यहोशू 6:8-14

यहोशू 6:8-14 NNRV

यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पूजाहारी भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाड़ि हिँड़े र आफ्‍ना तुरही फुक्‍दै अगि बढ्‌न लागे। परमप्रभुका करारको सन्‍दूकचाहिँ तिनीहरूको पछि लाग्‍यो। हतियार बोक्‍ने मानिसहरूचाहिँ तुरही फुक्‍ने पूजाहारीहरूका अगाड़ि हिँड़े, र पछाड़िकाहरूचाहिँ सन्‍दूकको पछि हिँड़े, अनि पूजाहारीहरू तुरही फुक्‍दै हिँड़े। तर यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्‍म म तिमीहरूलाई कराउने आज्ञा दिन्‍नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्‍नू। मैले कराउनू भनेपछि मात्र कराउनू।” यसरी तिनले परमप्रभुको सन्‍दूकलाई सहरको वरिपरि एक चोटि घुमाए, र तिनीहरू छाउनीमा आए, र त्‍यहीँ वास बसे। यहोशू बिहान सबेरै उठे, र पूजाहारीहरूले परमप्रभुको सन्‍दूक उठाए। ती सात जना पूजाहारीहरूले भेड़ाका सीङका सात वटा तुरही बोकेर परमप्रभुका सन्‍दूकको अगिअगि तुरही बजाउँदै हिँड्‌दैरहे। हतियार भिर्ने मानिसहरू तिनीहरूका अगि लागे, र पछाड़ि हिँड्‌नेहरू परमप्रभुका सन्‍दूकको पछि लागे। पूजाहारीहरूचाहिँ तुरही फुक्‍दै हिँड़े। यसरी दोस्रो दिन पनि तिनीहरू सहर एक चोटि घुमेर छाउनीमा फर्के। छ दिनसम्‍म तिनीहरूले यसै गरे।