यूहन्ना पुस्तक परिचय
पुस्तक परिचय
यो यूहन्नाले लेखेका सुसमाचार हो। यसमा यूहन्नाले येशूलाई परमेश्वरको अनन्तको वचन, जो “वचन मानिस हुनुभयो र हाम्रो बीचमा बास गर्नुभयो” भनी लेखेका छन्। येशू नै परमेश्वरको पुत्र र प्रतिज्ञा गरिएको मुक्तिदाता हुनुहुन्छ। यो सुसमाचार पढ्नेहरूले येशूलाई त्यसरी नै विश्वास गरून् र त्यो विश्वासद्वारा उनीहरूले जीवन पाऊन् भन्ने आशयले लेखिएको हो (२०:३१)।
परमेश्वरको वचन र येशू एउटै हुनुहुन्छ। यस्तो जानकारीपछि यस सुसमाचारको पहिलो भागले ती अचम्मका कामहरूको बारेमा बताउँछ, जसले येशू नै परमेश्वरका पुत्र र प्रतिज्ञा गरिएको मुक्तिदाता हुनुहुन्छ भनेर स्पष्ट पार्दछ। त्यसपछि प्रभुका अचम्मका कामहरूले के देखाउँछन् भन्ने कुरा उहाँको उपदेशले प्रष्ट पार्दछ। पहिलो भागले कसरी केही मानिसहरू येशूमा विश्वास गर्दै उहाँका चेला भए, तर अरूहरूले भने उहाँलाई विरोध गरे र उहाँमा विश्वास गरेनन् भनेर बताउँदछ। तेह्रौँदेखि सत्रौँ अध्यायहरूमा येशूले आफू पक्राउ पर्ने रातमा चेलाहरूसित गर्नुभएको संगति र क्रूसमा मर्नुभन्दा अघि उहाँले चेलाहरूलाई तयारी र ढाडसका वचनहरू दिनुभएको विषयमा लेखिएको छ। पछिल्ला अध्यायहरूमा येशू पक्राउ पर्नुभएको अनि उहाँको जाँच, उहाँ क्रूसमा मर्नुभएको, फेरि मृत्युबाट बिउँतनुभएको र त्यसपछि उहाँ आफ्ना चेलाहरूकहाँ देखापर्नुभएको बारेमा बताइएको छ।
अनन्त जीवनको वरदान त ख्रीष्टद्वारा पाइन्छ। यो वरदान येशूलाई बाटो, सत्य र जीवन मानी उहाँकहाँ आउनेहरूलाई मिल्छ। यस सुसमाचारको गजबको कुरा यो छ कि आत्माका कुरा बुझाउन पानी, रोटी, ज्योति, गोठालो र भेडा, दाखको बोट र फलजस्ता साधारण कुराहरूका मिल्दाजुल्दा दृष्टान्तहरू लिइएका छन्।
संक्षिप्त विषय-सूची
सुरुका भूमिका १:१-१८
बप्तिस्मा दिने यूहन्ना र येशूका चेलाहरू १:१९-५१
येशूको सार्वजनिक सेवा २:१—१२:५०
यरूशलेम वरपर बिताएका अन्तिम दिनहरू १३:१—१९:४२
येशू मरेकोबाट बिउँतनुभएको र देखापर्नुभएको २०:१-३१
उपसंहार: उहाँ फेरि गालीलमा देखा पर्नुभएको २१:१-२५
Trenutno izbrano:
यूहन्ना पुस्तक परिचय: सरल नेपाली
Označeno
Deli
Kopiraj

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.