मत्तीको सुसमाचार 4:17-24

मत्तीको सुसमाचार 4:17-24 NERV

यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चताप गर अनि आफ्नो रहन-सहन परिवर्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।” गालील झीलका छेउ भएर येशू हिँडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जालहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए। येशूले भन्नुभयो, “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु।” शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे। गालील झील भएर येशू हिंड्दै जानुभयो। उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो। तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे। येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। उहाँको कीर्ति सिरियाभरि फिँजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षघात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।