प्रेरित 13:26-41

प्रेरित 13:26-41 NCV

“हे दाजुभाइ-दिदीबहिनीहरू हो, अब्राहामका सन्तान र परमेश्‍वरको भय मान्‍ने गैरयहूदीहरू, यो उद्धारको सन्देश हामीहरूमा नै पठाइएको छ। यरूशलेमका मानिसहरू र तिनका शासकहरूले येशूलाई चिनेनन्, तैपनि उहाँलाई दण्ड दिएर तिनीहरूले अगमवक्ताहरूका वचनहरूलाई पूरा गरे, जो हरेक शब्बाथमा पढिन्थ्यो। यद्यपि उहाँलाई मृत्युदण्ड दिन तिनीहरूले कुनै ठोस कारण फेला पारेनन्। तर पनि उहाँलाई ज्यान सजाय दिनुपर्छ भनी पिलातससँग तिनीहरूले माग गरे। जब तिनीहरूले उहाँका बारेमा लेखिएका सबै कुराहरू पूरा गरे, तिनीहरूले उहाँलाई क्रूसबाट तल झारेर चिहानमा राखे। तर परमेश्‍वरले उहाँलाई मरेकाहरूबाट पुनर्जीवित पार्नुभयो। त्यसपछिका धेरै दिनसम्म गालीलदेखि यरूशलेमसम्म उहाँसँगै यात्रा गर्नेहरूका सामु उहाँ प्रकट हुनुभएको थियो। अहिले तिनीहरू नै हाम्रा मानिसहरूका माझमा उहाँका साक्षी भएका छन्। “हाम्रा पुर्खाहरूसँग परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभयो, हामी तपाईंहरूलाई त्यो सुसमाचार सुनाउँछौँ, तिनीहरूका सन्तान अर्थात् हामीहरूका निम्ति येशूलाई जीवित पारीकन परमेश्‍वरले त्यो प्रतिज्ञा पूरा गर्नुभयो। भजनसंग्रह दुईमा लेखिएको छ: “ ‘तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु।’ कहिले पनि नकुहिने गरी उहाँलाई परमेश्‍वरले मरेकाहरूबाट जीवित पार्नुभएको तथ्य, यी वचनहरूमा भनिएको छ: “ ‘दावीदलाई प्रतिज्ञा गरेबमोजिम म तिमीहरूलाई पवित्र र अटल आशीर्वाद दिनेछु।’ किनभने अर्को ठाउँमा पनि यस्तै लेखिएको छ: “ ‘तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन।’ “किनकि उनको आफ्नै पुस्तामा दावीदले परमेश्‍वरको उद्देश्यअनुसार काम गरेपछि उनको मृत्यु भयो; उनी आफ्ना पुर्खाहरूसँग गाडिए र उनको शरीर सड्यो। तर जसलाई परमेश्‍वरले मरेकाहरूबाट जीवित पार्नुभयो, उहाँको शरीरचाहिँ कुहिएन। “त्यसैकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू, तपाईंहरू यो कुरा बुझ्नुहोस् भन्‍ने म चाहन्छु, येशूद्वारा पापहरूको क्षमा तपाईंहरूलाई घोषणा गरिएको छ। उहाँमा विश्‍वास गर्ने हरेक उहाँद्वारा नै सबै कुरामा धर्मी ठहराइएको छ, जुन धार्मिकता मोशाको व्यवस्थाद्वारा सम्भव थिएन। यसकारण होसियार हुनुहोस्, अगमवक्ताहरूको मुखबाट निस्केका यी वचन तपाईंहरूमा लागू नहोस्: “ ‘हे निन्दा गर्नेहरू हो, हेर, आश्‍चर्य मान र नष्‍ट भइजाओ; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई कसैले भने पनि तिमीहरू त्यसमा कहिल्यै विश्‍वास गर्नेछैनौ।’ ”

प्रेरित 13 पढ्नुहोस्

प्रेरित 13:26-41 को लागि भिडियो