1 कोरिन्थी 4
4
ख्रीष्टका प्रेरितहरू
1यसरी तिमीहरूले हामीलाई ख्रीष्टका सेवकहरू र परमेश्वरका रहस्यका भण्डारे ठान्नुपर्छ। 2भण्डारेहरू विश्वासयोग्य हुन आवश्यक छ। 3यदि तिमीहरूद्वारा अथवा अरू मानवीय अदालतद्वारा मेरो न्याय हुन्छ भने यो मेरो लागि सानो कुरा हो। वास्तवमा म स्वयम् आफ्नो न्याय गर्दिनँ। 4मेरो विवेक शुद्ध छ, तर पनि यसले मलाई निर्दोष ठहराउँदैन। मलाई न्याय गर्ने प्रभु हुनुहुन्छ। 5यसकारण तोकिएको समयभन्दा पहिले न्याय नगर, प्रभु नआउन्जेल पर्ख। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ। त्यस समय हरेकले प्रभुबाट प्रशंसा पाउनेछन्।
6दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूका भलाइको लागि यी कुराहरू आफू र अपोल्लोसलाई उदाहरणको रूपमा प्रयोग गरेको छु, ताकि हामीबाट तिमीहरूले भनाइको अर्थ सिक्न सक, “लेखिएको कुराभन्दा टाढा नजाओ।” तब तिमीहरू एउटाको विरुद्धमा अर्कोको अनुयायी भनी घमण्डले फुल्ने छैनौ। 7कसले तिमीलाई अरूभन्दा श्रेष्ठ तुल्यायो? तिमीसँग परमेश्वरले नदिनुभएको के छ र? र यदि तिमीलाई सबै थोक परमेश्वरले दिनुभएको हो भने केही पनि नपाएको जस्तो गरी किन घमण्ड गर्दछौ?
8तिमीहरूले चाहेका कुराहरू अगि नै पाइसकेका छौ! तिमीहरू धनी भइसकेका छौ! हामीविना नै तिमीहरू राजा भएका छौ। म तिमीहरू साँच्चै राजा भएर काम गरेको चाहन्छु, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौँ! 9किनकि मलाई यस्तो लाग्छ, परमेश्वरले हामी प्रेरितहरूलाई मैदानमा दोष लगाएर मारिनलाई लगिएका मानिसहरूका ताँतीमा जस्तै पछिल्तिर प्रदर्शनको लागि राख्नुभएको छ। हामी सारा संसारका, स्वर्गदूतहरूका र मानव जातिहरूका अगाडि तमाशा बनाइएका छौँ। 10हामी ख्रीष्टका निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमान् छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलवान् छौ! तिमीहरूले सम्मान पाएका छौ, तर हामीले अपमान। 11अहिले पनि हामी भोकाएका र तिर्खाएका छौँ, हामी झुत्रे-झाम्रे छौँ, हामीलाई क्रूरतासाथ व्यवहार गरिन्छ र हामी घरविहीन छौ। 12हामी आफ्नै हातले कठोर परिश्रम गर्छौँ। जब हामीलाई गिल्ला गरिन्छ, हामी आशिष् दिन्छौँ; जब हामीलाई सताइन्छ, हामी सहन्छौँ। 13जब हामी निन्दित हुन्छौँ, नम्रतापूर्वक जवाफ दिन्छौँ। अहिले पनि हामी संसारका कसिङ्गर र फोहोर भएका छौँ।
पावलको बिन्ती र चेतावनी
14मैले यी कुराहरू तिमीहरूलाई शर्ममा पार्नलाई होइनँ, तर मेरा प्यारा सन्तानलाईझैँ चेतावनी दिनलाई लेख्दैछु। 15ख्रीष्टमा तिमीहरूका दश हजार अभिभावकहरू हुन सक्लान्, तिमीहरूका धेरै पिताहरू हुँदैनन्; किनकि ख्रीष्ट येशूमा सुसमाचारद्वारा म तिमीहरूका पिता भएको छु। 16यसकारण म तिमीहरूलाई मेरो अनुकरण गर भनी बिन्ती गर्दछु। 17यसैकारण मैले मेरो छोरा तिमोथी, जसलाई म प्रेम गर्छु, जो प्रभुमा विश्वासयोग्य छन्, तिनलाई तिमीहरूकहाँ पठाएको छु। तिनैले तिमीहरूलाई ख्रीष्ट येशूमा मेरो जीवन जिउने तरिका सम्झना गराउनेछन्, जुनचाहिँ सबै ठाउँहरूका सबै मण्डलीहरूमा मैले सिकाएबमोजिम छ।
18म तिमीहरूकहाँ आउँदिनँ जस्तो ठानेर तिमीहरूमध्ये कति जना घमण्डी भएका छौ। 19तर यदि प्रभुको इच्छा भयो भने म चाँडै आउनेछु र यी घमण्डी मानिसहरूले के भनिरहेका छन् भन्ने मात्र होइन, तर तिनीहरूसँग कस्तो शक्ति छ, त्यो पनि म पत्तो लगाउनेछु। 20किनकि परमेश्वरको राज्य कुरा गराइमा होइन, तर शक्तिमा हुन्छ। 21तिमीहरू के चाहन्छौ? के म तिमीहरूकहाँ अनुशासनको छडी लिएर आऊँ, वा प्रेममा र नम्रताको आत्मासाथ आऊँ?
ప్రస్తుతం ఎంపిక చేయబడింది:
1 कोरिन्थी 4: NCV
హైలైట్
కాపీ
సరిపోల్చండి
షేర్ చేయి
మీ పరికరాలన్నింటి వ్యాప్తంగా మీ హైలైట్స్ సేవ్ చేయబడాలనుకుంటున్నారా? సైన్ అప్ చేయండి లేదా సైన్ ఇన్ చేయండి
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.