गन्ती 32

32
यर्दन नदीको पूर्वपट्टिका कुलहरू
1रूबेनीहरू र गादीहरू, जसका धेरै बथान, बगाल भएकाले याजेर र गिलादको देश पशुपालनका निम्ति उपयुक्त देखे। 2यसकारण तिनीहरू मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूकहाँ आएर भने, 3अतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, शबाम, नेबो र बओन, 4अर्थात् याहवेहले इस्राएलीहरूका अधीनमा पार्नुभएको देश पशुपालनका निम्ति उपयुक्त रहेछ। अनि तपाईंका सेवकहरूसँग धेरै गाईबस्तु छन्। 5तिनीहरूले भने, “यदि हामीले तपाईंहरूको दृष्‍टिमा निगाह पाएका छौँ भने यो भूमि हाम्रो अधिकारको रूपमा तपाईंका सेवकहरूलाई दिनुहोस्। हामीलाई यर्दनपारि जान नलगाउनुहोस्।”
6मोशाले गादीहरू र रूबेनीहरूलाई भने, “के तिमीहरूका दाजुभाइहरू लडाइँमा जाँदा तिमीहरूचाहिँ यहाँ ढुक्‍क बस्‍न चाहन्छौ? 7किन तिमीहरू इस्राएलीहरूलाई याहवेहले यर्दनपारिपट्टि दिनुभएको देशमा जानलाई निराश बनाउँछौ? 8जब तिमीहरूका बुबाहरूलाई मैले कादेश-बर्नेबाट त्यस देशलाई हेर्न पठाउँदा तिनीहरूले यस्तै गरेका थिए। 9जब तिनीहरू एश्कोलको बेँसीसम्म पुगे, र त्यस देशलाई हेरेपछि तिनीहरूले इस्राएलीहरूलाई याहवेहले दिनुभएको देशमा प्रवेश गर्नलाई हतोत्साहित तुल्याएका थिए। 10त्यस दिन याहवेह रिसाउनुभयो, र उहाँले यो शपथ खानुभयो: 11‘इजिप्टबाट आएका बीस वर्ष र त्यसभन्दा बढी उमेरका कसैले पनि मैले अब्राहाम, इसहाक र याकोबसँग शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देश देख्न पाउनेछैन। किनकि तिनीहरूले मलाई पूर्ण रूपले पछ्याएका छैनन्। 12कनज्जी यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशू मात्र पस्‍न पाउनेछन्। किनकि यिनीहरूले चाहिँ पूर्ण हृदयले याहवेहलाई पछ्याए।’ 13इस्राएलको विरुद्धमा याहवेह रिसाउनुभयो। अनि उहाँको दृष्‍टिमा दुष्‍ट काम गर्नेहरूको सम्पूर्ण पुस्ता नष्‍ट नहोउन्जेल उहाँले तिनीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म भौँतारिन दिनुभयो।
14“अनि तिमी पापीहरूका सन्तान आफ्ना पितापुर्खाहरूझैँ याहवेहलाई इस्राएलसँग अझ बढी रिस उठाउनलाई खडा भएका छौ। 15यदि तिमीहरूले उहाँलाई पछ्याउन छाड्यौ भने उहाँले फेरि यी मानिसहरूलाई उजाडस्थानमा नै छोडिदिनुहुनेछ। अनि तिनीहरूको विनाशको कारण तिमीहरू हुनेछौ।”
16तब तिनीहरू मोशाकहाँ आएर भने, “हामी यहाँ आफ्ना बगालका निम्ति गोठ, हाम्रा स्त्रीहरू र छोराछोरीहरूका लागि सहरहरू बनाउन चाहन्छौँ। 17तर हामी आफैँचाहिँ इस्राएलीहरूलाई तिनीहरूको ठाउँमा नपुर्‍याएसम्म हातहतियार लिएर तिनीहरूको लागि लडाइँमा जान तयार छौँ। त्यस बेलामा हाम्रा स्त्रीहरू र छोराछोरीहरूचाहिँ यहाँका बासिन्दाहरूबाट जोगिनका लागि बलियो किल्‍ला भएका सहरहरूमा बस्‍नेछन्। 18प्रत्येक इस्राएलीहरूले तिनीहरूका पैतृक सम्पत्ति नपाएसम्म हामी आफ्ना घरमा फर्कनेछैनौँ। 19हामी यर्दनपारि तिनीहरूसँग उत्तराधिकारको कुनै भाग लिनेछैनौँ; किनकि हामीले यर्दनको पूर्वपट्टि उत्तराधिकारको भाग पाइसकेका छौँ।”
20तब मोशाले तिनीहरूलाई भने, यदि तिमीहरूले यसो गर्‍यौ भने अर्थात् तिमीहरूले याहवेहको सामु लडाइँका निम्ति हातहतियार भिरेर लडाइँमा जान तयार भयौ भने, 21अनि तिमीहरू सबै हातहतियार भिरेर याहवेहले आफ्ना शत्रुहरूलाई आफ्नै सामु धपाएर देश परास्त नगरेसम्म उहाँको सामु यर्दनपारि गयौ भने, 22जब याहवेहको सामु देश अधीनमा आउँछ, तब तिमीहरू फर्कन सक्छौ। अनि याहवेह र इस्राएलसँगको तिमीहरूको दायित्वबाट तिमीहरू स्वतन्त्र हुनेछौ। अनि यो देश याहवेहको सामु तिमीहरूको अधिकारमा हुनेछ।
23तर यदि तिमीहरूले आफ्नो वचन पूरा गर्न असफल भयौ भने तिमीहरूले याहवेहको विरुद्धमा पाप गरेका हुनेछौ। अनि तिमीहरूले आफ्ना पापको प्रतिफल निश्‍चय नै भोग्नेछौ। 24आफ्ना स्त्रीहरू र छोराछोरीहरूका निम्ति सहर अनि तिमीहरूका बगालका निम्ति गोठहरू बनाओ। तर तिमीहरूले गरेका प्रतिज्ञा पूरा गर।
25गादीहरू र रूबेनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा मालिकले आज्ञा गर्नुभएजस्तै गर्नेछौँ। 26हाम्रा छोराछोरी र पत्नीहरू, हाम्रा बगालहरू र बथानहरू यहीँ गिलाद सहरमा रहनेछन्। 27तर तपाईंका सेवकहरू, हाम्रा मालिकको आज्ञाअनुसार लडाइँका लागि हातहतियार भिरेका हरेक मानिसहरू याहवेहको सामु युद्ध गर्न यर्दनपारि जानेछौँ।”
28तब मोशाले तिनीहरूको बारेमा पुजारी एलाजारलाई, नूनका छोरा यहोशू र इस्राएली कुलका अगुवाहरूलाई आज्ञा दिए। 29मोशाले तिनीहरूलाई भने, “यदि गादीहरू र रूबेनीहरूका हरेक मानिस लडाइँका निम्ति हातहतियार भिरेर याहवेहको सामु तिमीहरूसँग लडाइँ गर्न यर्दनपारि जान्छन् भने, र जब त्यो देश तिमीहरूकै अगि तिमीहरूका अधीनमा आयो भने तिमीहरूले गिलादको मुलुक तिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनू। 30तर यदि तिनीहरू हातहतियार भिरेर तिमीहरूका साथमा लडाइँमा पारि जान इन्कार गरे भने तिनीहरूले तिमीहरूसँगै कनान देशमा आ-आफ्ना सम्पत्तिको भाग पाउनेछन्।”
31गादीहरू र रूबेनीहरूले जवाफ दिए, “तपाईंका सेवकहरूले याहवेहले भन्‍नुभएजस्तै हामी गर्नेछौँ। 32हामी याहवेहको सामु हातहतियार भिरेर यर्दनपारि कनानसम्मै जानेछौँ। तर हामीले पाउने अधिकारचाहिँ यर्दनको वारि पूर्वपट्टि नै हुनेछ।”
33त्यसपछि मोशाले गादीहरू, रूबेनीहरू र योसेफका छोरा मनश्शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्य र बाशानका राजा ओगको राज्य अर्थात् सम्पूर्ण देश त्यसका सहरहरूसँगै र तिनीहरूका वरिपरिका प्रान्तहरू दिए।
34गादीहरूले दीबोन, अतारोत, अरोएर, 35अत्रोत-शोपान, याजेर, योगबहा, 36बेथ-निम्रा र बेथ-हारानहरूलाई सुरक्षित सहरजस्तै बनाए। तिनीहरूका बगालका निम्ति गोठहरू बनाए। 37अनि रूबेनीहरूले हेश्बोन, एलाले र किर्यातैम, 38साथसाथै नेबो र बाल-मोन (यी नामहरू परिवर्तन भए) र सिब्मा पुनर्निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूका नामहरू नयाँ राखे।
39मनश्शेका छोरा माकीरका सन्ततिहरू गिलादमा गए। अनि त्यसलाई कब्जा गरेर त्यहाँ बसोबास गर्ने एमोरीहरूलाई धपाए। 40यसकारण मोशाले मनश्शेका सन्तान माकीरीहरूलाई गिलाद दिए। अनि तिनीहरू त्यहाँ बसोबास गरे। 41याईर, मनश्शेको सन्तानले गिलादका केही बस्तीहरू आफ्नो अधीनमा ल्याए। अनि त्यसलाई हव्वोत-याईर#32:41 हव्वोत-याईर अथवा याईरको बस्ती नाम राखे। 42अनि नोबहले केनात र त्यसका वरिपरिका बस्तीहरू कब्जा गरे। यसकारण ती बस्तीहरूका नाम आफ्नै नामअनुसार नोबह राखे।

Цяпер абрана:

गन्ती 32: NCV

Пазнака

Капіяваць

Параўнаць

Падзяліцца

None

Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце