Logo de YouVersion
Icono de búsqueda

प्रस्‍थान 6

6
1तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “राजालाई म के गर्नेछु, अब तैँले देख्‍नेछस्। मेरो प्रजालाई छोडिदिन म त्‍यसलाई कर लाउनेछु। तिनीहरूलाई यस देशबाट खेदिपठाउन त्‍यसलाई कर लाग्‍नेछ।”
परमेश्‍वरले मोशालाई बोलाउनुहुन्‍छ
2 # उत्‍पत्ति 17:1; 28:3; 35:11; प्रस्‍थान 3:13-15 परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म परमप्रभु हुँ। 3अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान्‌ परमेश्‍वर भएर देखा परें तर मेरो पवित्र नाम परमप्रभुले चाहिँ तिनीहरूकहाँ प्रकट भइँनँ। 4तिनीहरू परदेशी भएर बसेको यो कनान देश तिनीहरूलाई दिन्‍छु भनी करार गरेर मैले तिनीहरूसँग प्रतिज्ञा पनि गरेको थिएँ। 5मैले अब इस्राएलीहरूका दु:ख-विलाप सुनेको छु। मिश्रीहरूले तिनीहरूलाई दास-दासी बनाएका छन् र मैले आफ्‍नो करार सम्‍झेको छु। 6इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ, म तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूको दासत्‍वदेखि तिमीहरूलाई छुटाउनेछु। मेरो शक्तिशाली हात उचालेर म मिश्रीहरूलाई डरलाग्‍दो दण्‍ड दिनेछु र तिमीहरूलाई बचाउनेछु। 7म तिमीहरूलाई आफ्‍नो प्रजा बनाउनेछु र तिमीहरूका परमेश्‍वर हुनेछु। मिश्रको दासत्‍वदेखि तिमीहरूलाई छुटकारा दिएको बेलामा म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरू जान्‍नेछौ। 8जुन देश मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको थिएँ, त्‍यस देशमा तिमीहरूलाई पुर्‍याउनेछु र त्‍यो देश तिमीहरूको अधीनमा दिनेछु। परमप्रभु म नै हुँ।” 9मोशाले इस्राएलीहरूलाई ती कुरा बताए; तर तिनीहरूले सुन्‍न मानेनन् किनभने कठोर दासत्‍वले तिनीहरूका मन मरिसकेको थियो।
10तब परमप्रभुले मोशालाई भन्‍नुभयो, 11“जा, गएर मिश्रको राजालाई भन् कि त्‍यसले इस्राएलीहरूलाई त्‍यस देशबाट जान दिनैपर्छ।”
12तर मोशाले उत्तर दिए, “मेरा कुरा इस्राएलीहरूले सुन्‍दैनन्, झन् राजाले किन सुन्‍छन्? म त बोल्‍नै सक्‍दिनँ।”
13मोशा र हारूनलाई परमप्रभुले यस्‍तो आज्ञा गर्नुभयो, “इस्राएलीहरू र मिश्रको राजालाई भन् कि मैले तिमीहरूलाई मिश्रदेखि इस्राएलीहरूलाई निकाली लैजाने आज्ञा दिएको छु।”
मोशा र हारूनको वंशावली
14इस्राएलका जेठा छोरा रूबेनका चार छोराहरू थिए– हानोक, पल्‍लु, हेस्रोन र कर्मी। तिनीहरू आ-आफ्‍ना नामअनुसारका कुलहरूका पुर्खा भए। 15शिमियोनका छ छोराहरू थिए– यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्‍त्रीपट्टिको शौल। तिनीहरू आ-आफ्‍ना नामअनुसारका कुलहरूका पुर्खा भए। 16#गन्ती 3:17-20; 26:57,58; १ इतिहास 6:16-19लेवीका तीन छोराहरू थिए– गेर्शोन, कहात र मरारी। तिनीहरू आ-आफ्‍ना नामअनुसारका कुलहरूका पुर्खा भए। लेवी एक सय सैतिस वर्षसम्‍म बाँचे। 17गेर्शोनका दुई छोराहरू थिए– लिब्‍नी र शिमी। तिनीहरूका सन्‍तान धेरै भए। 18कहातका चार छोराहरू थिए– अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल कहात १३३ वर्षसम्‍म बाँचे। 19मरारीका दुई छोराहरू थिए– महली र मूशी। यिनीहरू आ-आफ्‍ना सन्‍तानसमेत लेवीका कुलहरू हुन्।
20अम्रामले आफ्‍नी फुपू योकेबेदलाई बिहे गरे, जसले हारून र मोशालाई जन्‍माइन्। अम्राम एक सय सैतिस वर्ष बाँचे। 21यिसहारका तीन छोराहरू थिए– कोरह, नेपेग र जिक्री। 22उज्‍जीएलका पनि तीन छोराहरू थिए– मीशाएल, एलसाफान र सिथ्री।
23हारूनले अम्‍मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे, जसले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्‍माइन्। 24कोरहका तीन भाइ छोराहरू थिए– अस्‍सीर, एल्‍काना र अबिआसाप। तिनीहरू कोरहका कुलका तीन भागका पुर्खाहरू भए। 25हारूनका छोरा एलाजारले पतीएलकी छोरीलाई विवाह गरे र उनले पीनहासलाई जन्‍माइन्। लेवी वंशका कुल र परिवारहरूका मुखियाहरू यिनीहरू नै थिए।
26हारून र मोशालाई चाहिँ परमप्रभुले भन्‍नुभएको थियो, “इस्राएली कुलहरूलाई मिश्रबाट निकालेर बाहिर लैजाओ।” 27यी दुईले नै इस्राएलीहरूलाई छुटकारा दिन मिश्रका राजालाई भनेका थिए।
मोशा र हारूनलाई परमप्रभुको आज्ञा
28मिश्रदेशमा मोशासित परमप्रभु यसरी बोल्‍नुभयो– 29उहाँले भन्‍नुभयो, “म परमप्रभु हुँ। मैले भनेअनुसार सबै कुरा मिश्रको राजालाई भन्।”
30तर मोशाले उत्तर दिए, “म बोल्‍नमा बाठो छैन भनी तपाईं जान्‍नुहुन्‍छ। राजाले कसरी मेरा कुरा सुन्‍लान् र?”

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión