उत्‍पत्ति 20

20
अब्राहाम र अबीमेलेक
1अब्राहाम मम्रेदेखि कनानको दक्षिण भागमा बसाइँ सरे र कादेश र शूरको बीचको भूमिमा बास गर्न लागे। पछिबाट गरारमा बसेका बेलामा 2#उत्‍पत्ति 12:13; 26:7उनले आफ्‍नी स्‍वास्‍नी सारालाई मेरी बहिनी हो भने। त्‍यसो हुँदा गरारका राजा अबीमेलेकले सारालाई आफूकहाँ ल्‍याउन लाए। 3एक रात परमेश्‍वर सपनामा उनकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “यस आइमाईलाई ल्‍याएका कारणले तँ मर्नेछस्। त्‍यो विवाह भएकी स्‍त्री हो।”
4तर अबीमेलेक साराका छेउमा गएका थिएनन् र उनले भने, “परमप्रभु, म निर्दोष छु। के म र मेरा प्रजालाई नाश पार्नुहुन्‍छ? 5अब्राहाम आफैंले यो मेरी बहिनी हो भनेको अनि त्‍यसले पनि म अब्राहामको बहिनी हुँ भनी। मैले त यो काम आफ्‍नो सफा विवेकसँग गरेको हुँ। मैले केही अपराध गरेको छैनँ।”
6परमेश्‍वरले सपनामा यस्‍तो जवाफ दिनुभयो, “ठीक हो, म जान्‍दछु कि तैँले शुद्ध विवेकसित त्‍यसो गरिस्। यसैले मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि बचाएँ र त्‍यस स्‍त्रीलाई छुन दिइनँ। 7अब त्‍यस स्‍त्रीलाई उसको पतिकहाँ फर्काइदे। ऊ एउटा अगमवक्ता हो। उसले तेरो लागि प्रार्थना गर्नेछ र तँ मर्नेछैनस्। तर उसकी स्‍वास्‍नी फर्काइदिइनस् भने म यो चेतावनी तँलाई दिँदछु कि तँ र तेरा सारा प्रजा पनि मर्नेछन्‌।”
8भोलिपल्‍ट बिहानै अबीमेलेकले आफ्‍ना सबै भारदारहरूलाई बोलाएर के भएको थियो, सो सबै सुनाए। त्‍यो सुनी भारदारहरू डराए। 9त्‍यसपछि अब्राहामलाई बोलाए र अबीमेलेकले भने, “तिमीले हामीसित यो के गरेको? मैले तिमीसित के खराबी गरें र यो विपत्ति तिमीले म र मेरा राज्‍यमाथि ल्‍यायौ? तिमीले मसित जे गर्‍यौ, त्‍यो कसैले गर्नुहुने कुरा होइन। 10किन तिमीले त्‍यसो गर्‍यौ?”
11अब्राहामले उत्तर दिए, “मैले सोचें कि यहाँ परमेश्‍वरसित डराउने कोही छैन र तिनीहरूले मेरी स्‍वास्‍नी हात पार्नलाई मलाई मार्नेछन्। 12ऊ साँच्‍चै मेरी बहिनी पनि पर्छ। ऊ मेरा बुबाकी छोरी हो तर आमाचाहिँ भिन्‍दै हुन् र मैले उसलाई विवाह गरेको हुँ। 13यसकारण जब परमेश्‍वरले मलाई आफ्‍ना बुबाका घरदेखि अर्काको देशमा परदेशी हुन पठाउनुभयो, मैले सारालाई भनेको थिएँ, ‘हामी जहाँजहाँ जान्छौं, तिमीले मलाई आफ्‍ना दाजु भनेर आफ्‍नो भक्ति देखाऊ है’।”
14त्‍यसपछि अबीमेलेकले सारालाई अब्राहामकहाँ फर्काए। साथै उनले उसलाई भेडा-बाख्रा, गाई-गोरु र कमाराहरू दिए। 15उनले अब्राहामलाई भने, “मेरो सारा देश यहाँ छ, जहाँ तिमी मन पराउँछौ, त्‍यहाँ बस।” 16उनले सारालाई भने, “म तिम्रा दाजुलाई चाँदीका एक हजार टुक्राहरू दिँदै छु। तिमीसँग हुने सबैका अघि ती चाँदीका टुक्राले तिमी निर्दोष भयौ भन्‍ने कुराको प्रमाण हुनेछ। तिमीले केही दोष गरेकी छैनौ भनी सबैले बुझ्‍नेछन्।”
17-18अब्राहामकी स्‍वास्‍नी सारासित जे भएको थियो, त्‍यसले गर्दा परमप्रभुले, अबीमेलेकका राजमहलका सबै स्‍त्रीहरूमा गर्भ बन्‍द गरिदिनुभएको थियो। यसकारण अब्राहामले प्रार्थना गरे र परमेश्‍वरले अबीमेलेकलाई निको पार्नुभयो। उहाँले उनकी स्‍वास्‍नी रानी र कमारी केटीहरूलाई पनि निको पार्नुभयो र तिनीहरू सन्‍तान जन्‍माउन सक्‍ने भए।

Označeno

Deli

Kopiraj

None

Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi