प्रेरित 13:26-41
प्रेरित 13:26-41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“ए, अब्राहामका वंशको सन्तान, र तिमीहरूमध्ये परमेश्वरको डर मान्ने ए भाइ हो, हामीकहाँ नै यो मुक्तिको सन्देश पठाइएको छ। किनभने यरूशलेमका बासिन्दा र तिनीहरूका शासकहरूले उहाँलाई नचिनेर र हरेक शबाथमा पढ़िने अगमवक्ताका वचनहरू नबुझेर उहाँलाई दण्डको आज्ञा दिई ती वचन पूरा गरे। ज्यानसजायको केही कारण नपाए तापनि तिनीहरूले उहाँलाई मार्नुपर्छ भनी पिलातससँग बिन्ती गरे, र उहाँको विषयमा लेखिएका सबै कुरा तिनीहरूले पूरा गरेपछि तिनीहरूले उहाँलाई काठबाट झारेर चिहानमा राखे। तर परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। आफूसँग गालीलबाट यरूशलेममा आउनेहरूकहाँ उहाँ धेरै दिनसम्म देखा परिरहनुभयो, र उनीहरू अहिले जनतामा उहाँका साक्षी छँदैछन्। “परमेश्वरले पिता-पुर्खालाई गर्नुभएको त्यो प्रतिज्ञाको सुसमाचार हामी तपाईंहरूकहाँ ल्याउँछौं। अर्थात्, कसरी परमेश्वरले येशूलाई जीवित पारी उठाएर त्यो कुरो हामी, तिनीहरूका सन्तानका निम्ति पूरा गरिदिनुभयो, जस्तो दोस्रो भजनमा पनि लेखिएको छ, ‘तिमी मेरा पुत्र हौ, आजको दिन मैले तिमीलाई जन्माएको छु।’ उहाँले ख्रीष्टलाई कहिले नसड्ने गरी मृतकबाट जीवित पार्नुभएको विषयमा चाहिँ यसो भन्नुभएको छ, ‘म तिमीहरूलाई दाऊदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु।’ किनकि अर्को ठाउँमा पनि यसो भनिएको छ, ‘तपाईंले आफ्ना पवित्र जनको शरीर सड्न दिनुहुनेछैन।’ “किनकि उनको आफ्नै पुस्तामा परमेश्वरको उद्देश्यअनुसार सेवा गरेर मरेपछि उनका पिता-पुर्खाहरूसँग दाऊद गाडिए, र उनको शरीर सड़ेर गयो। तर जसलाई परमेश्वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीरचाहिँ सड़ेन। “यसकारण भाइ हो, तपाईंहरूलाई थाहा होस्, कि यी नै मानिसद्वारा पाप-क्षमा हुन्छ भन्ने घोषणा तपाईंहरूलाई गरिएको छ। तपाईं विश्वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्यवस्थाद्वारा तपाईंहरूका निम्ति सम्भव थिएन। यसकारण होशियार रहनुहोस्, नत्रता अगमवक्ताहरूका पुस्तकमा भनिएका यी कुरा तपाईंहरूमाथि आइपर्नेछन्: ‘हे निन्दा गर्ने हो, हेर र आश्चर्य मान, अनि नष्ट भइजाओ, किनकि तिमीहरूको समयमा म एउटा काम गर्छु, यस्तो काम जसको विषयमा कसैले बयान गरिदिए पनि तिमीहरूले कहिल्यै विश्वास गर्नेछैनौ’।”
प्रेरित 13:26-41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हे दाजुभाइ-दिदीबहिनीहरू हो, अब्राहामका सन्तान र परमेश्वरको भय मान्ने गैरयहूदीहरू, यो उद्धारको सन्देश हामीहरूमा नै पठाइएको छ। यरूशलेमका मानिसहरू र तिनका शासकहरूले येशूलाई चिनेनन्, तैपनि उहाँलाई दण्ड दिएर तिनीहरूले अगमवक्ताहरूका वचनहरूलाई पूरा गरे, जो हरेक शब्बाथमा पढिन्थ्यो। यद्यपि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले कुनै ठोस कारण फेला पारेनन्। तर पनि उहाँलाई ज्यान सजाय दिनुपर्छ भनी पिलातससँग तिनीहरूले माग गरे। जब तिनीहरूले उहाँका बारेमा लेखिएका सबै कुराहरू पूरा गरे, तिनीहरूले उहाँलाई क्रूसबाट तल झारेर चिहानमा राखे। तर परमेश्वरले उहाँलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभयो। त्यसपछिका धेरै दिनसम्म गालीलदेखि यरूशलेमसम्म उहाँसँगै यात्रा गर्नेहरूका सामु उहाँ प्रकट हुनुभएको थियो। अहिले तिनीहरू नै हाम्रा मानिसहरूका माझमा उहाँका साक्षी भएका छन्। “हाम्रा पुर्खाहरूसँग परमेश्वरले जे प्रतिज्ञा गर्नुभयो, हामी तपाईंहरूलाई त्यो सुसमाचार सुनाउँछौँ, तिनीहरूका सन्तान अर्थात् हामीहरूका निम्ति येशूलाई जीवित पारीकन परमेश्वरले त्यो प्रतिज्ञा पूरा गर्नुभयो। भजनसंग्रह दुईमा लेखिएको छ: “ ‘तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।’ कहिले पनि नकुहिने गरी उहाँलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नुभएको तथ्य, यी वचनहरूमा भनिएको छ: “ ‘दावीदलाई प्रतिज्ञा गरेबमोजिम म तिमीहरूलाई पवित्र र अटल आशीर्वाद दिनेछु।’ किनभने अर्को ठाउँमा पनि यस्तै लेखिएको छ: “ ‘तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।’ “किनकि उनको आफ्नै पुस्तामा दावीदले परमेश्वरको उद्देश्यअनुसार काम गरेपछि उनको मृत्यु भयो; उनी आफ्ना पुर्खाहरूसँग गाडिए र उनको शरीर सड्यो। तर जसलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नुभयो, उहाँको शरीरचाहिँ कुहिएन। “त्यसैकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू, तपाईंहरू यो कुरा बुझ्नुहोस् भन्ने म चाहन्छु, येशूद्वारा पापहरूको क्षमा तपाईंहरूलाई घोषणा गरिएको छ। उहाँमा विश्वास गर्ने हरेक उहाँद्वारा नै सबै कुरामा धर्मी ठहराइएको छ, जुन धार्मिकता मोशाको व्यवस्थाद्वारा सम्भव थिएन। यसकारण होसियार हुनुहोस्, अगमवक्ताहरूको मुखबाट निस्केका यी वचन तपाईंहरूमा लागू नहोस्: “ ‘हे निन्दा गर्नेहरू हो, हेर, आश्चर्य मान र नष्ट भइजाओ; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई कसैले भने पनि तिमीहरू त्यसमा कहिल्यै विश्वास गर्नेछैनौ।’ ”
प्रेरित 13:26-41 पवित्र बाइबल (NERV)
“मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ। यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो। तिनीहरूले येशू किन मर्नु पर्थ्यो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे। “यी यहूदीहरूले येशूको विषयमा के हुनेवाला थियो, धर्मशास्त्रमा लेखिएका सबै पुरा गरे। तब तिनीहरूले येशूलाई क्रूसबाट झारे अनि चिहानमा हाले। तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो! यस घट्ना पछि, धेरै दिन, मानिसहरू जो-जो येशूसँग गालिलीदेखि यरूशलेमसम्म साथ गएका थिए उनीहरूले उहाँलाई देखे। अहिले ती मानिसहरू नै उहाँको अरू मानिसहरूका निम्ति गवाही हुन्। “हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ। हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढ़छौं: ‘तिमीहरू मेरा पुत्र हौ। आज म तिमिहरूका पुर्खा भएँ।’ परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयो, ‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’ तर अर्को ठाउँमा भजनसंग्रहले भन्छ, ‘तिम्रो एकजनाको पवित्र शरीरलाई चिहानमा कुहुन दिइने छैन।’ “दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसँग दफन गरियो। अनि उनको शरीर चिहानमा सड्यो। तर एक जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन। दाज्यू-भाइहरू तिमीहरूले यो बुझ्नु पर्छः उहाँको मार्फत तिमीहरूको पापहरूका निम्ति क्षमा प्रदान गरिएको छ। अनि हरेक मानिस जसले उहाँमा विश्वास गर्छ ती सबै कुराहरूबाट मुक्त गरिन्छ जसको निम्ति मोशाको व्यवस्थाले तिमीलाई मुक्त गर्न सकेन। अगमवक्ताहरूले केही घट्ना घट्नेछ भनेर भने, होशियार! सावधन! यस्तो घट्ना आफूमा घट्न नदेऊ। अगमवक्ताले भनेः ‘जसले शंका गर्छौ, सुन्! तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर; किनभने तिमीहरूको अवधिमा, म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ। यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!’”
प्रेरित 13:26-41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“दाजुभाइहरू हो, चाहे हामी अब्राहामका सन्तानहरू हौं, चाहे हामी परमेश्वरको डर राख्ने अन्य-जातिकाहरू नै किन नहोऔँ, यो मुक्तिको सन्देश परमेश्वरले हामी सबैका लागि पठाउनुभएको छ। तर यरूशलेममा बस्ने दाजुभाइ र उनीहरूका नेताहरूले येशूलाई मुक्तिदाता हुनुहुन्छ भनेर चिन्न सकेनन्। अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेको कुरा विश्रामपिच्छे पढे पनि उनीहरूले बुझेनन्। येशूलाई मृत्युदण्ड दिएर उनीहरूले धर्मशास्त्रमा उहाँको बारेमा लेखिएका कुरालाई पूरा गरे। मृत्युदण्ड दिने कुनै दोष नपाउँदा पनि तिनीहरूले येशूलाई मार्नुपर्छ भनी बडा-हाकिम पिलातससँग बिन्ती चढाए। यसरी धर्मशास्त्रमा उहाँको बारेमा लेखिएका सबै कुरा पूरा गरेपछि तिनीहरूले उहाँलाई क्रूसबाट उतारे अनि चिहानमा राखे। तर परमेश्वरले येशूलाई मरेकोबाट बिउँताउनुभयो। गालील क्षेत्रबाट उहाँसँगै यरूशलेममा आएकाहरूले धेरै दिनसम्म उहाँको दर्शन पाए र तिनीहरूचाहिँ अहिले इस्राएलका मानिसहरूको लागि उहाँलाई देख्ने साक्षीहरू हुन्। अब हामी तपाईंहरूलाई यही सुसमाचार सुनाउँछौं– परमेश्वरले हाम्रा पुर्खालाई गर्नुभएको प्रतिज्ञा उहाँले उनीहरूको सन्तानको लागि नै पूरा गर्नुभएको छ। येशूलाई मरेकोबाट बिउँताउनुहुँदा उहाँले त्यो प्रतिज्ञा हाम्रै लागि नै पूरा गर्नभएको हो। अब परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुहुनेछ भन्ने कुराको बारेमा भजनसंग्रहको दोस्रो भजनमा यसरी लेखिएको छ– ‘तिमी मेरा छोरा हौ, आज मैले तिमीलाई जन्माएको छु’। उहाँलाई फेरि कहिल्यै मर्नुनपर्ने गरी बिउँताउनुहुनेछ भन्ने कुराको बारेमा भने परमेश्वरले यसो भन्नुभएको रहेछ– ‘दाऊदलाई प्रतिज्ञा गरेको पवित्र र निश्चित आशिष्चाहिँ म तिमीहरूको बीचमा पठाउनेछु’। फेरि, भजनसंग्रहको अर्को भजनमा दाऊद राजाले यसरी लेखेका छन्– हे परमेश्वर, तपाईंले आफ्नो पवित्र जनलाई कुहिएर नाश हुन दिनुहुन्न। “यो कुराचाहिँ दाऊदले आफ्नो बारेमा भनेका होइनन् किनभने परमेश्वरको इच्छामा काम गरिसकेर उनी त मरे अनि आफ्ना पुर्खासँगै गाडिएर कुहिए। तर परमेश्वरले मरेकोबाट बिउँताउनुभएको चाहिँ त्यसरी कुहिनुभएन। त्यसकारण प्रिय दाजुभाइहरू हो, उनै येशूबाट पाप मेटिनेछ भनी म तपाईंहरूलाई बताउन चाहन्छु। येशूमा विश्वास गर्नेहरू जति सबै पापबाट छुट्कारा पाएर परमेश्वरको अगाडि ठीक ठहरिन्छन्। यो काम त मोशाले दिएको व्यवस्थाले पूरा गर्न सकेन। त्यसकारण होशियार हुनुहोस् र अगमवक्ताहरूले भनेका यी कुराहरू तपाईंहरूमाथि आइनलागून्– ए गिल्ला गर्नेहरू हो, अचम्म मान अनि नाश भइजाओ! किनभने तिमीहरूको समयमा म यस्तो एउटा काम गर्नेछु, त्यस कामको बारेमा कसैले तिमीहरूलाई बताए तापनि तिमीहरूले विश्वास गर्नेछैनौ।”