मत्ती 4:17-24 - Compare All Versions

मत्ती 4:17-24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यस बेलादेखि प्रचार गर्दै येशूले भन्‍न लाग्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।” गालील-समुद्रको किनारमा हिँड्‌नुहुँदा उहाँले पत्रुस भन्‍ने सिमोन र तिनका भाइ अन्‍द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्‍याउनेछु।” तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे। त्‍यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्‍दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्‍नालाई तिनीहरूका बुबा जब्‍दियासँग डुङ्गामा आफ्‍ना जाल तुनिरहेका देख्‍नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो। तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे। अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो। उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।

शेयर गर्नुहोस्
मत्ती 4 NNRV

मत्ती 4:17-24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्‍चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।” येशू गालील समुद्रको किनारमा हिँडिरहनुभएको समयमा उहाँले दुई भाइहरू, पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। तिनीहरू मछुवा भएको कारणले गर्दा तिनीहरूले तालमा जाल हान्दै थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे। अनि त्यहाँबाट अगि जाँदै गर्नुहुँदा उहाँले अरू दुई भाइहरू, जब्दीको छोरा याकोब र तिनका भाइ यूहन्‍नालाई देख्नुभयो। तिनीहरू आफ्ना पिता जब्दीसित डुङ्गामा आफ्नो जाल तयार पार्दैथिए। येशूले तिनीहरूलाई बोलाउनुभयो, अनि तुरुन्तै तिनीहरू डुङ्गा र आफ्ना बुबालाई छोडेर उहाँको पछि लागे। येशूले गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका हरेक रोग र दुर्बलतालाई निको पार्दै जानुभयो। उहाँको कीर्ति सारा सिरियाभरि फिँजियो। अनि मानिसहरूले विभिन्‍न किसिमका रोग लागेकाहरू, कष्‍ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू र पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए। अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।

शेयर गर्नुहोस्
मत्ती 4 NCV

मत्ती 4:17-24 NERV (पवित्र बाइबल)

यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चताप गर अनि आफ्नो रहन-सहन परिवर्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।” गालील झीलका छेउ भएर येशू हिँडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जालहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए। येशूले भन्नुभयो, “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु।” शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे। गालील झील भएर येशू हिंड्दै जानुभयो। उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो। तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे। येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। उहाँको कीर्ति सिरियाभरि फिँजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षघात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।

शेयर गर्नुहोस्
मत्ती 4 NERV

मत्ती 4:17-24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसै बेलादेखि येशूले प्रचार गर्न थालेर यसो भन्‍नुभयो, “आ-आफ्‍नो पापलाई मानिलिएर त्‍यसलाई छोड किनभने परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ।” एक दिन गालील तालको किनारै-किनार हिँडिरहनुहुँदा येशूले दुई जना जलाहारीलाई जाल हानिरहेका देख्‍नुभयो। तिनीहरू पत्रुस भनिने सिमोन र उनका भाइ अन्‍द्रियास थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मान्‍छे समात्‍ने जलाहारी बनाउनेछु।” यो सुन्‍नेबित्तिकै तिनीहरूले आफ्‍ना जालहरू छोडेर येशूको पछि लागे। त्‍यसपछि उहाँले जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍नालाई भेट्‍नुभयो। तिनीहरू आफ्‍ना बुबा जब्‍दियासँग नाउमा बसेर जाल तुन्‍दै थिए। येशूले तिनीहरूलाई पनि बोलाउनुभयो। तब तिनीहरूले तुरुन्‍तै बुबालाई नाउमै छोडेर येशूको पछि लागे। येशू गालील क्षेत्रभरि घुम्‍नुभयो। उहाँ ठाउँ-ठाउँमा भएका सभाघरहरूमा जानुभयो र मानिसहरूलाई शिक्षा दिएर परमेश्‍वरको राज्‍य आइसक्‍न लाग्‍यो भन्‍ने सुसमाचार सुनाउनुभयो। उहाँले भेटे जति किसिम-किसिमका रोग लागेका बिरामीहरूलाई निको पार्नुभयो। त्‍यसो हुँदा गालीलको छेउमा पर्ने सिरिया देशभरि नै उहाँको बारेमा चर्चा चल्‍यो। मानिसहरूले सबै किसिमका रोग र व्‍यथाले सताएका बिरामीहरूलाई उहाँकहाँ ल्‍याए। तिनीहरूमध्‍ये कसैलाई दुष्‍टात्‍मा लागेको थियो, कसैलाई छारे रोग लागेको थियो अनि कोही-कोहीचाहिँ कुँजो थिए। येशूले सबैलाई नै निको पार्नुभयो।

शेयर गर्नुहोस्
मत्ती 4 सरल नेपाली