“दाजुभाइहरू हो, चाहे हामी अब्राहामका सन्तानहरू हौं, चाहे हामी परमेश्वरको डर राख्ने अन्य-जातिकाहरू नै किन नहोऔँ, यो मुक्तिको सन्देश परमेश्वरले हामी सबैका लागि पठाउनुभएको छ। तर यरूशलेममा बस्ने दाजुभाइ र उनीहरूका नेताहरूले येशूलाई मुक्तिदाता हुनुहुन्छ भनेर चिन्न सकेनन्। अगमवक्ताहरूले धर्मशास्त्रमा लेखेको कुरा विश्रामपिच्छे पढे पनि उनीहरूले बुझेनन्। येशूलाई मृत्युदण्ड दिएर उनीहरूले धर्मशास्त्रमा उहाँको बारेमा लेखिएका कुरालाई पूरा गरे। मृत्युदण्ड दिने कुनै दोष नपाउँदा पनि तिनीहरूले येशूलाई मार्नुपर्छ भनी बडा-हाकिम पिलातससँग बिन्ती चढाए। यसरी धर्मशास्त्रमा उहाँको बारेमा लेखिएका सबै कुरा पूरा गरेपछि तिनीहरूले उहाँलाई क्रूसबाट उतारे अनि चिहानमा राखे। तर परमेश्वरले येशूलाई मरेकोबाट बिउँताउनुभयो। गालील क्षेत्रबाट उहाँसँगै यरूशलेममा आएकाहरूले धेरै दिनसम्म उहाँको दर्शन पाए र तिनीहरूचाहिँ अहिले इस्राएलका मानिसहरूको लागि उहाँलाई देख्ने साक्षीहरू हुन्। अब हामी तपाईंहरूलाई यही सुसमाचार सुनाउँछौं– परमेश्वरले हाम्रा पुर्खालाई गर्नुभएको प्रतिज्ञा उहाँले उनीहरूको सन्तानको लागि नै पूरा गर्नुभएको छ। येशूलाई मरेकोबाट बिउँताउनुहुँदा उहाँले त्यो प्रतिज्ञा हाम्रै लागि नै पूरा गर्नभएको हो। अब परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुहुनेछ भन्ने कुराको बारेमा भजनसंग्रहको दोस्रो भजनमा यसरी लेखिएको छ– ‘तिमी मेरा छोरा हौ, आज मैले तिमीलाई जन्माएको छु’। उहाँलाई फेरि कहिल्यै मर्नुनपर्ने गरी बिउँताउनुहुनेछ भन्ने कुराको बारेमा भने परमेश्वरले यसो भन्नुभएको रहेछ– ‘दाऊदलाई प्रतिज्ञा गरेको पवित्र र निश्चित आशिष्चाहिँ म तिमीहरूको बीचमा पठाउनेछु’। फेरि, भजनसंग्रहको अर्को भजनमा दाऊद राजाले यसरी लेखेका छन्– हे परमेश्वर, तपाईंले आफ्नो पवित्र जनलाई कुहिएर नाश हुन दिनुहुन्न। “यो कुराचाहिँ दाऊदले आफ्नो बारेमा भनेका होइनन् किनभने परमेश्वरको इच्छामा काम गरिसकेर उनी त मरे अनि आफ्ना पुर्खासँगै गाडिएर कुहिए। तर परमेश्वरले मरेकोबाट बिउँताउनुभएको चाहिँ त्यसरी कुहिनुभएन। त्यसकारण प्रिय दाजुभाइहरू हो, उनै येशूबाट पाप मेटिनेछ भनी म तपाईंहरूलाई बताउन चाहन्छु। येशूमा विश्वास गर्नेहरू जति सबै पापबाट छुट्कारा पाएर परमेश्वरको अगाडि ठीक ठहरिन्छन्। यो काम त मोशाले दिएको व्यवस्थाले पूरा गर्न सकेन। त्यसकारण होशियार हुनुहोस् र अगमवक्ताहरूले भनेका यी कुराहरू तपाईंहरूमाथि आइनलागून्– ए गिल्ला गर्नेहरू हो, अचम्म मान अनि नाश भइजाओ! किनभने तिमीहरूको समयमा म यस्तो एउटा काम गर्नेछु, त्यस कामको बारेमा कसैले तिमीहरूलाई बताए तापनि तिमीहरूले विश्वास गर्नेछैनौ।”
प्रेरित 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 13:26-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू