लूका 14
14
येशू फरिसीको घरमा
1एक पवित्र विश्राम दिनमा येशू निम्तो पाएर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूका अगुवाको घरमा खान जानुभयो। त्यहाँ भेला भएका मानिसहरूले उहाँको चियो गर्दै थिए। 2एक जना हात-खुट्टा सुनिएको मानिस येशूको अगाडि बसिरहेको थियो। 3येशूले धर्म-गुरु र फरिसीहरूलाई सोध्नुभयो, “व्यवस्थाअनुसार पवित्र विश्रामको दिन बिरामीलाई निको पार्नुहुन्छ कि हुँदैन?” 4तर तिनीहरूले केही भनेनन्। उहाँले त्यस बिरामीलाई छोएर निको पारी पठाइदिनुभयो। 5#मत्ती 12:11त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कसैको छोरा-छोरी वा गाई-गोरु पवित्र विश्रामको दिन कुवामा परे भने के त्यसलाई झट्टै निकाल्दैनौ र?” 6फेरि पनि तिनीहरूले केही पनि भन्न सकेनन्।
7त्यहाँ आउने पाहुनाहरूले मुख्य-मुख्य ठाउँ छानेको देखेर येशूले दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, 8#हितोपदेश 25:6,7“तिमीहरू कसैको विवाहमा जाँदा मुख्य ठाउँ छानेर नबस। तिमीहरूभन्दा कोही ठूलो मानिसलाई पनि निम्तो होला। 9ऊ आइपुग्दा निम्तो दिनेले ‘यहाँलाई ठाउँ देओ’ भनेर तिमीलाई बसेको ठाउँबाट उठाउलान्। त्यस बेला तिमी लाजले रातो भएर सबैभन्दा तल बस्नुपर्ला। 10बरु विवाहमा जाँदा पछिल्तिर गएर बस र निम्त्याउने आएर तिमीलाई ‘भित्र आउनुहोस्, माथि पाल्नुहोस्’ भनेर मुख्य ठाउँमा बसाउला। त्यस बेला सबैको सामुन्ने तिम्रो ठूलो इज्जत हुनेछ 11#मत्ती 23:12; लूका 18:14किनभने आफैं ठूलो हुन खोज्नेहरू सबै होच्याइनेछन् र आफूलाई होच्याउनेहरूचाहिँ ठूलो बनाइनेछन्।”
12येशूले आफूलाई निम्त्याउने अगुवालाई भन्नुभयो, “भोज लाउँदा तिमीले खालि आफन्त, दाजुभाइ, इष्टमित्र अनि धनी छरछिमेकीहरूलाई मात्र ननिम्त्याऊ। तिनीहरूले पैंचो तिर्न तिमीलाई पनि बोलाइहाल्छन्। 13बरु भोज लाउँदा गरीब, लुला-लङ्गडा र अन्धाहरूलाई निम्त्याऊ। 14तब तिमी धन्य हुनेछौ किनभने तिमीलाई पैंचो तिर्ने तिनीहरूसँग केही पनि हुँदैन। तर परमेश्वरको आज्ञा सामु ठीक हुने मानिसहरू मरेकोबाट बिउँतदा परमेश्वरले नै तिमीलाई इनाम दिनुहुनेछ।”
ठूलो भोजको दृष्टान्त
(मत्ती २२:१-१०)
15येशूको कुरा सुनेर उहाँसँगै खान बस्ने एक जनाले भने, “परमेश्वरको राज्यमा भोज खान पाउनेहरू कति धन्य हुन्छन्।” 16येशूले तिनलाई दृष्टान्त दिँदै यसरी जवाफ दिनुभयो, “कुनै एक जना मानिसले ठूलो भोजको तयारी गरेर धेरै मानिसहरूलाई निम्तो दिए। 17भोज खाने बेला भएपछि उनले आफ्ना निम्तालुहरूलाई ‘खाने बेला भयो’ भनेर डाक्न आफ्ना नोकरहरू पठाए। 18तर ती निम्तालुहरूले एक-एक वटा बहाना गरेर आउन मानेनन्। एउटाले भन्यो, ‘मैले खेत किनेको छु, त्यो हेर्न जानुछ। मलाई माफ गर्नुहोस्, म आउन सक्दिनँ।’ 19अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र आजै तिनीहरूको काम जाँची हेर्न जाँदै छु। मलाई माफ गर्नुहोस्।’ 20तेस्रोले भन्यो, ‘मैले भर्खरै मात्र विवाह गरेको छु। त्यसकारण म आउन सक्दिनँ।’ 21नोकरले फर्केर सबै कुरा मालिकलाई सुनायो। रिसले झोकिएर मालिकले भने, ‘झट्टै सहरका बाटो-घाटो र गल्लीहरूमा जाऊ। त्यहाँबाट गरीब, लुला-लङ्गडा र अन्धाहरूलाई बोलाएर यहाँ ल्याऊ।’
22“यति गरेपछि नोकरले मालिकलाई भन्यो, ‘हजुर, तपाईंले भन्नुभएका सबैलाई मैले बोलाएर ल्याएँ। तैपनि अझै ठाउँ त खाली छ।’
23फेरि मालिकले भने, ‘शहरको मूलबाटो र गल्ली हुँदो गएर मानिसहरूलाई कर लाउँदै लिएर आऊ र मेरो घर भरिओस्! 24“पहिले निम्त्याइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्’।”
चेलाले गर्नुपर्ने त्याग
(मत्ती १०:३७-३८)
25एक दिन मानिसहरूको ठूलो हुल येशूसँग जाँदै थियो। येशूले तिनीहरूतिर फर्केर भन्नुभयो, 26#मत्ती 10:37“मेरो पछि लाग्न चाहनेले आफ्ना आमा-बुबा, जहान, छोरा-छोरी, दाजुभाइ, दिदी-बहिनी र आफैंलाई भन्दा बढी मलाई प्रेम गर्नुपर्छ नत्र ऊ मेरो चेला हुन सक्दैन। 27#मत्ती 10:38; 16:24; मर्कूस 8:34; लूका 9:23आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्नेचाहिँ मेरो चेला हुन सक्दैन।
28“यदि कसैले धरहरा बनाउन चाहन्छ भने पैसाले पुग्छ कि पुग्दैन, कति खर्च लाग्छ, सबै हिसाब पहिले नै गर्नुपर्छ, होइन र? 29यदि उसले धरहराको जग बसालेर पूरा गर्न सकेन भने मानिसहरूले उसलाई गिल्ला गर्दै भन्नेछन्, 30‘यो मान्छेले बनाउन त थाल्यो, तर पूरा गर्नै सकेन!’ 31फेरि, कुनै राजाले अर्को राजासँग लडाइँ गर्न जाँदा ‘दश हजार सेना लिएर म बीस हजार सेना हुनेसँग लड्न सक्छु कि सक्दिनँ’ भनेर पहिले नै बसेर सोच्छन्! 32लड्न नसक्ने भए पहिले नै तिनले आफ्ना दूतहरूलाई के गरी मेलमिलाप हुन सक्छ भनी बुझ्न पठाउनेछन्। 33त्यसरी नै तिमीहरूमध्ये जसले मेरो लागि सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन।
काम नलाग्ने
(मत्ती ५:१३; मर्कूस ९:५०)
34“नुन असल चीज हो, तर नुनको स्वाद गयो भने त्यो फेरि केले नुनिलो पार्ने? 35त्यो त न जमिनलाई न मलको थुप्रोलाई काम लाग्छ। मानिसले त्यसलाई फ्याँकिदिन्छन्। जसको कान छ, त्यसले सुनोस्।”
Trenutno izbrano:
लूका 14: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.