उत्पत्ति 40
40
योसेफले कैदीहरूको सपनाको अर्थ खोल्छन्
1केही समयपछि मिश्रका राजाको मुख्य-भान्से र मुख्य-मद्य टक्र्याउने मानिसले काम बिगारेर राजालाई रिस उठाए। 2-3रिसमा राजाले ती दुईलाई पहरेदारको कप्तानको घरमा भएको झ्यालखानमा हालिदिए। योसेफ पनि त्यहीँ नै थुनामा परेका थिए। 4तिनीहरूले धेरै दिन कैदमा बिताउनुपर्यो। कप्तानले योसेफलाई तिनीहरूको चाकर खटाइदिए।
5एक रात झ्यालखानमा ती दुई भान्से र मद्य टक्र्याउने मानिसले एक-एक वटा तर भिन्नाभिन्नै अर्थ भएको सपना देखे। 6बिहान तिनीहरूकहाँ आउँदा योसेफले तिनीहरूलाई चिन्तामा परेका देखे। 7उनले सोधे, “आज किन यति चिन्तित देखा पर्नुहुन्छ?”
8तिनीहरूले उत्तर दिए, “हामी दुवैले राती एक-एक वटा सपना देख्यौं तर सपनाको अर्थ लाउने मानिस यहाँ कोही पनि छैन।”
योसेफले भने, “सपनाको अर्थ खोल्ने ज्ञान त परमेश्वरले दिनुहुन्छ। मलाई तपाईंहरूको सपना भन्नुहोस् त।”
9मद्य टक्र्याउनेले भन्यो, “सपनामा मेरो अघि एउटा दाखमद्यको बोट थियो। 10त्यसमा तीनवटा हाँगाहरू थिए। बोटमा पात लाग्ने बित्तिकै फूलै-फूल र फल फलेर पाके। 11राजाको कचौरा मेरो हातमा थियो। मैले दाख टिपेर कचौरामा निचोरें र त्यो राजालाई टक्र्याएँ।”
12योसेफले भने, “त्यसको अर्थ यो हो, तीनवटा हाँगाहरूले तीन दिन बुझाउँछ। 13आजको तीन दिनमा राजाले तपाईंलाई कैददेखि छोडिदिनुहुनेछ। तपाईंलाई माफ गरेर तपाईंको आफ्नो काम दिनुहुनेछ। पहिलेजस्तै मद्य टक्र्याउन गएझैँ तपाईंले राजालाई उहाँको कचौरा फेरि टक्र्याउनुहुनेछ। 14तर कृपा गरी तपाईंको सुदिनमा मलाई सम्झनुहोला र दया गरी राजाकहाँ मेरो बारे भन्नुहोला र मलाई कैदबाट छुटाउनमा मद्दत गर्नुहोला। 15वास्तवमा मलाई हिब्रूहरूको देशबाट चोरी गरेर ल्याएको हो अनि यहाँ मिश्रदेशमा पनि मैले कैदमा पर्ने कुनै यस्तो काम गरेको छैनँ।”
16मद्य टक्र्याउने मानिसको सपनाको अर्थ असल लागेको देखेर मुख्य भान्सेले योसेफलाई भन्यो, “मैले पनि एउटा सपना देखें। मैले टाउकोमा तीनवटा रोटीका डालाहरू बोकेको थिएँ। 17माथिल्लो डालामा राजाको निम्ति सबै प्रकारका स्वादिला खानेकुराहरू राखिएका थिए र चरा-चुरुङ्गीहरूले ती ठुँगी खाँदै थिए।”
18योसेफले उत्तर दिए, “त्यसको अर्थ यो हो: तीनवटा डालाहरूले तीन दिन बुझाउँछ। 19तीन दिनमा राजाले तपाईंलाई कैददेखि छुटाउनुहुनेछ र तपाईंको शिर काट्न लगाउनुहुनेछ। त्यसपछि राजाले तपाईंको लाश खम्बामा झुन्ड्याइदिनुहुनेछ र चराहरूले तपाईंको मासु ठुँगी खानेछन्।”
20तीन दिनपछि आफ्नो जन्मदिनको उत्सवमा राजाले आफ्ना सबै भारदारहरूलाई भोज दिए। आफ्ना मुख्य-भान्से र मद्य टक्र्याउने मानिसहरूलाई भारदारहरूका अघि ल्याएर उभ्याए। 21मद्य टक्र्याउने मानिसलाई उसको पुरानो काम दिए, 22तर मुख्य-भान्सेको शिर काट्न लाए। सबै कुरा योसेफले भनेअनुसार नै भयो। 23तर मद्य टक्र्याउने मानिसले योसेफको बारेमा केही सोचेन, त्यसले उनलाई बिर्सिहाल्यो।
Àwon tá yàn lọ́wọ́lọ́wọ́ báyìí:
उत्पत्ति 40: सरल नेपाली
Ìsàmì-sí
Pín
Daako

Ṣé o fẹ́ fi àwọn ohun pàtàkì pamọ́ sórí gbogbo àwọn ẹ̀rọ rẹ? Wọlé pẹ̀lú àkántì tuntun tàbí wọlé pẹ̀lú àkántì tí tẹ́lẹ̀
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.