प्रेरित 8

8
1अनि त्यस हत्यामा शाऊलको पनि सहमति थियो।
मण्डली सताइएको र तितरबितर पारिएको
त्यसै दिन यरूशलेमका मण्डलीहरूका विरुद्ध ठूलो सतावट र दमन सुरु भयो। यसले गर्दा प्रेरितहरूबाहेक सबै दाजुभाइ-दिदीबहिनीहरू यहूदिया र सामरियाका इलाकातिर तितरबितर भए। 2परमेश्‍वरका जनहरूले स्तिफनसलाई चिहानमा लगेर गाडे, र उनको मृत्युमा गहिरो शोक मनाए। 3तर शाऊलले भने मण्डलीलाई नष्‍ट गरिरहेका थिए। तिनले घर-घरमा पसेर पुरुषहरू र महिलाहरूलाई घिस्याउँदै ल्याएर तिनीहरूलाई झ्यालखानामा हाल्‍दथे।
फिलिप सामरियामा
4तिनीहरू तितरबितर भएर चारैतिर छरिएकाहरू जहाँ-जहाँ पुगे, तिनीहरूले वचन प्रचार गर्दैगए। 5फिलिप सामरियाको एउटा सहरमा पुगे, र त्यहाँ ख्रीष्‍टको प्रचार गर्न थाले। 6जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, अनि तिनले गरेका अलौकिक चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए। 7धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के। अनि धेरै पक्षघात भएका रोगीहरू र लङ्गडाहरू निको पारिए। 8यसरी त्यस सहरमा ठूलो आनन्द छायो।
सिमोन जादुगर
9त्यसै सहरमा केही समयदेखि सिमोन नामको मानिसले जादु गरेर सामरियाका सबै मानिसहरूलाई अचम्ममा पारेको थियो; जसले आफूलाई एउटा महान् व्यक्ति भएको दाबी गर्थ्यो। 10साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्‍चर्य प्रकट गर्दै, “यो मानिस परमेश्‍वरका शक्ति, महाशक्ति हो” भनी मान्दथे। 11तिनीहरू त्यसको पछि लाग्थे, किनकि धेरै समयदेखि तिनीहरूलाई त्यसले आफ्ना जादुहरूले अचम्म पारिरहेको थियो। 12तर परमेश्‍वरको राज्यको सुसमाचार र येशू ख्रीष्‍टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्‍वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्‍तिस्मा लिए। 13सिमोन आफैँले पनि विश्‍वास गर्‍यो; र बप्‍तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्‍क पर्‍यो।
14जब सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरेका यरूशलेमका प्रेरितहरूले सुने, तब तिनीहरूले पत्रुस र यूहन्‍नालाई सामरियामा पठाए। 15जब तिनीहरू त्यहाँ आइपुगे, तब ती नयाँ मानिसहरूका लागि पवित्र आत्मा प्राप्‍त गर्न सकून् भनेर तिनीहरूले प्रार्थना गरे। 16किनकि तिनीहरू कसैमाथि पनि पवित्र आत्मा अझै आउनुभएको थिएन। प्रभु येशूको नाममा तिनीहरूले बप्‍तिस्मा मात्रै लिएका थिए। 17त्यसैकारण तिनीहरूमाथि पत्रुस र यूहन्‍नाले आफ्नो हात राखिदिए, र तिनीहरूले पवित्र आत्मा प्राप्‍त गरे।
18प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, तब उसले तिनीहरूलाई पैसा दिन खोज्यो। 19अनि भन्यो, “मलाई पनि यस्तै गर्न सक्ने अधिकार दिनुहोस्, मैले पनि जसमाथि हात राखूँला, त्यसले पवित्र आत्मा प्राप्‍त गरोस्!”
20यो सुनेर पत्रुसले जवाफ दिए: “तिमीसँगै तिम्रो धनसम्पत्ति पनि नाश होस्; किनकि धनसम्पत्तिबाट परमेश्‍वरको वरदान तिमी किन्‍न सक्छौ भनी तिमीले सोचेका छौ! 21यस सेवा कार्यमा तिम्रो सहभागिता वा कुनै हिस्सा छैन। किनकि परमेश्‍वरको सामु तिम्रो हृदय ठिक छैन। 22यस दुष्‍ट्याइँका निम्ति पश्‍चात्ताप गर, र प्रभुसँग प्रार्थना गर। तिम्रो हृदयको यस्तो दुष्‍ट विचार सायद उहाँले क्षमा गरिदिनुहुनेछ। 23किनकि म देख्दैछु, तिमी तितोपनाले भरिपूर्ण छौ र पापको बन्दी भएका छौ।”
24यो सुनेर सिमोनले जवाफ दियो, “मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंले भन्‍नुभएका कुनै पनि कुरा ममाथि आइनपरोस्!”
25जब तिनीहरूले प्रभुको वचनको घोषणा गरे, अनि त्यसको साक्षी दिए, तब पत्रुस र यूहन्‍ना यरूशलेम फर्के। फर्किएर जाने क्रममा तिनीहरूले सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दैगए।
फिलिप र इथियोपियाली
26त्यसपछि प्रभुको एउटा दूतले फिलिपसँग यसो भने, “यरूशलेमबाट गाजातर्फ जाने दक्षिणतिर मरुभूमिको सडकमा तिमी जाऊ।” 27अनि तिनी त्यतैतिर लागे। बाटोमा तिनले एक जना इथियोपियाली नपुंसकलाई भेटे। ती नपुंसक इथियोपियाली महारानी कन्दाकीको सम्पूर्ण सम्पत्तिको रेखदेख गर्ने महत्त्वपूर्ण उच्‍च अधिकारी थिए। ती मानिस आराधनाका निम्ति यरूशलेम गएका थिए, 28र घर फर्कँदा बाटोमा आफ्नो रथमा बसेर अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। 29फिलिपलाई पवित्र आत्माले भन्‍नुभयो, “नजिकै जाऊ, र त्यो रथ सँगसँगै लाग।”
30अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?”
31“जबसम्म यसको व्याख्या कसैले गरिदिँदैन, म कसरी बुझ्नसक्छु?” उनले जवाफ दिए। त्यसैले तिनले फिलिपलाई रथमाथि उक्लेर आफूसँगै बस्‍न आग्रह गरे।
32ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए:
“उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो,
जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ,
त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन।
33उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो।
उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ?
किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।”#8:33 यशै 53:7, 8
34नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्‍नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” 35त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए।
36तिनीहरू बाटोमा जाँदै गर्दा केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्‍तिस्मा किन यहीँ गरिदिनुहुन्‍न?”
37फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्छ भने तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ।”
तिनले जवाफ दिए, “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी म विश्‍वास गर्दछु।#8:37 केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।38अनि तिनले रथ रोक्न हुकुम दिए; अनि फिलिप र ती नपुंसक दुवै पानीभित्र पसे, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए। 39जब तिनीहरू पानीबाट बाहिर आए, तब प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो, र त्यसपछि ती नपुंसकले फिलिपलाई फेरि देखेनन्। अनि तिनी आनन्दित हुँदै आफ्नो बाटो लागे। 40तर फिलिपले आफूलाई अश्दोदमा पाए। अनि त्यहाँबाट कैसरिया नपुगुन्जेलसम्म बाटोमा पर्ने सबै सहरहरूमा सुसमाचार प्रचार गरे।

موجودہ انتخاب:

प्रेरित 8: NCV

سرخی

شئیر

موازنہ

کاپی

None

کیا آپ جاہتے ہیں کہ آپ کی سرکیاں آپ کی devices پر محفوظ ہوں؟ Sign up or sign in