Logotipo da YouVersion
Ícone de Pesquisa

1 कोरिन्थी 1

1
1पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित हुनलाई बोलाइएको र हाम्रो भाइ सोस्थेनसबाट,
2कोरिन्थमा भएका परमेश्‍वरको मण्डलीलाई, जो ख्रीष्‍ट येशूमा पवित्र पारिएका छन्, जो उहाँका पवित्र प्रजा हुनलाई बोलाइएका छन् र अरू हरेक ठाउँमा भएका तिनीहरू सबैसँग जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम पुकार्दछन्, जो हाम्रा र तिनीहरूका प्रभु हुनुहुन्छ:
3हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति!
धन्यवाद ज्ञापन
4परमेश्‍वरको अनुग्रह ख्रीष्‍ट येशूमा तिमीहरूलाई दिइएको कारण म तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु। 5किनकि तिमीहरू उहाँमा हरेक प्रकारले धनी बनाइएका छौ—सबै प्रकारका वचनमा र सारा ज्ञानमा तिमीहरू उहाँमा धनी बनाइएका छौ। 6तिमीहरूका बीचमा ख्रीष्‍टबारे हाम्रो गवाही पक्‍का भएको छ। 7यसकारण हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुनलाई तिमीहरूले उत्सुकतासाथ प्रतीक्षा गरिरहँदा, तिमीहरूलाई कुनै आत्मिक वरदानको कमी हुनेछैन। 8उहाँले तिमीहरूलाई अन्त्यसम्म बलवान् बनाई राख्नुहुनेछ, ताकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा#1:8 भन्‍नाले पुनरागमन जनाउँछ। निर्दोष ठहरिन सक। 9परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्‍टसँगको सङ्गतिमा तिमीहरूलाई बोलाउनुभएको छ।
मण्डलीमा अगुवा सम्बन्धी मतभेद
10दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको नाममा आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू एक-अर्काका कुरामा सहमत होओ, र तिमीहरूका बीचमा कुनै फाटो नहोस्; तर तिमीहरू एउटै मन र एउटै विचारमा पूर्ण रूपमा एक होओ। 11मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, क्लोएका घरानाबाट कसैले मलाई खबर दिएको छ कि, तिमीहरूका बीचमा झैझगडा छ। 12मैले भन्‍न चाहेको कुरा यो हो, तिमीहरूमध्ये कसैले, “म पावलको हुँ” अर्कोले “म अपोल्‍लोसको हुँ” अनि अर्कोले, “म पत्रुसको#1:12 मूल भाषामा कैफासको हुँ” अझ अर्कोले चाहिँ, “म ख्रीष्‍टको हुँ” भन्छौ रे।
13के ख्रीष्‍ट विभाजित हुनुभएको छ र? के पावल तिमीहरूका लागि क्रूसमा टाँगिएको थियो र? के तिमीहरूले पावलको नाममा बप्‍तिस्मा लिएका थियौ र? 14म परमेश्‍वरलाई धन्यवाद दिन्छु, किनकि मैले तिमीहरूमध्ये क्रिस्पस र गायसलाई बाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ। 15यसकारण तिमीहरू कसैले पनि मेरो नाममा बप्‍तिस्मा लिएको हो भनी भन्‍न सक्दैनौ। 16हो, मैले स्तिफनसको परिवारलाई चाहिँ बप्‍तिस्मा दिएको हुँ, त्यसबाहेक अरू कसैलाई पनि मैले बप्‍तिस्मा दिएको मलाई थाहा छैन। 17किनकि ख्रीष्‍टले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर सुसमाचार प्रचार गर्नलाई पठाउनुभएको हो, जुनचाहिँ मानवीय बुद्धिका शब्दहरूमा होइन, नत्रता ख्रीष्‍टको क्रूसको शक्ति व्यर्थ हुनेछ।
ख्रीष्‍टको बलिदान परमेश्‍वरको ज्ञान र शक्ति
18किनकि क्रूसको सन्देश नाश हुन गइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्‍वरको शक्ति हो। 19किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ:
“म बुद्धिमानीहरूका बुद्धिलाई नष्‍ट गर्नेछु;
ज्ञानीहरूका ज्ञान व्यर्थ तुल्याइदिनेछु।”#1:19 यशै 29:14
20बुद्धिमान् मानिस कहाँ छ? व्यवस्थाको शिक्षक कहाँ छ? यस युगको दर्शनशास्त्री कहाँ छ? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र? 21किनकि परमेश्‍वरको ज्ञानअनुसार संसारले आफ्नो बुद्धिद्वारा परमेश्‍वरलाई चिन्‍न नसकेकाले, प्रचार गरिएको सुसमाचारको मूर्खताद्वारा उहाँमाथि विश्‍वास गर्नेहरूलाई उद्धार गर्न परमेश्‍वरलाई असल लाग्यो। 22यहूदीहरू अलौकिक चिन्हहरू खोजी गर्छन्, र ग्रीकहरू बुद्धिको खोजी गर्छन्। 23तर हामी त क्रूसमा टाँगिनुभएको ख्रीष्‍टको प्रचार गर्दछौँ, जो यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गा र गैरयहूदीहरूका निम्ति मूर्ख कुरा ठहरिनुभयो। 24तर परमेश्‍वरद्वारा बोलाइएकाहरू यहूदी र ग्रीक दुवैका निम्ति ख्रीष्‍ट परमेश्‍वरको शक्ति र परमेश्‍वरको बुद्धि हुनुहुन्छ। 25किनकि परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्‍ठ र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ।
26दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको बोलावट हुँदा तिमीहरू कस्ता थियौ सो विचार गर; तिमीहरूमध्ये धेरै जना मानवीय नापअनुसार बुद्धिमान् थिएनौ; धेरै जना प्रभावशाली थिएनौ; धेरै जना जन्मँदा खानदानी थिएनौ। 27तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारको दृष्‍टिमा मूर्ख ठहरिएकाहरूलाई चुन्‍नुभयो अनि शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका दृष्‍टिमा दुर्बल ठहरिएकाहरूलाई चुन्‍नुभयो। 28परमेश्‍वरले संसारका नीच र तुच्छ गनिएका कुराहरू—कुनै पहिचान नै नभएका कुराहरूलाई चुन्‍नुभयो; ताकि संसारको दृष्‍टिमा महत्त्वपूर्ण ठानिएका कुराहरू व्यर्थ ठहरिउन्, 29ताकि उहाँको सामु कसैले घमण्ड गर्न नपाओस्। 30उहाँकै कारण तिमीहरू ख्रीष्‍ट येशूमा छौ, जो परमेश्‍वरबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता अनि छुटकारा हुनुभयो। 31यसकारण धर्मशास्त्रमा यसरी लेखिएको छ, “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”#1:31 यर्मिया 9:24

Atualmente Selecionado:

1 कोरिन्थी 1: NCV

Destaque

Copiar

Comparar

Compartilhar

None

Quer salvar seus destaques em todos os seus dispositivos? Cadastre-se ou faça o login