Logo de YouVersion
Icono de búsqueda

प्रस्‍थान 16

16
मन्‍न र बट्टाई चरा
1सारा इस्राएली समुदाय एलीमबाट हिँडे। मिश्र छोडेको दोस्रो महिनाको पन्‍ध्रौँ दिनमा तिनीहरू सीनैको मरुभूमि आइपुगे। सीन एलीम र सीनैको बीचमा छ। 2त्‍यो उजाड-स्‍थानमा ती सबै मोशा र हारूनसित गनगनाउन थाले र 3यसो भने, “हामीलाई परमप्रभुले मिश्रमै मार्नुभएको भए असल हुनेथियो। त्‍यहाँ हामी मासु र अरू खानेकुरा भनेजस्‍तो पूरा खान पाउँथ्‍यौं। तर तपाईंहरूले हामीलाई त्‍यहाँबाट निकालेर यहाँ मरुभूमिमा ल्‍याउनुभयो र खान नदिई मार्न आँट्‍नुभयो।”
4 # यूहन्‍ना 6:31 परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म तिमीहरू सबैको लागि आकाशबाट खानेकुरा वर्षाउनेछु। मानिसहरूले दिनहुँ गएर त्‍यस दिनको लागि पुग्‍दो खाना बटुल्‍नुपर्नेछ। यसरी तिनीहरूले मैले भनेका कुरा मान्‍नेछन् कि छैनन् सो म जाँच्‍नेछु। 5छैटौँ दिनमा तिनीहरूले सधैँभन्दा दोब्‍बर बटुलेर खानेकुरा तयार पारिराखून्।”
6मोशा र हारूनले इस्राएलीहरूलाई भने, “आज बेलुका तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याउने परमप्रभु नै हुनुहुन्‍छ भनी बुझ्‍नेछौ। 7भोलि बिहान परमप्रभु हाम्रा माझमा आउनुभएको हो भनी बुझाउन एउटा चहकिलो ज्‍योति तिमीहरूले देख्‍नेछौ। तिमीहरूको गनगन उहाँले सुन्‍नुभएको छ। तिमीहरूले उहाँको विरुद्धमा गनगन गर्‍यौ किनभने हामी त उहाँको आज्ञाअनुसार गर्नेहरू मात्र हौं।” 8त्‍यसपछि मोशाले भने, “परमप्रभुले नै तिमीहरूलाई बेलुका मासु र बिहान तिमीहरूले चाहे जति रोटी दिनुहुनेछ किनभने तिमीहरूले उहाँको विरुद्धमा कति गनगन गर्‍यौ, त्‍यो उहाँले सुन्‍नुभएको छ। हाम्रा विरुद्धमा गनगन गर्दा खासमा तिमीहरू परमप्रभुको विरुद्धमा गनगन गरिरहेका हुन्‍छौ।”
9मोशाले हारूनलाई भने, “इस्राएलको सारा समुदायलाई आएर परमप्रभुको अघि खडा हुनु भन्‍नुहोस्‌ किनभने उहाँले तिनीहरूको गनगन सुन्‍नुभएको छ।” 10हारून पूरै समुदायसित बोलिरहँदा तिनीहरूले मरुभूमितर्फ आफ्‍नो मुख फर्काए अनि अचानक परमप्रभुको चहकिलो ज्‍योति बादलमा देखा पर्‍यो। 11परमप्रभुले मोशालाई भन्‍नुभयो, 12“मैले इस्राएलीहरूको गनगन सुनें, तिनीहरूलाई भन्, बेलुका खानलाई मासु र बिहान चाहे जति रोटी तिनीहरूले पाउनेछन्। तब तिनीहरूले बुझ्‍नेछन् कि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ।”
13बेलुका बट्टाई चराको ठूलो हुल आयो र तिनीहरू बसेको ठाउँ ढाक्‍यो। बिहान छाउनीको चारैपट्टि शीत परेको थियो। 14शीत सुकेपछि त्‍यहाँ पातलो रूवाजस्‍तो खानेकुरा देखा पर्‍यो। त्यो तुसारोझैँ नरम थियो। 15#१ कोरिन्थी 10:3इस्राएलीहरूले त्यो देखेर चिनेनन् र आपसमा “यो के हो?” भनी सोधासोध गरे।
मोशाले तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई खान दिनुभएको भोजन यही हो। 16परमप्रभुले आज्ञा गर्नुभएको छ कि हरेकले आफूलाई चाहिने जति मात्र बटुल्‍नू, परिवारका प्रत्‍येक मानिसको लागि दुई माना गरेर बटुल्‍नू।”
17इस्राएलीहरूले त्‍यसै गरे। कसैले धेरै अनि कसैले थोरै बटुले। 18#२ कोरिन्थी 8:15तिनीहरूले तौलेर हेर्दा धेरै बटुल्‍नेलाई ज्‍यादा भएन अनि थोरै बटुल्‍नेलाई कम भएन। हरेकले आफूलाई चाहिने जति मात्र बटुले। 19मोशाले तिनीहरूलाई भने, “कसैले केही उबारेर भोलिको लागि नराख्‍नू।” 20तर कसै-कसैले मोशाको कुरा सुनेनन् र उबारेर राखे। तर भोलिपल्‍ट बिहान त्‍यसमा किरा परेर गन्‍हाउन लागेको थियो। मोशा तिनीहरूसित रिसाए। 21हरेक बिहान प्रत्‍येकले आफूलाई चाहिए जति बटुल्‍थ्‍यो र घाम चर्केपछि जमिनमा बाँकी रहेका जति सबै बिलाइहाल्थ्यो।
22छैटौँ दिन तिनीहरूले सधैँको भन्दा दोब्‍बर, हरेक व्‍यक्तिको लागि चार लिटर गरेर बटुल्‍थे। समुदायका सबै अगुवाहरूले यसबारे मोशालाई सोधे र 23#प्रस्‍थान 20:8-11उनले तिनीहरूलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएअनुसार भोलि विश्रामको पवित्र दिन हो, त्‍यो उहाँलाई अर्पण गरिएको दिन हो। पकाउनुपर्ने र उसिन्‍नुपर्ने कुराहरू आजै पकाओ र उसिन। उब्रेको जति भोलिको लागि छुट्ट्याइराख्‍नू।” 24मोशाको आज्ञाअनुसार तिनीहरूले उब्रेको जति भोलिपल्‍टसम्‍म राखे। त्‍यसमा किरा परेन अनि त्‍यो कुहेन। 25मोशाले भने, “आज त्‍यो खाओ किनभने आज परमप्रभुलाई अर्पण गरिएको विश्राम दिन हो। तिनीहरू बसेका ठाउँबाहिर तिमीहरूले केही खानेकुरा पाउनेछैनौ। 26तिमीहरूले छ दिनसम्‍म खानेकुरा बटुल्‍नू तर सातौँ दिन विश्रामको दिनमा केही पाउनेछैनौ।”
27सातौँ दिनमा कोही-कोही मानिसहरू खाने कुरा बटुल्‍न बाहिर गए; तर तिनीहरूले केही पाएनन्। 28तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तिमीहरूले कहिलेसम्‍म मेरो आज्ञा नमान्‍ने? 29याद राख्, म परमप्रभुले तिमीहरूलाई एक दिन विश्राम गर्न दिएको छु। यसैकारण छैटौँ दिनमा म दुई दिन पुग्‍ने खानेकुरा तिमीहरूलाई सधैँ दिन्‍छु। सातौँ दिनमा हरेक व्‍यक्ति आफू जहाँ छ, त्यहीँ बस्‍नुपर्नेछ र घर छोड्‍नुहुँदैन।” 30यसकारण मानिसहरूले सातौँ दिनमा काम गर्दैनथे।
31 # गन्ती 11:7,8 इस्राएलीहरूले त्‍यो खानेकुराको नाम ‘मन्‍न’ राखे। त्‍यो धनियाँको दानाजस्‍तो थियो र महसित बनाएको सानो पातलो रोटीजस्‍तो स्‍वादिलो थियो। 32मोशाले भने, “हाम्रा पछि हुने सन्‍तानको निम्‍ति केही मन्‍न बचाएर राख्‍न परमप्रभुले आज्ञा गर्नुभएको छ। हामीलाई मिश्रबाट निकाली ल्‍याउँदा परमप्रभुले मरुभूमिमा हामीलाई जे कुरा खान दिनुभएको थियो, सो तिनीहरूले देख्‍न सक्‍नेछन्।” 33#हिब्रू 9:4मोशाले हारूनलाई भने, “एउटा भाँडो लगेर त्‍यसमा दुई लिटर मन्‍न भर र त्‍यसलाई हाम्रा पछिका सन्‍तानको निम्‍ति परमप्रभुको अघि राख।” 34परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार हारूनले त्‍यो भाँडो करारको सन्‍दुकको सामुन्‍ने त्‍यो नष्‍ट नहोस् भनेर राखे। 35#यहोशू 5:12इस्राएलीहरू कनान देशमा पुगेर बसोबास नगरुञ्‍जेल चालीस वर्षसम्‍म तिनीहरूले मन्‍न खाइरहे। 36मन्‍न नाप्‍न प्रयोग गरिने भाँडो एक ओमेर बराबरको थियो। एक ओमेर बराबर दुई लिटर हुन्थ्यो।

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión