यहोशू 6:8-14
यहोशू 6:8-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाड़ि हिँड़े र आफ्ना तुरही फुक्दै अगि बढ्न लागे। परमप्रभुका करारको सन्दूकचाहिँ तिनीहरूको पछि लाग्यो। हतियार बोक्ने मानिसहरूचाहिँ तुरही फुक्ने पूजाहारीहरूका अगाड़ि हिँड़े, र पछाड़िकाहरूचाहिँ सन्दूकको पछि हिँड़े, अनि पूजाहारीहरू तुरही फुक्दै हिँड़े। तर यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्म म तिमीहरूलाई कराउने आज्ञा दिन्नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्नू। मैले कराउनू भनेपछि मात्र कराउनू।” यसरी तिनले परमप्रभुको सन्दूकलाई सहरको वरिपरि एक चोटि घुमाए, र तिनीहरू छाउनीमा आए, र त्यहीँ वास बसे। यहोशू बिहान सबेरै उठे, र पूजाहारीहरूले परमप्रभुको सन्दूक उठाए। ती सात जना पूजाहारीहरूले भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुका सन्दूकको अगिअगि तुरही बजाउँदै हिँड्दैरहे। हतियार भिर्ने मानिसहरू तिनीहरूका अगि लागे, र पछाड़ि हिँड्नेहरू परमप्रभुका सन्दूकको पछि लागे। पूजाहारीहरूचाहिँ तुरही फुक्दै हिँड़े। यसरी दोस्रो दिन पनि तिनीहरू सहर एक चोटि घुमेर छाउनीमा फर्के। छ दिनसम्म तिनीहरूले यसै गरे।
यहोशू 6:8-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब यहोशूले मानिसहरूसँग कुरा गरिसके, तब याहवेहको अगाडि सात वटा तुरही बोक्ने सात जना पुजारीहरू तुरही बजाउँदै अगि बढेर गए। अनि याहवेहको करारको सन्दुकचाहिँ उनीहरूको पछि-पछि थियो। हतियारधारी योद्धाहरू तुरही फुक्ने पुजारीहरूका अगि-अगि गए। अनि रक्षकहरूचाहिँ सन्दुकको पछि-पछि हिँडे। यस समयमा तुरहीहरू बजिरहेका थिए। तर यहोशूले योद्धाहरूलाई यसो भनी आज्ञा दिएका थिए, “मैले तिमीहरूलाई जोरसँग कराउने आज्ञा नदिएसम्म तिमीहरू नकराउनू। तिमीहरूले आवाज ननिकाल्नू। एक शब्द पनि नबोल्नू। त्यसपछि कराउनू!” यसरी तिनले याहवेहको सन्दुकलाई बोकाएर एक पल्ट सहरको फन्को मार्न लगाए। त्यसपछि योद्धाहरू छाउनीमा फर्किआए, र त्यहीँ रात बिताए। भोलिपल्ट यहोशू बिहानै उठे, र पुजारीहरूले याहवेहको सन्दुक उठाए। सात वटा तुरही बोक्ने सात जना पुजारीहरू याहवेहको सन्दुकको अगि-अगि तुरही फुक्दै हिँडे। हतियारधारी योद्धाहरू तिनीहरूका अगि-अगि गए। अनि पछिल्तिरका रक्षकहरू याहवेहको सन्दुकको पछि-पछि हिँडे। त्यति बेला तुरही बजिरहेको थियो। यसरी दोस्रो दिन तिनीहरूले सहरको फन्को मारे, र छाउनीमा फर्के। तिनीहरूले यसरी नै छ दिनसम्म फन्को मारे।
यहोशू 6:8-14 पवित्र बाइबल (NERV)
जब यहोशूले मानिसहरूलाई आज्ञा गरे सातजना पूजाहारीहरू परमप्रभुको अघि हिंड्न थाले। तिनीहरूले सातवटा तुरहीहरू बोके अनि बजाउँदै हिँडे। पूजाहारीहरूले तिनीहरूलाई परमप्रभुको पवित्र सन्दुकसितै पछ्याए। सैनिकहरू हात हतियार सहित ती पूजाहारीहरूका अघि-अघि हिंडे जो तुरही बजाउँदै थिए। अनि पछाडिका रक्षकहरू पवित्र सन्दूकको पछि-पछि हिंडे। यसरी तिनीहरू पैदल हिंडदै अनि तुरही बजाउँदै शहर वरिपरि हिंडे। यहोशूले मानिसहरूलाई नकराउनु भनी आदेश दिएका थिए। उनले भने, “नकराऊ। जबसम्म म तिमीहरूलाई भन्दिन त्यस दिनसम्म एउटा शब्द ननिकाल अनि तब कराऊ।” यसरी यहोशूले पूजाहारीहरूलाई परमप्रभुको पवित्र सन्दूक बोकेर एकपल्ट शहर वरिपरि घुम्न लगाए। तब तिनीहरू छाउनीमा फर्किए अनि त्यो रात बिताए। भोलि पल्ट बिहानै यहोशू उठे। पूजाहारीहरूले परमप्रभुको पवित्र सन्दूक फेरि बोके। अनि सातजना पूजाहारीहरूले सातवटा तुरहीहरू बोके। तिनीहरू हिँड्दै अनि तिनीहरूका तुरही बजाउँदै परमप्रभुको पवित्र सन्दूक अघि-अघि हिंडे। हात-हतियार सहितका सैनिकहरू तिनीहरूको अघि हिंडे अनि पछाडिको रक्षकहरू परमप्रभुको पवित्र सन्दूक पछि-पछि हिँडे। तिनीहरू हिंड्दै अनि तुरही बजाउँदै शहर वरि-परि गए। यसरी दोस्रो दिन तिनीहरू शहर वरि-परि सबै एकपल्ट घुमे। अनि तिनीहरू छाउनी तिर फर्किए। तिनीहरूले छ दिनसम्म दैनिक यसो गरे।
यहोशू 6:8-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण यहोशूले आज्ञा गरेअनुसार तुरही फुक्ने पूजाहारीहरूका अघिअघि एक दल सैनिक हिंड्यो। तिनको पछि करारको सन्दुक बोक्ने पूजाहारीहरू गए र अन्तमा फेरि अर्को एक दल सैनिक पछिपछि हिँड्यो। त्यस समय तुरही बजिरहेको थियो। तर यहोशूले आफ्ना मानिसहरूलाई नकराउनू र मैले नभनेसम्म एक वचन पनि नबोल्नू भनी आज्ञा गरेका थिए। यसरी उनले त्यस दलका मानिसहरूलाई परमप्रभुको करारको सन्दुक एकपल्ट सहरको फेरो लाएर घुमाउन लाए। त्यसपछि तिनीहरू छाउनीमा फर्के र त्यहाँ रात काटे। भोलिपल्ट यहोशू बिहान सबेरै उठे र अघिल्लो दिनजस्तै गरेर पूजाहारी र सिपाहीहरूले दोस्रोपल्ट सहरको चारैपट्टि फेरो लाए। अघि-अघि जाने सैनिक दल, त्यसपछि तुरही फुक्ने सात जना पूजाहारीहरू, त्यसपछि करारको सन्दुक बोक्ने पूजाहारीहरू र अन्तमा पछि-पछि आउने सैनिक दल गए। त्यति बेला तुरही बजिरहेको थियो। दोस्रो दिन पनि तिनीहरूले एकपल्ट सहरको फेरो मारे र छाउनीमा फर्की गए। तिनीहरूले छ दिनसम्म यसरी नै गरे।