यहोशू 6:15-25
यहोशू 6:15-25 NCV
सातौँ दिनमा तिनीहरू एकाबिहानै उठे। अनि अगाडिका दिनहरूमा जस्तै सहरलाई फन्को मारे। तर तिनीहरूले त्यस दिनचाहिँ सात चोटि सहरलाई फन्को मारे। सातौँ पटकमा जब पुजारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई यसरी आज्ञा दिए, “कराओ, किनभने याहवेहले यो सहर तिमीहरूलाई दिनुभएको छ। यो सहर र यसमा भएका सबै कुराहरू याहवेहलाई अर्पण गर्नुपर्छ। केवल राहाब वेश्या र उनका घरमा भएका सबै जना मात्र जीवित छोडिनेछन्। किनकि हामीले पठाएका जासुसहरूलाई तिनले लुकाएकी थिइन्। तर तिमीहरू अर्पण गरिएका थोकहरूबाट अलग रहनू, ताकि तिमीहरूले ती अर्पित थोकहरूबाट केही लिएर आफूमाथि विपत्ति नल्याओ। नत्रता तिमीहरूले इस्राएलका छाउनीहरूलाई नाश हुने बनाएर त्यसमाथि विपत्ति ल्याउनेछौ। सबै सुन, चाँदी अनि काँसो र फलामका चीजहरू याहवेहका निम्ति पवित्र छन्, र ती वस्तुहरू उहाँको भण्डारमा ल्याउनुपर्छ।” तुरहीको आवाज बजेपछि योद्धाहरू कराए। अनि जब मानिसहरू तुरहीको आवाज सुनेर चर्को सोरमा कराए, तब पर्खाल भत्कियो। यसरी सारा मानिस सीधै भित्र पसे, र तिनीहरूले त्यस सहरलाई कब्जा गरे। तिनीहरूले सहरलाई याहवेहकहाँ अर्पण गरे। अनि त्यहाँ भएका हरेक जीवितहरूलाई अर्थात् पुरुष र स्त्रीहरू, जवान र वृद्धहरू, गाईबस्तु, भेडाबाख्रा र गधाहरू सबैलाई तरवारले नाश गरिदिए। त्यस देशको भेद लिन जाने दुई जना मानिसहरूलाई चाहिँ यहोशूले भने, “त्यस वेश्याको घरमा जाओ, र तिमीहरूले तिनीसँग शपथ खाएअनुसार त्यस स्त्री र तिनीसँग भएका सबै मानिसहरूलाई बाहिर निकाल।” यसकारण भेद लिन जाने ती दुई जवान मानिसहरू भित्र गए; अनि राहाब, तिनका आमाबुबा र दाजुभाइहरू अनि तिनका सबै मानिसहरूलाई बाहिर निकालेर ल्याए। तिनीहरूले तिनको सम्पूर्ण परिवारलाई बाहिर निकाले; र इस्राएलको छाउनीबाहिर एक ठाउँमा राखे। त्यसपछि तिनीहरूले सम्पूर्ण सहर र त्यस सहरमा भएका हरेक कुरालाई जलाइदिए। तर तिनीहरूले सुन, चाँदी, काँसो र फलामका चीजहरू याहवेहको भवनको भण्डारमा राखे। तर यहोशूले वेश्या राहाब र तिनका परिवार अनि तिनीसँग भएका सबैलाई छोडिदिए। किनकि तिनले यरीहोमा जासुसी गर्न पठाएका मानिसहरूलाई लुकाएकी थिइन्। अनि तिनका सन्तानहरू आजको दिनसम्म पनि इस्राएलीहरूको बीचमा बास गरेका छन्।

