä valittuna:
उत्पत्ति 33: NNRV
Korostus
Kopioi
Vertaa
Jaa
Haluatko, että korostuksesi tallennetaan kaikille laitteillesi? Rekisteröidy tai kirjaudu sisään
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012