Logo de YouVersion
Icono de búsqueda

मर्कूस 16

16
येशू मरेकाबाट बिउँतनुभएको
(मत्ती २८:१-८; लूका २४:१-१२; यूहन्‍ना २०:१-१०)
1पवित्र विश्रामको दिन बितिसकेपछि त्‍यही बेलुका मरियम मग्‍दलिनी, याकूबकी आमा मरियम र सलोमीले येशूको लाशमा लगाउन सुगन्‍धित तेलहरू किने। 2भोलिपल्‍ट हप्‍ताको पहिलो दिन बिहानै घाम झुल्‍कँदा तिनीहरू येशूलाई राखिएको चिहानमा गए। 3बाटोमा जाँदा तिनीहरूले ‘चिहानको मुखमा लगाएको ढुङ्गाचाहिँ कसले हटाइदेला?’ भन्‍दै थिए। 4तर चिहानमा पुग्‍दा त त्‍यत्रो ठूलो ढुङ्गालाई पनि अघिबाट नै हटाइसकेको रहेछ। 5तिनीहरूले चिहानभित्र पसेर हेर्दा त्‍यहाँ एक जना सेतो लुगा लगाएको जवान मानिस चिहानको दाहिनेपट्टि बसिरहेको थिए। यो देखेर तिनीहरू तर्सिए। 6तर ती जवान मानिसले तिनीहरूलाई भने, “नडराओ, तिमीहरू क्रूसमा मारिनुभएको नासरतका येशूलाई खोजिरहेका छौ। तर हेर, येशू यहाँ हुनुहुन्‍न, उहाँ त बिउँतिएर गइसक्‍नुभयो! तिनीहरूले उहाँलाई राखेको ठाउँ यही हो, हेर त! 7#मत्ती 26:32; मर्कूस 14:28तर अब गएर उहाँका चेलाहरू र खास गरी पत्रुसलाई ‘येशू अघिबाटै गालीलमा गइसक्‍नुभएको छ। उहाँले भन्‍नुभएजस्‍तै तिमीहरूले उहाँलाई त्‍यहीं देख्‍नेछौ’ भनेर भनिदेओ।” 8त्‍यति बेला तिनीहरू एकदमै अत्‍यास मानेर काम्‍दै चिहानबाट निस्‍केर भागे अनि यसरी डराएका हुनाले तिनीहरूले यो कुरा कसैलाई पनि भनेनन्।
येशूले चेलाहरूलाई दर्शन दिनुभएको
(मत्ती २८:९-२०; लूका २४:१३-५३; यूहन्‍ना २०:११-२३; प्रेरित १:४-११)
9येशू आइतवार बिहानै मरेकाबाट बिउँतनुभएपछि सबैभन्दा पहिले मरियम मग्‍दलिनीकहाँ देखा पर्नुभयो। तिनै मरियमबाट उहाँले सात वटा भूत निकाल्‍नुभएको थियो। 10उनले गएर अघि उहाँलाई पछ्याउने मानिसहरूलाई यो कुरा सुनाइन्। तिनीहरू विलाप गरेर रोइरहेका थिए। 11अनि उनले येशू बिउँतनुभएको र आफैंले देखेको कुरा तिनीहरूलाई भनिन्। तर तिनीहरूले उनको कुरा पत्‍याएनन्।
12त्‍यसपछि गाउँतिर जान लागेका दुई जना चेलाहरूकहाँ येशू बेग्‍लै किसिमसँग देखा पर्नुभयो। 13तिनीहरूले पनि आएर यो कुरा अरू चेलाहरूलाई सुनाए। फेरि पनि चेलाहरूले तिनीहरूले भनेका कुरा पत्‍याएनन्।
14त्‍यसपछि एघारै जना चेलाहरू खान लागिरहेका बेलामा येशू तिनीहरूका बीचमा देखा पर्नुभयो। आ-आफ्‍ना मन कठोर पारेर उहाँलाई मरेकाबाट बिउँतेपछि देख्‍नेहरूका कुरा विश्‍वासै नगरेकोले उहाँले तिनीहरूलाई हप्‍काउनुभयो।
15 # प्रेरित 1:8 त्‍यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सबै मानिसहरूलाई सुसमाचार सुनाओ! 16विश्‍वास गरेर बप्‍तिस्‍मा लिनेहरूले उद्धार पाउनेछन्। तर विश्‍वास नगर्नेहरूचाहिँ परमेश्‍वरको सामुन्‍ने दोषी ठहरिनेछन्। 17अनि विश्‍वास गर्नेहरूसँग यस्‍ता चिन्‍हहरू पाइनेछन्– उनीहरूले मेरो नाउँमा भूतहरू निकाल्‍नेछन् र नौला-नौला किसिमका भाषाहरूमा बोल्‍नेछन्। 18उनीहरूले सर्प समाते पनि, विष पिए पनि उनीहरूलाई कुनै हानि हुनेछैन अनि बिरामीहरूमाथि हात राख्‍दा तिनीहरू निको हुनेछन्।”
19 # प्रेरित 1:9-11 चेलाहरूसँग यसरी कुरा गर्नुभएपछि प्रभु येशू स्‍वर्गमा उचालिनुभयो र उहाँ परमेश्‍वरको दाहिनेपट्टि बस्‍नुभयो। 20त्‍यसपछि चेलाहरूले चारैतिर गएर उहाँको प्रचार गरे। प्रभुले उनीहरूसँग भएर काम गर्नुभयो र उनीहरूले प्रचार गरेका कुरालाई अचम्‍मका कामहरूद्वारा सत्‍य ठहराइदिनुभयो।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión