प्रेरित 9
9
शाऊलको हृदय परिवर्तन
1तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पुजारीकहाँ गए, 2र दमस्कसमा भएका विश्वासी पुरुष र स्त्रीलाई बन्दी बनाई यरूशलेममा ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाममा पत्रहरू मागे। 3आफ्नो यात्राको क्रममा उनी जब दमस्कसको नजिकै पुगे, तब अकस्मात् स्वर्गबाट एउटा प्रकाश उनको चारैतिर चम्क्यो। 4उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?”
5शाऊलले भने, “हे प्रभु, तपाईं को हुनुहुन्छ?”
उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ। 6अब तिमी उठ र दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।”
7शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अक्न न बक्क भएर उभिए। किनकि जो तिनीसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्। 8शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्याउँदै दमस्कसमा पुर्याए। 9तीन दिनसम्म तिनी दृष्टिविहीन भए, र केही खानपिन गरेनन्।
10हननिया नाम गरेका एक जना चेला दमस्कसमा थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “हे हननिया!”
तिनले जवाफ दिए, “हजुर, प्रभु!”
11प्रभुले तिनलाई भन्नुभयो, “तिमी सीधा नामको सडकमा यहूदाको घरमा जाऊ; र टार्सस निवासी शाऊल नामको व्यक्तिलाई त्यहाँ भेट। ऊ त्यस घरमा प्रार्थना गरिरहेको छ। 12उसले हननिया नाम गरेका व्यक्तिले उसको शिरमा आफ्ना हातहरू राखेर फेरि आँखा देख्ने तुल्याएको दर्शनमा देखेको छ।”
13तब हननियाले जवाफ दिए, “प्रभु, यस मानिसले यरूशलेममा तपाईंका पवित्र जनहरूलाई सताएको र तिनीहरूमाथि गरेको अत्याचारहरूका बारेमा मैले धेरैजनाबाट सुनेको छु, 14र यहाँ पनि हजुरका नाम लिनेहरूलाई बन्दी बनाउन मुख्य पुजारीहरूबाट अधिकार लिएर त्यो मानिस आएको हो।”
15तर प्रभुले हननियालाई भन्नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु। 16मेरो नामका निम्ति उसले कतिसम्म दुःख भोग्नुपर्छ म उसलाई देखाउनेछु।”
17त्यसपछि हननिया त्यस घरभित्र गए। शाऊलको शिरमा आफ्ना हातहरू राखेर उनले यसो भने, “भाइ शाऊल, तिमी यस सहरमा आउँदा तिमीलाई बाटोमा दर्शन दिनुहुने प्रभु येशूले तिमीले फेरि देख्न सक, र तिमी पवित्र आत्माले भरपूर होऊ भनी मलाई यहाँ पठाउनुभएको छ।” 18तुरुन्तै शाऊलका आँखाहरूबाट पाप्राहरूजस्ता केही कुरा खसे; र तिनी फेरि देख्न सक्ने भए। तब तिनी उठे, र बप्तिस्मा लिए। 19अनि केही खानेकुरा खाएपछि तिनले फेरि शक्ति पाए।
शाऊल दमस्कस र यरूशलेममा
शाऊलले दमस्कसमा चेलाहरूसँग धेरै दिन बिताए। 20अनि तुरुन्तै तिनले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनेर सभाघरहरूमा प्रचार गर्न सुरु गरे। 21तिनका कुरा जति जनाले सुने, ती सबैले अचम्म मानेर सोधे, “के यो मानिस त्यही होइन, जसले यरूशलेममा यही नाम लिने मानिसहरूमाथि ठूलो अत्याचार गरेको थियो? त्यति मात्र होइन, यहाँ पनि यो नाम लिने मानिसहरूलाई समातेर मुख्य पुजारीहरूकहाँ सुम्पन यो आएको होइन र?” 22तर शाऊल झन्-झन् शक्तिशाली हुँदै प्रचार गर्न थाले र दमस्कसका यहूदीहरूका बीच येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाणित गरेर तिनीहरूलाई छक्क पारे।
23धेरै दिन बितेपछि, यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र गरे। 24तर शाऊलले तिनीहरूका योजना थाहा पाए। तिनलाई मार्न सहरका ढोकाहरूमा मानिसहरू दिनरात पहरा दिन थाले। 25तर तिनका चेलाहरूले मध्यरातको पहरमा तिनलाई एउटा डालोभित्र राखेर पर्खालको प्वालबाट बाहिर निकाले।
26यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्न खोजे। तर तिनीहरू सबै जना उनीसँग डराए; किनकि शाऊल पनि चेला भइसकेको तथ्यलाई तिनीहरूले विश्वास गर्न सकेनन्। 27तर बारनाबासले तिनलाई प्रेरितहरूकहाँ लिएर गए। दमस्कसको आफ्नो यात्रामा शाऊलले कसरी प्रभुलाई देखे, कसरी प्रभु तिनीसँग बोल्नुभयो, र त्यस सहरमा कसरी उनले साहससाथ येशूको नामको प्रचार गरे, यी सबै कुरा बारनाबासले तिनीहरूलाई बताए। 28त्यसपछि शाऊल तिनीहरूसँगै बसे। अनि यरूशलेममा स्वतन्त्र भएर घुम्दै साहससाथ प्रभुको नामको प्रचार गर्न थाले। 29ग्रीकभाषी यहूदीहरूका बीच उहाँको नामको वर्णन गर्नुको साथै उनीहरूसँगै वाद-विवाद पनि गरे। तर तिनीहरूले तिनलाई मार्ने योजना बनाए। 30यो कुरा अरू विश्वासीजनहरूले थाहा पाएपछि तिनलाई कैसरियामा ल्याई त्यहाँबाट टार्सस पठाइदिए।
31त्यसपछि यहूदिया, गालील र सामरियाका मण्डलीमा केही शान्ति छायो र मण्डली सुदृढ भयो। तब मानिसहरू प्रभुको डरमा जिउन थाले, र पवित्र आत्माद्वारा उत्साह पाएर तिनीहरू संख्यामा वृद्धि हुँदैगए।
एनियास र डोरकास
32पत्रुस विभिन्न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्ने पवित्र जनहरूलाई भेट्न गए। 33तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे। 34पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको तुल्याउनुहुन्छ। उठ र आफ्नो ओछ्यान मिलाऊ।” तब एनियास तुरुन्तै उठ्यो। 35त्यसपछि लिड्डा र शारोनमा बस्ने सबै जनाले त्यसलाई देखे, र प्रभुमा फर्के।
36योप्पा सहरमा तबीता (ग्रीक भाषामा उनलाई डोरकास भनिन्थ्यो) नामकी एक जना बहिनी थिइन्। तिनी सदा असल कार्य गरिरहन्थिन् र गरिबहरूलाई सहायता पनि गर्ने गर्थिन्। 37त्यही समयमा तिनी बिरामी भइन्, र मरिन्। तिनलाई नुहाइदिएर माथिल्लो तलाको कोठामा राखियो। 38लिड्डाचाहिँ योप्पाको नजिकै थियो। त्यसैले चेलाहरूले पत्रुस लिड्डामा भएको सुनेर तिनीहरूले दुई जनालाई तिनीकहाँ पठाएर अनुरोध गरे, “कृपया तुरुन्तै आउनुहोस्।”
39तब पत्रुस तिनीहरूसँग गए, र जब तिनी त्यहाँ पुगे, उनलाई माथि कोठामा लगियो। सबै विधवाहरू उनको चारैतिर उभिएर रुँदै तिनीहरूसँग भएको बेला डोरकासले बनाएका पोशाक र अरू लुगाहरू तिनीहरूले देखाए।
40त्यस कोठाभित्र भएका सबैलाई पत्रुसले बाहिर पठाए। त्यसपछि उनले घुँडा टेकेर प्रार्थना गरे। मरेकी स्त्रीतिर फर्केर उनले भने, “तबीता, उठ!” अनि तिनले आफ्ना आँखाहरू खोलिन्, र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन्। 41पत्रुसले हातले समातेर तिनलाई आफ्नै खुट्टामा उभिन मदत गरे। त्यसपछि तिनले विधवा तथा पवित्र जनहरूलाई कोठाभित्र बोलाए। अनि जीवित तबीतालाई तिनीहरूकहाँ सुम्पिदिए। 42यो घटना सम्पूर्ण योप्पा सहरबासीले थाहा पाए। अनि धेरै जनाले प्रभुमा विश्वास गरे। 43त्यसपछि, पत्रुस योप्पा सहरमा सिमोन नामको एक जना छालाको काम गर्नेको घरमा केही दिनसम्म बसे।
موجودہ انتخاب:
प्रेरित 9: NCV
سرخی
شئیر
موازنہ
کاپی
کیا آپ جاہتے ہیں کہ آپ کی سرکیاں آپ کی devices پر محفوظ ہوں؟ Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.