उत्पत्ति 33
33
याकोबले एसावलाई भेटेका
1याकोबले आँखा उठाएर हेर्दा एसावलाई चार सय मानिसहरूसित आइरहेका देखे; अनि तिनले छोराछोरीहरूलाई लेआ, राहेल र दुई सेविकाहरूका बीचमा विभाजन गरे। 2तिनले सबैभन्दा अगि सेविकाहरू र तिनीहरूका छोराछोरीहरूलाई राखे; त्यसपछि लेआ र तिनका छोराछोरीहरूलाई, र राहेल र योसेफलाई सबैभन्दा पछाडि राखे। 3तिनी आफैँचाहिँ सबैभन्दा अगि बढेर आफ्ना दाजुको नजिक आइपुग्दा सात पटक भुइँसम्मै निहुरेर दण्डवत् गरे।
4तर एसाव याकोबलाई भेट्न दौडेर गए, तिनलाई अँगालो हाले र तिनले म्वाइँ खाए; अनि तिनीहरू दुवै धुरुधुरु रोए। 5तब एसावले आँखा उठाएर हेरे, र ती स्त्रीहरू र बालबच्चाहरूलाई देखे। तब तिनले सोधे, “तिमीसित भएका यिनीहरू को हुन्?”
याकोबले जवाफ दिए, “यिनीहरू परमेश्वरले कृपा गर्नुभएर तपाईंको सेवकलाई दिनुभएका छोराछोरीहरू हुन्।”
6तब ती सेविकाहरू र तिनीहरूका छोराछोरीले पनि नजिक आएर दण्डवत् गरे। 7त्यसपछि लेआ र तिनका छोराछोरी आएर दण्डवत् गरे। आखिरमा योसेफ र राहेल पनि आए, र दण्डवत् गरे।
8एसावले सोधे, “मैले भेटेका यी सबै बगाल र बथानको अर्थ के हो?”
याकोबले जवाफ दिए, “मेरा मालिक, तपाईंको दृष्टिमा मैले निगाह पाउन सकूँ भनेर हो।”
9तर एसावले भने, “मेरो भाइ, मसित प्रशस्त छँदैछ। तिमीसित भएका तिम्रै लागि राख।”
10याकोबले भने, “होइन, यदि मैले तपाईंको दृष्टिमा निगाह प्राप्त गरेको छु भने कृपया मबाट यो उपहार ग्रहण गर्नुहोस्; किनभने तपाईंले ममाथि यति ठूलो निगाह देखाएर स्वीकार गर्नुभएकोले, तपाईंको दर्शन पाउँदा परमेश्वरको दर्शन पाएझैँ भयो। 11तपाईंकहाँ ल्याइएको मेरो उपहार ग्रहण गर्नुहोस्; किनकि परमेश्वरको अनुग्रहको कारणले मलाई चाहिएका सबै कुरा छन्।” अनि याकोबले कर गरेको कारण एसावले त्यो ग्रहण गरे।
12तब एसावले भने, “अब हामी आफ्नो बाटो लागौँ; अनि म तिमीसित जानेछु।”
13तर याकोबले भने, “मेरा मालिकलाई थाहै छ, यी छोराछोरीहरू कलिला छन्; र मैले बथानहरूका दूध खुवाउने भेडीहरू र गाईहरू र तिनीहरूका बच्चाहरूको हेरचाह गर्नुपर्छ। 14यसकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईं नै मभन्दा अगि जानुहोस्। मचाहिँ मेरा मालिककहाँ सेइरमा नपुगुन्जेल अगाडि भएका बथानहरू, बगालहरू र बालबच्चाहरूको चालमा बिस्तारै हिँडेर आउनेछु।”
15एसावले भने, “त्यसो भए म मेरा केही मानिसहरू तिमीसित छोडिदिनेछु।”
याकोबले सोधे, “तर त्यसो गर्नु आवश्यक होला र? मलाई केवल मेरा मालिकको दृष्टिमा निगाह पाउन दिनुहोस्।”
16यसकारण त्यही दिन एसाव सेइरतिर फर्कन आफ्नो बाटो लागे। 17तर याकोबचाहिँ सुक्कोतमा गए, जहाँ तिनले आफ्नै लागि र आफ्ना गाईबस्तुका लागि छाप्राहरू बनाए। यसैकारण त्यस ठाउँलाई सुक्कोत#33:17 सुक्कोत जसको अर्थ छाप्रो। भनियो।
18याकोब पद्दन-अरामबाट#33:18 अथवा, उत्तर-पश्चिमी मेसोपोटामिया। आउँदा तिनी कनानको शेकेम सहरमा सुरक्षित आइपुगे, र त्यस सहरको छेवैमा पाल टाँगेर बसे। 19तिनले शेकेमका बुबा हामोरका छोराहरूबाट, एक सय#33:19 एक सय मूल भाषामा केसिटाह केसिटाह अज्ञात तौल र मूल्यको पैसाको एकाइ थियो। चाँदीका टुक्राहरू तिरेर एक टुक्रा जमिन किने, जहाँ तिनले आफ्नो पाल टाँगे। 20अनि तिनले त्यहाँ एउटा वेदी खडा गरे, र त्यसलाई एल-एलोहे-इस्राएल#33:20 एल-एलोहे-इस्राएल जसको अर्थ इस्राएलका परमेश्वर शक्तिशाली हुनुहुन्छ। भने।
Actualmente seleccionado:
उत्पत्ति 33: NCV
Destacar
Copiar
Comparar
Compartir
¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.