Logo de YouVersion
Icono de búsqueda

उत्पत्ति 29

29
याकोब पद्दन-अराममा आइपुगेका
1तब याकोबले आफ्नो यात्रा जारी गर्दैगए, र पूर्वका जातिहरूको देशमा आए। 2तब उनले त्यहाँ खुला मैदानमा एउटा इनार देखे, जसको छेउमा तीन बगाल भेडाबाख्राहरू बसिरहेका थिए। किनकि गोठालाहरूले त्यही इनारबाट आफ्ना बगाललाई पानी पियाउने गर्थे। इनारको मुखमा राखिएको ढुङ्गा ठूलो थियो। 3जब सबै बगालहरू त्यहाँ भेला हुन्थे; गोठालाहरूले इनारको मुखबाट ढुङ्गा हटाइदिन्थे, र भेडाहरूलाई पानी पियाउँथे। त्यसपछि तिनीहरूले त्यस ढुङ्गालाई फेरि गुडाउँदै ल्याएर इनारको मुख छोपिदिन्थे।
4याकोबले ती गोठालाहरूलाई सोधे, “मेरा भाइहरू हो, तपाईंहरू कुन ठाउँबाट आउनुभएको हो?”
तिनीहरूले जवाफ दिए, “हामी हारानबाट आएका हौँ।”
5तिनले तिनीहरूलाई भने, “के तपाईंहरू नाहोरका नाति लाबानलाई चिन्‍नुहुन्छ?”
तिनीहरूले जवाफ दिए, “हजुर, हामी उहाँलाई चिन्छौँ।”
6तब याकोबले तिनीहरूलाई सोधे, “के उहाँ कुशलै हुनुहुन्छ?”
तिनीहरूले भने, “ज्यू, उहाँ कुशलै हुनुहुन्छ; हेर्नुहोस्, भेडाहरू लिएर आउँदै गरेकी ती केटी उहाँकै छोरी राहेल हुन्।”
7तिनले भने, “हेर्नुहोस्, घाम अझसम्म आकाशमाथि नै छ। यतिखेर बगाललाई भेला गराउने समय भएको छैन। भेडाबाख्राहरूलाई पानी पियाउनुहोस्; र फेरि चराउन लानुहोस्।”
8तिनीहरूले भने, “सबै बगाल भेला नभएसम्म इनारको मुखबाट हामी ढुङ्गा हटाउन सक्दैनौँ। त्यसपछि हामी भेडाबाख्राहरूलाई पानी पियाउँछौँ।”
9याकोब उनीहरूसित कुरा गर्दैगर्दा राहेल आफ्ना पिताका भेडाहरू लिएर आइपुगिन्; किनकि तिनी भेडा गोठाल्नी थिइन्। 10जब याकोबले आफ्नी आमाका दाजु लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, तब तिनी गएर इनारको मुखबाट ढुङ्गा हटाएर आफ्ना मामाका भेडाहरूलाई पानी पियाए। 11तब याकोबले राहेललाई म्वाइँ खाए, र डाँको छोडेर रुन लागे। 12याकोबले राहेललाई आफू तिनका पिताका नातेदार र रिबेकाको छोरो हुँ भनेर बताए। त्यसैले राहेल दगुरेर गइन्, र आफ्ना पितालाई भनिन्।
13लाबानले जब आफ्नी बहिनीको छोरा याकोबको विषयमा खबर सुने, तब तिनी उनलाई भेट्न हतारसाथ गए। तिनले उनलाई अङ्कमाल गरे, र म्वाइँ खाए, र तिनलाई घरमा ल्याए; अनि याकोबले तिनलाई त्यहाँ यी सबै कुराहरू भनिदिए। 14तब लाबानले भने, “तिमी मेरै मासु र रगत हौ।”
याकोबले लेआ र राहेललाई विवाह गरेका
याकोब तिनीसित एक महिना बसेपछि, 15लाबानले याकोबलाई भने, “हुन त तिमी मेरा नातेदार हौ, तर यसो भन्दैमा तिमीले सित्तैँमा मेरो सेवा गर्नुपर्छ र? तिम्रो ज्याला कति हुनुपर्ने हो, मलाई भन।”
16लाबानका दुई छोरीहरू थिए; जेठीको नाम लेआ, र कान्छीको नाम राहेल थियो। 17लेआका आँखा कमजोर#29:17 मूल भाषामा यसको अर्थ प्रष्‍ट छैन। थिए, तर राहेलचाहिँ राम्रो बनोट भएकी र सुन्दरी थिइन्। 18याकोबले राहेललाई प्रेम गर्थे, त्यसैले उनले लाबानलाई भने, “म तपाईंकी कान्छी छोरी राहेलका निम्ति तपाईंसित सात वर्ष सेवा गर्नेछु।”
19लाबानले भने, “मैले यसलाई अरू मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो। मसित यहीँ बस।” 20यसकारण राहेललाई पाउनका लागि याकोबले सात वर्षसम्म सेवा गरे; तर तिनले उनलाई प्रेम गरेको कारण याकोबका लागि ती थोरै दिनजस्तो मात्र लाग्यो।
21तब याकोबले लाबानलाई भने, “मलाई मेरी पत्नी दिनुहोस्। मेरो समय पूरा भयो, र म तिनीसँग सहबास गर्न चाहन्छु।”
22यसकारण लाबानले त्यस ठाउँका सबै मानिसहरूलाई एकसाथ बोलाएर भोज दिए। 23तर जब साँझ भयो, तिनले आफ्नी छोरी लेआलाई ल्याएर याकोबलाई दिए। अनि याकोबले तिनीसित सहबास गरे। 24अनि लाबानले आफ्नी दासी जिल्पालाई आफ्नी छोरी लेआकी सेविका हुनलाई दिए।
25जब बिहान भयो, राहेलको सट्टा लेआ पो त्यहाँ रहिछिन्! यसकारण याकोबले लाबानलाई भने, “यो तपाईंले मलाई के गर्नुभयो? के मैले राहेलका निम्ति तपाईंको सेवा गरेको होइनँ र? तपाईंले मलाई किन धोका दिनुभयो?”
26लाबानले जवाफ दिए, “यहाँ हाम्रो परम्पराअनुसार कान्छीको विवाह जेठीभन्दा पहिले गर्नुहुँदैन। 27यस छोरीसित एक साता वैवाहिक उत्सव पूरा गर, र तिमीले अर्को सात वर्ष मेरो सेवा गर; तब तिमीलाई कान्छी छोरी पनि दिनेछौँ।”
28अनि याकोबले त्यस्तै गरे। तिनले लेआसित एक हप्‍ता बिताए; अनि लाबानले आफ्नी छोरी राहेललाई तिनकी पत्नी हुनलाई दिए। 29अनि लाबानले आफ्नी सेविका बिल्हालाई आफ्नी छोरी राहेलकी सेविका हुनलाई दिए। 30याकोबले राहेलसित सहबास गरे; अनि तिनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गरे। अनि तिनले अर्को सात वर्ष लाबानको सेवा गरे।
याकोबका छोराछोरी
31जब याहवेहले लेआलाई प्रेम नपाएकी देख्नुभयो, तब उहाँले तिनको कोख खोलिदिनुभयो; तर राहेलचाहिँ बाँझी रहिन्। 32लेआ गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तिनले उसको नाम रूबेन#29:32 रूबेन मूल भाषामा यसको अर्थ उहाँले मेरो कष्‍ट देख्नुभयो। नामको अर्थ हेर्नुहोस्, एउटा छोरा राखिन्; किनकि तिनले भनिन्, “योचाहिँ याहवेहले मेरो कष्‍ट देख्नुभएको कारणले हो। निश्‍चय नै मेरा पतिले अब मलाई प्रेम गर्नुहुनेछ।”
33तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “किनकि मैले प्रेम पाइनँ भनेर याहवेहले सुन्‍नुभएको छ; र उहाँले मलाई यो छोरा पनि दिनुभयो।” यसकारण तिनले त्यसको नाम शिमियोन#29:33 शिमियोन जसको अर्थ सुन्‍नुहुने राखिन्।
34तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “अब यस पटक त मेरा पति मसँगै मिल्न आउनुहुनेछ; किनकि मैले उहाँका निम्ति तीन वटा छोरा पाइसकेँ।” यसकारण त्यसको नाम लेवी#29:34 लेवी जसको अर्थ नजिक हुनु; जोडिनु राखियो।
35तिनी फेरि गर्भवती भइन्, र त्यो छोरा जन्माउँदा तिनले भनिन्, “यस पटक म याहवेहको प्रशंसा गर्नेछु।” यसकारण तिनले त्यसको नाम यहूदा#29:35 यहूदा जसको अर्थ प्रशंसा राखिन्। त्यसपछि तिनले छोराछोरी जन्माउन छोडिन्।

Actualmente seleccionado:

उत्पत्ति 29: NCV

Destacar

Copiar

Comparar

Compartir

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión