1 कोरिन्थी 3
3
मण्डलीमा विभाजन
1दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसँगझैँ बोल्न सकिनँ, तर सांसारिक मानिसहरूसँग अथवा ख्रीष्टमा दुधे बालकहरूसँगझैँ बोल्नुपर्यो। 2मैले तिमीहरूलाई खँदिलो भोजन होइन, दूध खुवाएँ; किनकि तिमीहरू खँदिलो भोजनको लागि तयार थिएनौ। वास्तवमा अझ पनि तिमीहरू तयार छैनौ। 3तिमीहरू अझै पनि सांसारिक नै छौ; किनकि तिमीहरूका बीचमा डाह र कलहहरू छन्। त्यसो भए के तिमीहरू सांसारिक होइनौ र? तिमीहरू संसारका मानिसहरूजस्तै चल्दैनौ र? 4किनकि जब एउटाले “म पावलको हुँ,” अनि अर्कोले, “म अपोल्लोसको हुँ,” भन्छ भने के तिमीहरू केवल मानिसहरूजस्तै भएनौ र?
5त्यसो हो भने अपोल्लोस को हुन्? अनि पावल को हो? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले सुसमाचारमा विश्वास गर्यौ; अनि प्रभुले हामीलाई काम दिएअनुसार पूरा गर्यौँ। 6मैले बिउ रोपेँ, अपोल्लोसले पानी लगाए, तर परमेश्वरले नै त्यसलाई बढाउनुभएको हो। 7यसकारण न रोप्ने केही हो, न त पानी हाल्ने केही हो; तर परमेश्वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ। 8रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ। 9किनकि हामी परमेश्वरको सेवामा सहकर्मी हौँ; तिमीहरू परमेश्वरको खेतबारी र उहाँको भवन हौ।
10परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एक जना सिपालु मिस्त्रीलेझैँ एउटा जग बसालेको छु; अनि अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ। तर बनाउने प्रत्येकले होसियारीसाथ बनाउँदै जानुपर्छ। 11तर जुन जग बसालिएको छ; त्यो जग स्वयम् येशू ख्रीष्ट हुनुहुन्छ; त्यसबाहेक कसैले अर्को जग बसाल्न सक्दैन। 12यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने, 13हरेकको काम कस्तो रहेछ भनी देखाइनेछ; किनकि त्यस दिनले हरेकका कामलाई ज्योतिमा ल्याउनेछ; अनि आगोद्वारा काम प्रकट हुनेछ, र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ। 14यदि त्यसले बनाएको काम रहिरह्यो भने त्यस कामदारले इनाम पाउनेछ। 15यदि त्यो काम जलेर नष्ट भयो भने कामदारले नोक्सानी उठाउनुपर्नेछ; तापनि आगोको ज्वालाबाट बाँचेझैँ आफूचाहिँ बाँच्नेछ।
16के तिमीहरू आफैँ परमेश्वरको मन्दिर हौ र परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्ने कुरा जान्दैनौ? 17यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्दछ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ; किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ, जुन मन्दिरचाहिँ तिमीहरू नै हौ।
18तिमीहरू आफैँलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने तिमीहरू बुद्धिमान् हुनको लागि “मूर्ख” बन्नुपर्छ। 19किनकि परमेश्वरको दृष्टिमा यस संसारको बुद्धि मूर्खता हो। यसरी लेखिएको छ: “उहाँले बुद्धिमान्लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ।”#3:19 इयोब 5:13 20अनि फेरि, “प्रभुले जान्नुहुन्छ कि बुद्धिमान्हरूका विचारहरू व्यर्थ हुन्।”#3:20 भजन 94:11 21यसकारण कसैले मानवीय अगुवाहरूबारे घमण्ड नगर! सबै कुरा तिमीहरूकै हुन्, 22चाहे पावल वा अपोल्लोस वा केफास वा जीवन वा संसार वा मृत्यु वा वर्तमान वा भविष्य—सबै तिमीहरूकै हुन्। 23तिमीहरूचाहिँ ख्रीष्टका हौ, र ख्रीष्टचाहिँ परमेश्वरको हुनुहुन्छ।
ప్రస్తుతం ఎంపిక చేయబడింది:
1 कोरिन्थी 3: NCV
హైలైట్
కాపీ
సరిపోల్చండి
షేర్ చేయి
మీ పరికరాలన్నింటి వ్యాప్తంగా మీ హైలైట్స్ సేవ్ చేయబడాలనుకుంటున్నారా? సైన్ అప్ చేయండి లేదా సైన్ ఇన్ చేయండి
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.