मत्ती 4:17-24
मत्ती 4:17-24 NNRV
त्यस बेलादेखि प्रचार गर्दै येशूले भन्न लाग्नुभयो, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।” गालील-समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास, दुवै भाइलाई समुद्रमा जाल हानिरहेका देख्नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।” तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे। त्यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्नालाई तिनीहरूका बुबा जब्दियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेका देख्नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो। तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे। अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो। उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।

