यहोशू 6:15-25 - Compare All Versions
यहोशू 6:15-25 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ दिन बिहान झिसमिसेमै तिनीहरू उठे, र त्यही रीतिले सहर घुमे, केवल त्यस दिन तिनीहरूले सात चोटि सहर घुमे। सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ। यो सहर र यसमा भएका सबै थोक नाशको निम्ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब वेश्या र त्यसका घरमा त्यससँग भएका मात्र बाँच्नेछन्, किनभने हामीले पठाएका जासूसहरूलाई त्यसले लुकाएकी थिई। तर नाशको निम्ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहनू, नत्रता त्यही अर्पित कुराहरूबाट लिएर तिमीहरूले आफैमाथि नाश ल्याउनेछौ, र इस्राएलीहरूको छाउनीलाई श्रापित तुल्याउनेछौ र यसलाई सङ्कष्टमा पार्नेछौ। तर सबै सुन, चाँदी र काँसाका र फलामे भाँड़ाहरू परमप्रभुको निम्ति पवित्र छन्। तिनीहरू परमप्रभुको भण्डारमा जानुपर्नेछ।” जब पूजाहारीहरूले तुरही फुके, तब मानिसहरू कराए, र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो सोरले कराए, त्यो पर्खाल फेदैसम्म घर्लम्म ढल्यो, अनि हरेक मानिस आफ्नो सीधै अगि बढ्यो। तिनीहरू सबै सहरमा पसे, र त्यो कब्जा गरे। अनि तिनीहरूले त्यो सहर परमप्रभुमा अर्पण गरे, र सहरभित्र रहेका पुरुष, स्त्री, जवान, बूढ़ा, र गोरु, भेड़ा र गधा सबैलाई तरवारले नाश गरे। अनि यहोशूले त्यस देशको जासूस गर्न जाने ती दुई जनालाई भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले त्यससित शपथ खाएअनुसार त्यस स्त्री र त्यससँग भएका सबैलाई त्यहाँबाट निकाल।” तब ती जासूस गर्न जाने युवकहरू गए, र राहाबलाई र त्यसका बुबा, आमा, दाजुभाइ र त्यससँग भएका सबै जना, त्यसका सबै नातेदारलाई बाहिर ल्याए, र तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनीदेखि बाहिर राखे। तब तिनीहरूले त्यो सहर र त्यहाँभित्र भएका यावत् थोक आगोले जलाइदिए, केवल सुन, चाँदी, र काँसाका र फलामे भाँड़ाकुँड़ाहरू तिनीहरूले परमप्रभुका घरको भण्डारमा राखे। तर राहाब वेश्या, त्यसका बुबाका परिवार र त्यससँग भएका सबै जनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासूसी गर्न पठाएका दूतहरूलाई त्यसले लुकाएकी थिई। अनि आजसम्म इस्राएलीहरूका बीचमा नै त्यो रहेकी छे।
यहोशू 6:15-25 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सातौँ दिन तिनीहरू मिरमिरेमै उठे र त्यही प्रकारले सातपल्ट सहरको फेरो लाए, त्यस दिन मात्र तिनीहरू सातपल्ट सहरको फेरो मारेर घुमे। सातौँ फेरो लाएपछि जब पूजाहारीहरू तुरही फुक्न लागेका थिए, यहोशूले आफ्ना मानिसहरूलाई सोर मच्चाउने आज्ञा दिएर भने, “परमप्रभुले सहर तिम्रा हातमा दिनुभएको छ। यो सहर र यसमा भएका सबै थोक परमप्रभुलाई चढाएर पूरा नाश पारिनुपर्छ। राहाब वेश्या र त्यसका घर र कुटुम्ब मात्र बचाइनेछन् किनभने त्यसले हाम्रा जासूसलाई लुकाईदिएकी थिई। तर नाश गरिनुपर्ने केही थोक तिमीहरूले नलिनू, केही लियौ भने तिमीहरूले इस्राएली छाउनीमा कष्ट र विनाश ल्याउनेछौ। चाँदी, सुन, काँसा र फलामले बनेका हरथोक परमप्रभुको निम्ति अलग गरिनुपर्नेछ। ती परमप्रभुको भण्डारमा जानेछन्।” त्यसरी पूजाहारीहरूले तुरही फुके। त्यो सुन्ने बित्तिकै मानिसहरू जोडले चिच्याए र सहरका पर्खालहरू ढले। त्यसपछि सारा सेना सीधै सहरमा पसे र त्यसलाई कब्जा गरे। तरवारले सहरमा भएका पुरुष, स्त्री, जवान, केटाकेटी, बुढा-पाका सबैलाई तिनीहरूले मारे। तिनीहरूले गाई-बस्तु, भेडा, गधाहरू पनि जीवित छोडेनन्। तब जासूस काम गर्ने ती दुई भाइलाई यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ र आफ्ना प्रतिज्ञाअनुसार त्यसलाई घरको परिवारसमेत लिएर आओ।” तिनीहरू गएर राहाब, त्यसका आमा-बुबा, दाजु-भाइ र अरू बाँकी परिवार सबैलाई लिई आए। त्यसका परिवारका सबै कुटुम्ब इस्राएली छाउनीको नजिकमा सुरक्षासाथ राखिए। त्यसपछि तिनीहरूले सहरमा डढेलो लगाइदिए र भस्म गरिदिए। सुन, चाँदी, काँसा र फलामले बनेका चीजहरू तिनीहरूले परमप्रभुको भण्डारमा ल्याए र तीबाहेक अरू सबै थोक भस्म गरिदिए। तर यहोशूले राहाब वेश्या र त्यसका सारा कुटुम्बका प्राण जोगाइदिए किनभने उनले यरीहोमा पठाएका दुई जासूसहरूलाई त्यसले लुकाइदिएकी थिइन्। (आजसम्म तिनका सन्तानले इस्राएलमा बास गरेका छन्।)
यहोशू 6:15-25 NERV (पवित्र बाइबल)
सातौं दिनमा तिनीहरू झिसमिसेमा नै उठे। अनि तिनीहरू शहर वरिपरि सात पल्ट घुमे। तिनीहरू त्यही तरिकाले हिंडे जसरी अघिल्ला दिनहरूमा हिंडेका थिए, तर त्यसदिन तिनीहरू सात पल्ट शहर वरिपरि घुमे। जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ। यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुइ गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्। यो पनि याद राख कि हामीले अन्य सबै कुराहरू नष्ट गर्नु पर्छ। ती कुराहरू नलिनु। यदि तिनीहरूले ती कुराहरू लियौ अनि हाम्रा छाउनीमा ल्यायौ भने तब तिमीहरू स्वयंम नष्ट हुनेछौ। अनि तिमीहरूले इस्राएलका सबै मानिसहरू प्रति पनि कष्ट ल्याउने छौ। सुन, चाँदी, काँस र फलामले बनाएका वस्तुहरू परमप्रभुका हुन्। ती वस्तुहरू परमप्रभुको भण्डारमा ल्याउनु पर्छ।” पूजाहारीहरूले तुरही बजाए। मानिसहरूले तुरही बजेका सुने अनि कराउन थाले। ती पर्खालहरू भत्किए अनि मानिसहरू सीधै शहर भित्र कुदे। यसरी इस्राएलका मानिसहरूले त्यस शहरलाई परास्त गरे। मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बृद्ध, मानिसहरू, जवान स्त्री र बृद्ध स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे। यहोशूले ती दुइ गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।” यसकारण ती दुइ मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे। त्यसपछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे। यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्।
यहोशू 6:15-25 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ दिनमा तिनीहरू एकाबिहानै उठे। अनि अगाडिका दिनहरूमा जस्तै सहरलाई फन्को मारे। तर तिनीहरूले त्यस दिनचाहिँ सात चोटि सहरलाई फन्को मारे। सातौँ पटकमा जब पुजारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई यसरी आज्ञा दिए, “कराओ, किनभने याहवेहले यो सहर तिमीहरूलाई दिनुभएको छ। यो सहर र यसमा भएका सबै कुराहरू याहवेहलाई अर्पण गर्नुपर्छ। केवल राहाब वेश्या र उनका घरमा भएका सबै जना मात्र जीवित छोडिनेछन्। किनकि हामीले पठाएका जासुसहरूलाई तिनले लुकाएकी थिइन्। तर तिमीहरू अर्पण गरिएका थोकहरूबाट अलग रहनू, ताकि तिमीहरूले ती अर्पित थोकहरूबाट केही लिएर आफूमाथि विपत्ति नल्याओ। नत्रता तिमीहरूले इस्राएलका छाउनीहरूलाई नाश हुने बनाएर त्यसमाथि विपत्ति ल्याउनेछौ। सबै सुन, चाँदी अनि काँसो र फलामका चीजहरू याहवेहका निम्ति पवित्र छन्, र ती वस्तुहरू उहाँको भण्डारमा ल्याउनुपर्छ।” तुरहीको आवाज बजेपछि योद्धाहरू कराए। अनि जब मानिसहरू तुरहीको आवाज सुनेर चर्को सोरमा कराए, तब पर्खाल भत्कियो। यसरी सारा मानिस सीधै भित्र पसे, र तिनीहरूले त्यस सहरलाई कब्जा गरे। तिनीहरूले सहरलाई याहवेहकहाँ अर्पण गरे। अनि त्यहाँ भएका हरेक जीवितहरूलाई अर्थात् पुरुष र स्त्रीहरू, जवान र वृद्धहरू, गाईबस्तु, भेडाबाख्रा र गधाहरू सबैलाई तरवारले नाश गरिदिए। त्यस देशको भेद लिन जाने दुई जना मानिसहरूलाई चाहिँ यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले तिनीसँग शपथ खाएअनुसार त्यस स्त्री र तिनीसँग भएका सबै मानिसहरूलाई बाहिर निकाल।” यसकारण भेद लिन जाने ती दुई जवान मानिसहरू भित्र गए; अनि राहाब, तिनका आमाबुबा र दाजुभाइहरू अनि तिनका सबै मानिसहरूलाई बाहिर निकालेर ल्याए। तिनीहरूले तिनको सम्पूर्ण परिवारलाई बाहिर निकाले; र इस्राएलको छाउनीबाहिर एक ठाउँमा राखे। त्यसपछि तिनीहरूले सम्पूर्ण सहर र त्यस सहरमा भएका हरेक कुरालाई जलाइदिए। तर तिनीहरूले सुन, चाँदी, काँसो र फलामका चीजहरू याहवेहको भवनको भण्डारमा राखे। तर यहोशूले वेश्या राहाब र तिनका परिवार अनि तिनीसँग भएका सबैलाई छोडिदिए। किनकि तिनले यरीहोमा जासुसी गर्न पठाएका मानिसहरूलाई लुकाएकी थिइन्। अनि तिनका सन्तानहरू आजको दिनसम्म पनि इस्राएलीहरूको बीचमा बास गरेका छन्।