यहोशूको पुस्तक 6:15-25
यहोशूको पुस्तक 6:15-25 NERV
सातौं दिनमा तिनीहरू झिसमिसेमा नै उठे। अनि तिनीहरू शहर वरिपरि सात पल्ट घुमे। तिनीहरू त्यही तरिकाले हिंडे जसरी अघिल्ला दिनहरूमा हिंडेका थिए, तर त्यसदिन तिनीहरू सात पल्ट शहर वरिपरि घुमे। जब सातौ पल्ट तिनीहरू शहर वरिपरि घुमे, पूजाहारीहरूले आफ्ना तुरहीहरू बजाए। त्यसबेला, यहोशूले आदेश दिए, “अब कराऊ। परमप्रभुले यो शहर तिमीहरूलाई प्रदान गर्नु हुँदैछ। यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुइ गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्। यो पनि याद राख कि हामीले अन्य सबै कुराहरू नष्ट गर्नु पर्छ। ती कुराहरू नलिनु। यदि तिनीहरूले ती कुराहरू लियौ अनि हाम्रा छाउनीमा ल्यायौ भने तब तिमीहरू स्वयंम नष्ट हुनेछौ। अनि तिमीहरूले इस्राएलका सबै मानिसहरू प्रति पनि कष्ट ल्याउने छौ। सुन, चाँदी, काँस र फलामले बनाएका वस्तुहरू परमप्रभुका हुन्। ती वस्तुहरू परमप्रभुको भण्डारमा ल्याउनु पर्छ।” पूजाहारीहरूले तुरही बजाए। मानिसहरूले तुरही बजेका सुने अनि कराउन थाले। ती पर्खालहरू भत्किए अनि मानिसहरू सीधै शहर भित्र कुदे। यसरी इस्राएलका मानिसहरूले त्यस शहरलाई परास्त गरे। मानिसहरूले शहरमा भएका हरेक वस्तु नष्ट गरे। जो त्यहाँ जीवित थिए। तिनीहरूले जवान, बृद्ध, मानिसहरू, जवान स्त्री र बृद्ध स्त्रीहरू गाईवस्तु, भेंडा अनि गधाहरू सबैलाई मारे। यहोशूले ती दुइ गुप्तचरसित कुरा गरे। यहोशूले भने, “वेश्याको घरमा जाऊ। तिनलाई र तिनीसित भएका सबैलाई बाहिर ल्याऊ। यसो गरिहाल किनकि तिमीहरूले तिनलाई प्रतिज्ञा गरेकाछौ।” यसकारण ती दुइ मानिसहरू घर भित्र गए अनि राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका पिता-माता, दाज्यू-भाइ, अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई पनि बाहिर ल्याए। तिनीहरूले सबै मानिसहरूलाई इस्राएलका छाउनी बाहिर एक सुरक्षित स्थानमा राखे। त्यसपछि इस्राएलका मानिसहरूले पूरा शहर आगोले जलाइ दिए। तिनीहरूले शहरका सुन, चाँदी, काँसा अनि फलाम द्वारा बनाएको वस्तुहरू बाहेक अन्य सबै वस्तुलाई जलाइ दिए। तिनीहरूले ती वस्तुहरू परमप्रभुको भण्डारमा राखे। यहोशूले राहाब वेश्या, तिनका परिवार अनि तिनीसित भएका अन्य सबै मानिसहरूलाई बचाए। यहोशूले तिनीहरूलाई जीवित रहन दिए किनभने राहाबले ती जासूसी गर्न पठाएका दूतहरूलाई सहयोग गरेकि थिइन्, जसलाई यहोशूले यरीहोमा पठाएका थिए। राहाब इस्राएलका मानिसहरू बीच आजसम्म बस्छिन्।

