Logo de YouVersion
Icono de búsqueda

लेवी 11

11
खान लायकका पशुहरू
1परमप्रभुले मोशा र हारूनलाई 2-3इस्राएलीहरूको निम्‍ति यी नियमहरू दिनुभयो, जमिनमाथि भएका कुनै पनि खुर चिरिएका अनि उग्राउने पशुहरू तिमीहरूले खान सक्‍छौ। 4-6तर ऊँट, जमिन खन्‍ने एक थरिको जन्‍तु वा खरायो नखानू। तिनीहरलाई अशुद्ध ठान्‍नू किनभने तिनीहरू उग्रिएका भए पनि तिनीहरूका खुर चिरिएका हुँदैनन्। 7तर सुँगुरहरू नखानू, तिनीहरूलाई अशुद्ध ठान्‍नू, तिनीहरूका खुर चिरिएका भए पनि तिनीहरू उग्राउँदैनन्। 8तिमीहरूले यी पशुहरू नखानू, तिनका सिनु पनि नछुनू, तिनीहरू अशुद्ध छन्।
9पखेटा र कत्‍ला भएका कुनै पनि थरिका माछाहरू तिमीहरूले खान सक्‍छौ, 10तर पखेटा र कत्‍ला नभएका कुनै जलजन्‍तु नखानू। 11त्‍यस्‍ता जन्‍तु अशुद्ध ठान्‍नू, ती तिमीहरूले नखानू, तिनका सिनु पनि नछुनू। 12पानीमा हुने तर पखेटा र कत्‍ला नहुने कुनै कुरा नखानू।
13-19तिमीहरूले यी चराहरू नखानू– चिल, लाटोकोसेरो, बेसारा, शिकारी चरा, बाज, गिद्ध, काग, शुतुरमुर्ग, जलेवा, बकुल्‍ला, पानीहाँस, पानी-धनेस, जल-कुखुरा, फाप्रे चरो, चमेरा।
20-21उफ्री हिँड्‍ने बाहेक अरू सबै पखेटा भएका किरा-फट्याङ्ग्रा अशुद्ध हुन्। 22तिमीहरू सबै थरिका सलह, किथ्रो, फट्याङ्ग्रा खान सक्‍छौ, 23तर अरू सबै थरिका पखेटा भएका तर घस्रने पनि स-साना किराहरू अशुद्ध ठान्‍नू।
24-28जसले यी पशुहरूका सिनु छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध हुन्‍छ, खुर भएका तर ती नचिरिएका र नउग्राउने सबै पशुहरू र पन्‍जा भएका चारखुट्टे जन्‍तुहरू। जसले तिनका सिनु बोक्‍छ, त्‍यसले आफ्‍नो वस्‍त्र धुनुपर्नेछ, तरै पनि त्‍यो बेलुकासम्‍म अशुद्ध रहनेछ।
29-30छुचुन्‍द्रा, ठूला र साना मुसामुसीहरू र छेपाराहरू अशुद्ध ठान्‍नू। 31जसले तिनीहरू र तिनका सिनु छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध हुनेछ। 32तिनका सिनु केही कुरामा पर्‍यो भने त्‍यो पनि अशुद्ध हुनेछ। त्‍यसरी छोएको कुनै पनि काममा चलाइने काठ, कपडा, छाला वा भाङ्ग्रो वा भाङ्ग्राको वस्‍त्र अशुद्ध हुनेछ। त्‍यसलाई पानीमा चोप्‍नू तर त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। 33तिनका सिनु माटाको भाँडामा पर्‍यो भने त्‍यहाँ राखेका सबै थोक अशुद्ध हुनेछन् र माटाका भाँडा फोर्नुपर्नेछ। 34त्‍यस्‍ता भाँडामा राखेका पानी कुनै खाने कुरामा पर्‍यो भने त्‍यो अशुद्ध हुनेछ। त्‍यस्‍ता भाँडामा राखेको कुनै पिउने कुरा अशुद्ध हुनेछ। 35त्‍यस्‍तो सिनु जे कुरामा पर्छ, त्‍यो अशुद्ध हुन्‍छ, त्‍यो माटोको चुला वा भट्टी हो भने भत्‍काइदिनू। 36तर पानीको मुहान वा कुण्‍ड शुद्ध नै रहनेछ, तैपनि ती सिनु छुने अरू कुनै पनि कुरा अशुद्ध हुनेछ। 37यदि त्‍यस्‍ता कुनै अशुद्ध थोक रोप्‍नलाई राखेको बिउमा पर्‍यो भने बिउ शुद्ध नै रहनेछ। 38तर बिउ पानीमा भिजाइराखेको छ र त्‍यो कुरा त्‍यसमा पर्‍यो भने त्‍यो बिउ अशुद्ध हुनेछ।
39खान हुने कुनै पशु मर्‍यो भने त्‍यसलाई छुने मानिस साँझसम्‍म अशुद्ध हुनेछ। 40कसैले त्‍यसको मासु खायो भने त्‍यसले आफ्‍नो वस्‍त्र धोओस्, तरै पनि त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ। त्‍यो सिनु बोक्‍ने मानिसले आफ्‍नो वस्‍त्र धुनुपर्नेछ, तर पनि त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।
41-42भूइँमा घस्री हिँड्‍ने, घस्रने चार खुट्टामा हिँड्‍ने स-साना वा धेरै खुट्टा भएका जीवजीवात‌हरू तिमीहरूले नखानू। 43ती कुरा खाएर आफैंलाई अशुद्ध नगर। 44#लेवी 19:2; १ पत्रुस 1:16म तिमीहरूका परमेश्‍वर परमप्रभु हुँ। तिमीहरूले आफैंलाई पवित्र राख्‍नुपर्छ किनभने म पवित्र छु। 45तिमीहरूका परमेश्‍वर हुन मिश्रबाट तिमीहरूलाई निकाली ल्‍याउने परमप्रभु म हुँ। तिमीहरू पवित्र रहनुपर्छ किनभने म पवित्र छु।
46अब पशु र चराहरूबारे, पानीमा जिउने र जमिनमा चरिहिँड्‍ने सबै जन्‍तुहरूबारे दिइएका नियम यी नै हुन्। 47कुन कुरा विधिअनुसार शुद्ध वा अशुद्ध छ, कुन पशु तिमीहरू खान सक्‍छौ वा सक्‍दैनौ, ती छुट्ट्याउनलाई तिमीहरू होशियार रहनुपर्छ।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión