मर्कूस 15
15
येशू पिलातसको सामुन्ने
(मत्ती २७:१-२,११-२६; लूका २३:१-५,१३-२५; यूहन्ना १८:२८—१९:१६)
1बिहान सबेरै मुख्य पूजाहारी, अगुवा र धर्म-गुरुहरू र महासभाका जम्मै सदस्यहरूले सभा गरे अनि येशूलाई बाँधेर तिनीहरूले रोमी बडा-हाकिम पिलातसकहाँ पुर्याए। 2पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।” 3मुख्य पूजाहारीहरूले येशूलाई धेरै कुराहरूको दोष लगाए। 4त्यसकारण पिलातसले उहाँलाई फेरि सोधे, “के तिमीलाई आफ्नो बारेमा केही भन्नु छैन? हेर त तिनीहरूले तिमीलाई कति धेरै दोष लगाइरहेका छन्।” 5तर येशूले कुनै उत्तर दिनुभएन। यो देखेर पिलातसलाई अचम्म लाग्यो।
6मुक्ति-दिवस चाडको बेलामा पिलातसले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्ने गरेका थिए। 7त्यस बेला बारब्बा नाउँ भएको एक जना मानिस थुनामा परेको थियो। त्यसले अरूसँग मिलेर आन्दोलनमा मानिस पनि मारेको थियो। 8अनि मानिसहरूको भीडले पिलातसकहाँ आएर ‘अरू वर्षजस्तै यस वर्ष पनि एक जना कैदी छोडिदिनुहोस्’ भनी बिन्ती गर्न लागे। 9पिलातसले भने, “त्यसो भए यहूदीहरूको राजा भन्नेलाई छाडिदिऊँ त?” 10मुख्य पूजाहारीले डाह गरेर येशूलाई उनीकहाँ सुम्पन ल्याएका हुन् भन्ने कुरा पिलातसलाई थाहा थियो।
11तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई सुर्याएर ‘येशूलाई होइन, बारब्बालाई नै छाडिदेओ’ भन्न लगाए। 12पिलातसले मानिसहरूलाई फेरि सोधे, “तिमीहरूले यहूदीहरूका राजा भनेकोलाई चाहिँ म के गरूँ त?” 13तिनीहरूले कराउँदै भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।” 14पिलातसले सोधे, “यिनले के अपराध गरेका छन्?” तर तिनीहरूले झन् चिच्च्याएर भने, “त्यसलाई क्रूसमा झुण्ड्याउनुहोस्।” 15पिलातस भीडलाई खुसी पार्न चाहन्थे। यसैकारण उनले बारब्बालाई नै छोडिदिए। येशूलाई चाहिँ उनले कोर्रा लगाएर क्रूसमा झुण्ड्याउन जिम्मा लगाए।
सिपाहीहरूले येशूलाई गिल्ला गरेका
(मत्ती २७:२७-३१; यूहन्ना १९:२-३)
16सिपाहीहरूले येशूलाई बडा-हाकिमको दरबारभित्र लगे र अरू सबै सिपाहीहरूलाई बोलाएर ल्याए। 17तिनीहरूले येशूलाई राजाको जस्तै बैजनी रङ्गको पोशाक पहिराइदिए अनि काँडाको मुकुट बनाएर शिरमा लगाइदिए। 18त्यसपछि तिनीहरूले उहाँलाई ‘यहूदीहरूका राजाको जय होस्!’ भन्दै अभिवादन ठोके। 19तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए, थुके अनि घुँडा टेकेर उहाँलाई ढोगे। 20यसरी गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी रङ्गको पोशाक फुकालेर उहाँको आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा झुण्ड्याउन लगे।
येशूलाई क्रूसमा टाँगेका
(मत्ती २७:३२-४४; लूका २३:२६-४३; यूहन्ना १९:१७-२७)
21 #
रोमी 16:13
बाटोमा जाँदाजाँदै तिनीहरूले कुरेनी देशको सिमोनलाई गाउँबाट सहरतिर आइरहेको भेटे। उनी अलेक्जेन्डर र रूफसका बुबा थिए। सिपाहीहरूले उनलाई जबरजस्ती येशूको क्रूस बोक्न लगाए 22अनि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा लगे। गलगथा भनेको चाहिँ ‘खप्परे ठाउँ’ हो। 23त्यहाँ पुगेर तिनीहरूले येशूलाई मूर्र मिसाएको दाखमद्य दिए। तर येशूले पिउनुभएन। 24#भजनसंग्रह 22:18त्यसपछि तिनीहरूले येशूलाई किला ठोकेर क्रूसमा झुण्ड्याए। उहाँको लुगाहरू कस-कसको भागमा पर्ने हो भनेर तिनीहरूले चिट्ठा हालेर बाँडे।
25येशूलाई क्रूसमा झुण्ड्याउँदा बिहानको नौ बजेको थियो। 26उहाँलाई दोष लाएको कुरा क्रूसमा यसरी लेखिएको थियो— ‘यहूदीहरूका राजा’। 27#यशैया 53:12येशूलाई झुण्ड्याउँदा तिनीहरूले दुई जना डाकुहरूलाई पनि येशूको दाहिने र देब्रेपट्टि क्रूसमा झुण्ड्याए। 28[यसरी धर्मशास्त्रमा लेखिएको यो कुरा पूरा हुन आयो– उहाँ अपराधीहरूसँगै गनिनुभयो।]
29 #
भजनसंग्रह 22:7; 109:25;
मर्कूस 14:58; यूहन्ना 2:19 त्यो बाटो हिंड्नेहरूले मुण्टो हल्लाई-हल्लाई येशूको गिल्ला गर्दै भने, “लौ हेर! मन्दिर भत्काएर फेरि तीनै दिनमा बनाउन सक्नेलाई! 30ए आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!” 31त्यसैगरी मुख्य पूजाहारी र धर्म-गुरुहरूले पनि येशूको गिल्ला गरे। तिनीहरूले आपसमा भने, “त्यसले अरूलाई त बचायो, तर आफैंलाई चाहिँ बचाउन सकेन। 32ए इस्राएलीहरूका मुक्ति दिने राजा ख्रीष्ट! क्रूसबाट ओर्लिएर आइज, हामी हेरौं! अनि पो विश्वास गरौंला!” उहाँसँगै क्रूसमा झुण्ड्याइएकाहरूले पनि उहाँको निन्दा गरे।
येशूको मृत्यु
(मत्ती २७:४५-५६; लूका २३:४४-४९; यूहन्ना १९:२८-३०)
33दिउँसो बाह्र बजेदेखि तीन बजेसम्म देशभरि नै अँध्यारो भयो। 34#भजनसंग्रह 22:1तीन बजेतिर येशूले ठूलो सोर निकालेर भन्नुभयो, “इलोई, इलोई लामा सबखथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर मलाई किन त्याग्नुभयो?” 35येशू यसरी कराउनुभएको सुनेर त्यहाँ उभिनेहरूमध्ये कसै-कसैले भने, “हेर न! यसले त एलियालाई पो बोलाउँदोरहेछ।” 36#भजनसंग्रह 69:21एक जनाले चाहिँ दगुर्दै गएर सिर्कामा झुम्रो चोपेर ल्यायो र त्यो झुम्रो लट्ठीको टुप्पामा अड्काएर येशूको मुखमा राख्दै भन्यो, “पर्ख, पर्ख, कतै एलिया आएर यसलाई क्रूसबाट ओराल्दारहेछन् कि, हेरौं!” 37तर त्यति नै बेला येशूले ठूलो सोर निकालेर प्राण त्याग्नुभयो।
38 #
प्रस्थान 26:31-33
त्यही समयमा मन्दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्म दुई भाग भएर च्यातियो। 39येशूले यसरी प्राण त्याग्नुभएको देखेर क्रूसको सामुन्ने उभिरहेका रोमी कप्तानले भने, “साँच्चै यी मानिस त परमेश्वरकै पुत्र रहेछन्।” 40#लूका 8:2,3केही आइमाईहरूले पनि टाढैबाट हेरिरहेका थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी, सानो याकूब र योसेफकी आमा मरियम र सलोमी थिए। 41येशू गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याउँदै उहाँको सेवा गरेका थिए अनि येशूसँगै यरूशलेमसम्म आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।
येशूलाई चिहानमा राखिएको
(मत्ती २७:५७-६१; लूका २३:५०-५६; यूहन्ना १९:३८-४२)
42त्यो दिनचाहिँ तयारीको दिन भन्ने विश्राम दिनको अघिल्लो दिन थियो। 43अरिमाथिया सहरको योसेफले त्यही दिनै साँझमा साहससँग पिलातसको अगाडि गएर येशूको लाश मागे। योसेफचाहिँ महासभाको माननीय सदस्य थिए। उनले परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए।
44येशू मरिसक्नुभयो भनेको सुन्दा पिलातस छक्क परे। उनले रोमी कप्तानलाई बोलाएर ‘येशू पक्कै नै मरिसकेका हुन् त’ भनी सोधे। 45कप्तानले पक्कै मरेका हुन् भन्ने खबर दिएपछि पिलातसले योसेफलाई येशूको लाश लैजाने अनुमति दिए। 46योसेफले असल सुती कपडा किनेर ल्याए र येशूको लाशलाई क्रूसबाट ओरालेर त्यही कपडामा बेरे अनि पहरा खोपेर बनाइराखेको चिहानमा राखे। त्यसपछि एउटा ठूलो ढुङ्गा गुडाएर चिहानको मुख बन्द गरिदिए। 47मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई चिहानमा राखेको हेरिरहेका थिए।
Trenutno izbrano:
मर्कूस 15: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.