मत्ती 19

19
सम्बन्ध-विच्छेद
1येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालील प्रदेश छोडेर यर्दनको अर्कोतिर भएको यहूदिया प्रदेशका इलाकाहरूमा जानुभयो। 2ठूला भीडहरू उहाँको पछि लागे। अनि त्यहाँ उहाँले तिनीहरूमध्येका बिरामीहरूलाई निको पार्नुभयो।
3केही फरिसीहरू उहाँलाई जाँच गर्न भनी उहाँकहाँ आए। तिनीहरूले सोधे, “जुनसुकै कारण भए तापनि के मानिसले आफ्नी पत्नीलाई त्याग्नु उचित हो?”
4उहाँले उत्तर दिनुभयो, “के तिमीहरूले धर्मशास्त्र पढेका छैनौ, सुरुमा सृष्‍टिकर्ताले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो,’#19:4 उत्प 1:27 5अनि भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि ती दुई एउटै शरीर हुनेछन्’?#19:5 उत्प 2:24 6यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।”
7तिनीहरूले सोधे, “त्यसो भए किन मोशाले त्यस मानिसले आफ्नी पत्नीलाई त्यागपत्र दिएर त्यागोस् भन्‍ने आज्ञा दिए त?”
8येशूले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई तिमीहरूको हृदयको कठोरताको कारण, तिमीहरूका पत्नीहरूलाई त्याग्ने अनुमति दिए। तर सुरुदेखि नै त यस्तो थिएन। 9म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई वैवाहिक व्यभिचारको कारणबाहेक अरू कारणले विवाह सम्बन्ध-विच्छेद गर्दछ, र अर्की स्त्रीलाई विवाह गर्दछ, उसले पनि व्यभिचार गर्दछ।”
10चेलाहरूले उहाँलाई भने, “यदि पति-पत्नीको बीचमा यस्तै अवस्था हो भने त विवाह नगर्नु नै असल रहेछ।”
11येशूले उत्तर दिनुभयो, “यो कुरा हरेकले ग्रहण गर्न सक्दैन। तर जसलाई यो दिइएको छ, उसले मात्र ग्रहण गर्न सक्छ। 12किनकि कोही त जन्मदेखि नै नपुंसक हुन्छन्: अरूलाईचाहिँ मानिसहरूले त्यस्ता बनाए। अनि अरूचाहिँ स्वर्गको राज्यको लागि नपुंसक नै भएर रहन चाहन्छन्। जसले यो स्वीकार गर्न सक्छ, त्यसले गरोस्।”
येशू र साना बालबालिकाहरू
13तब मानिसहरूले साना बालबालिकाहरूमाथि उहाँले हात राखिदेऊन्, र तिनीहरूका निम्ति प्रार्थना गरिदेऊन् भनी तिनीहरूलाई येशूकहाँ ल्याए; तर चेलाहरूले तिनीहरूलाई हप्काए।
14येशूले भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि स्वर्गको राज्य यस्तैहरूका लागि हो।” 15येशूले आफ्ना हात तिनीहरूमाथि राख्नुभयो, त्यसपछि उहाँ त्यहाँबाट जानुभयो।
धनी जवान मानिस र परमेश्‍वरको राज्य
16एक जना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, अनन्त जीवन प्राप्‍त गर्नलाई मैले के असल काम गर्नुपर्छ?”
17येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।”
18त्यस मानिसले सोध्यो, “कुन-कुनचाहिँ?”
येशूले जवाफ दिनुभयो, “ ‘हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो साक्षी नदिनू, 19आफ्ना बुबाआमालाई आदर गर्नू, आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू।’#19:19 प्रस 20:12‑16; व्यव 5:16‑20; लेवी 19:18
20त्यस जवान मानिसले जवाफ दियो, “मैले यी सबै पालन गर्दैआएको छु; ममा अझै के कमी छ?”
21येशूले उत्तर दिनुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ; अनि तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ। त्यसपछि आऊ, मेरो पछि लाग।”
22यो सुनेर त्यो जवान मानिस दुःखी भएर गइहाल्यो, किनकि ऊसँग धेरै सम्पत्ति थियो।
23तब येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म साँच्‍चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति कठिन छ। 24म फेरि तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
25जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्‍क परे र सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?”
26येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसका लागि यो असम्भव छ; तर परमेश्‍वरका लागि सबै कुरा सम्भव छन्।”
27पत्रुसले उहाँलाई जवाफ दिए, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ; त्यसो भए हामीले के पाउनेछौँ त?”
28येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, सबै कुरा नयाँ तुल्याइसकेपछि, जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा विराजमान हुनेछ; तिमीहरू पनि जसले उसलाई पछ्याएका छौ, इस्राएलका बाह्र कुलका न्याय गर्दै बाह्र वटा सिंहासनहरूमा बस्‍नेछौ। 29अनि जसले मेरा निम्ति घर, दाजुभाइ, दिदीबहिनीहरू, बुबाआमा, बालबच्‍चा र जग्गाजमिन छोडेको छ, त्यसले त्यसको सय गुणा र अनन्त जीवन पाउनेछ। 30तर धेरै जो पहिला छन्, ती पछिल्‍ला हुनेछन्, र जो पछिल्‍ला छन्; ती पहिला हुनेछन्।

Цяпер абрана:

मत्ती 19: NCV

Пазнака

Капіяваць

Параўнаць

Падзяліцца

None

Хочаце, каб вашыя адзнакі былі захаваны на ўсіх вашых прыладах? Зарэгіструйцеся або ўвайдзіце