१ थेसलोनिकी 5
5
प्रभुको बाटो हेरिबस
1दाजुभाइहरू, यी कुराहरू कहिले र कुन बेला हुन्छ भनेर तिमीहरूलाई लेखिरहनुपर्दैन। 2#मत्ती 24:43; लूका 12:39; २ पत्रुस 3:10राती चोर आएझैँ प्रभु आउने दिन पनि आउनेछ। यो तिमीहरूलाई पूरै थाहा छ। 3मानिसहरूले सबैतिर शान्ति छ, केही गोल-माल छैन भनेर भन्छन्। त्यसै बेला एक्कासि आइमाईलाई व्यथा लागेझैँ आपत् आइलाग्नेछ र तिनीहरू उम्कन पाउनेछैनन्। 4दाजुभाइहरू, तिमीहरू अन्धकारमा छैनौ। त्यसो हुँदा प्रभु आउने दिन तिमीहरूको लागि चोरझैँ अचानक आउनेछैन 5किनभने तिमीहरू दिन र उज्यालाका सन्तान हौ। हामी रात र अन्धकारका मानिस होइनौं। 6त्यसकारण अरूले झैँ हामीले सुत्नुहुँदैन, तर चेत राखेर जागा रहिरहनुपर्दछ। 7सुत्ने मानिस रातमै सुत्छन् अनि जँड्याहा पनि रातमै मात्तिन्छन्। 8#यशैया 59:17; एफिसी 6:13-17तर हामीहरू त दिनका सन्तान भएका हुनाले हामी होशमा रहिरहौं। हामीले विश्वास र प्रेमको कवच लगाऔं अनि टोपझैँ मुक्तिको आशालाई पहिरिऔं। 9परमेश्वरले हामीमाथि आफ्नो रिस खन्याउन छान्नुभएको होइन तर प्रभु येशूद्वारा मुक्ति दिन छान्नुभएको हो। 10उहाँ आउनुहुँदा हामी मरे पनि, बाँचे पनि उहाँसँगै जिउन प्रभु येशू हाम्रो सट्टामा मर्नुभयो। 11यसैकारण अहिले गरेझैँ तिमीहरूले एक-अर्कालाई उत्साह दिने र बलियो बनाउने काम गर।
आखिरी सल्लाह र बिदाइ
12दाजुभाइहरू, तिमीहरूका माझमा दिलो ज्यानले प्रभुको काम गर्ने अगुवाहरूलाई र शिक्षा दिनेहरूलाई नभुल। 13तिनीहरूले गरेका कामको लागि प्रेमले तिनीहरूको ठूलो आदर गर अनि आपसमा मेलमिलाप राख। 14अल्छीहरूलाई सम्झाओ। हरेस खानेहरूलाई हौसला देओ र कमजोरहरूलाई सहायता गर अनि सबैलाई सहो। 15तिमीलाई नराम्रो गर्यो भन्दैमा उसलाई नराम्रो नगर। सधैँ एक-अर्कालाई र सबै मानिसहरूलाई राम्रो गर्ने विचार राख।
16सधैँभरि खुसी होओ। 17प्रार्थनामा लागिबस। 18जस्तोसुकै अवस्थामा जे परिआउँछ, ती सबैमा तिमी ख्रीष्टमा धन्यवादी होओ। ख्रीष्टमा भएर तिमीहरूले गर्नुपर्ने परमेश्वरको इच्छा यही हो। 19पवित्र आत्मालाई ननिभाओ।
20परमेश्वरका तर्फबाट बोलेको कुरालाई हेला नगर। 21सबै कुरा राम्ररी जाँच अनि राम्रा कुराहरूचाहिँ राख 22अनि सबै नराम्रा कुराहरूबाट अलग बस। 23शान्तिका परमेश्वर आफैंले तिमीहरूलाई पूरा तवरले पवित्र राखून्, हाम्रा प्रभु येशू ख्रीष्ट नआएसम्म तिमीहरूको आत्मा, प्राण र शरीर स्वस्थ, दागबिनाको र निर्दोष होओस्। 24तिमीहरूलाई बोलाउने परमेश्वर विश्वासी हुनुहुन्छ। उहाँले नै तिमीहरूलाई यी सब कुरा पूरा गरिदिनुहुनेछ।
25दाजुभाइहरू, हाम्रा लागि पनि प्रार्थना गरिदेओ। 26त्यहाँ भएका सबै दाजुभाइहरूलाई प्रेमसँग मेरो अभिवादन सुनाइदेओ। 27सबै दाजुभाइहरूलाई यो पत्र पढेर सुनाओ भन्ने प्रभुमा मेरो आज्ञा छ। 28हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्।
Trenutno izbrano:
१ थेसलोनिकी 5: सरल नेपाली
Označeno
Deli
Kopiraj
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.